बाजुरा : सहज उपचार सेवा नपाएर सुदूरका दुर्गमका गाउँमा सयै विरामीहरु रोग पालेर बस्न बाध्य छन् । केहीले आर्थिक समस्याले रोगसँग लड्नु परेको छ । केहीले पैसा भएरपनि उपचारका लागि चिकित्स नपाएर घरमै थन्कीनु पर्ने बाध्यता छ । सदरमुकाम बाहेक गाउँमा चिकित्सक सहीतको उपचार सेवा प्राय गाउँहरुमा भेटिदैन् । गाउँमा शिविर बाहेक अर्को विकल्प पनि छैन् ।
यी नै समस्यालाई संवोधन गर्न दुर्गमका पालिकाले पछिल्लो समय विपन्न समुदाय लक्षित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छन् । त्यसैको निरन्तरता खप्तड छेडेदह गाउँपालिकाले पनि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । गरिब तथा विपन्न विरामीलाई लक्षित गरेर बिशेषज्ञ सहीतको शिविर सञ्चालन गरेको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दबहादुर रावतले जानकारी दिए ।
शिविरमा ५ सय बढीले उपचार सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाइटी, सुरक्षित परियोजना नेपाल र खप्तड छेडेदह गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
कान, आँखा, हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका तथा अपाङ्गता बिरामीहरुका लागि निःशुल्क चेकजाँच गरिएको छ । २ दिनसम्म चलेको शिविरमा ७५ वर्षे जेष्ठनागरिकले समेत सेवा लिएको जनस्वास्थ्य निरीक्षक रमेशबहादुर ओलीले बताएका छन् ।
उक्त समस्या तथा अपाङ्गता भएका व्यक्तिहरुको लागि सञ्चालित शिविरमा २ सय ४१ पुरुष र २ सय ६८ महिलाहरुको विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको नेपाल रेडक्रस सुरक्षित नेपाल परियोजनाका सामाजिक परिचालक मोहन रावतले बताएका छन् ।
त्यस्तै गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर रावतका अनुसार शिविरमा स्वास्थ्य चेकजाँच पछि उनीहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । उक्त शिविर पालिकाको केन्द्र डोगडी स्वास्थ्य चौकीमा सञ्चालन भएको हो ।
प्रतिक्रिया दिनुहोस