बाजुरा : बाजुराका तुलाबहादुर थापा नेपाल शिक्षक महासंघको केन्द्रीय महासचिव बनेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको नवौं बैठकले महासचिवमा थापालाई सहीत ११ जना शिक्षक महासंघमा प्रतिनिधीका रुपमा पठाउने निर्णय गरेको छ ।
गएको बैशाख १० गते काठमाडौंमा सम्पन्न शिक्षक नेपाल शिक्षक महासंघको दोस्रो राष्टिय महाधिवेशनमा नेपाल राष्ट्रिय शिक्षक संगठनका केही असहमति भएकोले पूर्ण हुन सकेको थिएन । नेपाल शिक्षक संघबाट अध्यक्षमा लक्ष्मीकिशोरी सुवेदीलाई सर्वसम्मत बनाएपनि संघ, संगठनबीच भागवण्ड नमिल्दा कमिटी पूर्ण हुन सकेको थिएन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनको नवौं पूर्ण बैठकले महासंघको उपाध्यक्षमा राम प्रसाद पोखरेल र सचिवमा राम ढकाल सहीत ११ जना प्रतिनिधीका रुपमा पठाएको छ । शिक्षक महासंघ दलिय आस्थाका आधारमा गठन गरिएको शिक्षकहरुका पेशागत संगठनको छाता संस्था हो । संगठनले आफ्ना प्रतिनिधी पठाएसँगै कमिटीले पूर्णता पाएको छ ।
२०४४ सालबाट शिक्षण सेवा प्रवेश गरेका थापा बुढीगंगा नगरपालिका २ मा रहेको पशुपति मावि प्रावि द्धितीय तहमा कार्यरत छन् । सोही वडाका स्थायी बासीन्दा थापा २०४७ सालदेखि स्थायी दरबन्दीमा सेवारत छन् । भने २०६५ सालमा प्रावि द्धितीय श्रेणीमा बढुवा भएका हुन् ।
थापा नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला सदस्य हुँदै, कोषाध्यक्ष, तत्कालिन शिक्षक युनियनको दुई कार्यकाल सचिव र राष्ट्रिय समिति पार्षद ३ पटक भएका थिए । भने संगठनको १२ औं महाधिवेशनबाट केन्द्रीय उपाध्यक्ष र १३ औं महाधिवेशनबाट सुदूरपश्चिम इन्चार्जको भूमिकामा छन् । थापा शिक्षकहरुका स्थापित नेता हुन् ।
प्रतिक्रिया दिनुहोस