आइतबार, २५ जेठ २०८२

प्रचण्डलाई ओलीको चेतावनी– धेरै पर्दाफास गर्न नपरोस् !

दाङमा एमालेको जनसभा प्रचण्डलाई ओलीको चेतावनी– धेरै पर्दाफास गर्न नपरोस् ! 'प्रचण्डले तत्कालीन राजासँग लोकतन्त्र मास्ने र आफू प्रधानमन्त्री बन्ने सम्झौता गरेका थिए'

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले देशको विकासका लागि ल्याइएका अध्यादेश पारित गरेरै छाड्ने बताएका छन् । 

दाङको घोराहीमा नेकपा (एमाले) जिल्ला कमिटीद्वारा आज सोमबार आयोजित जनसभालाई सम्बोधन गर्दै एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको स्पष्ट गर्दै आफूहरू कोही पनि नेपाली पछाडि नपरोस् भन्ने सोच बोकेर अघि बढेको बताए । 

नेपाल अब सुरुङमार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको जनाउँदै उनले दाङको देउखुरीमा पनि सुरुङमार्ग बनाउने योजना रहेको सुनाए । “पहिला मैले सुरुङ, पानीजहाज र रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, अब नारायणी नदीबाट  तपाईंहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गंगासम्म लैजान सक्नुहुन्छ, त्यहाँबाट बंगाल जान सक्नुहुन्छ,’’ उनले भने । 

“अहिले पुष्पलाल मार्ग, मदन भण्डारी मार्गजस्ता आयोजना निर्माणको काम चलिरहेका छन्, प्रधानमन्त्रीले थपे, ‘‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नुपर्छ, तपाईंहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन ।’’

प्रधानमन्त्री ओलीले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने बताउँदै महासचिव शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको बताए । 

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सत्ता बाहिर पुगेपछि अहिले आत्तिएर अनेक आरोप लगाएको टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेविरुद्ध आउने कुनै हल्लाको पछाडि नलग्न आग्रह गरे । लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेको प्रधानमन्त्रीको आरोप थियो ।  

प्रधानमन्त्री ओलीले चेतावनी दिँदै भने, “माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको थियो । त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिन सुहाउँदैन । धेरै बकबास गरेर हिँड्ने हो भने प्रचण्डका धेरै षड्यन्त्रको पर्दाफास गरिदिन नपरोस् ।’’

यसअघि प्रधानमन्त्रीले ओलीले लुम्बिनी प्रदेशसभाको बैठकमा विशेष सम्बोधन गरेका थिए । प्रधानमन्त्री ओली आजै काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस