शनिबार, ०१ चैत २०८१

एमालेमै फर्किए माओवादी नेता रामलाल कार्की

बाजुरा : नेकपा माओवादीका नेता रामलाल कार्की पुनः नेकपा एमालेमै फर्किएका छन् । २०७९ को स्थानीय निर्वाचन पछि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका कार्की पुरानै पार्टीमा फर्किएका हुन् ।

स्थानीय तह निर्वाचन पछि पार्टीसँग असन्तुष्ट देखिएका कार्कीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै हातबाट टिका लगाएर पार्टी प्रवेश गरेका थिए । पार्टी प्रवेशको २ वर्ष नबित्दै फेरि कार्की एमालेमै फर्किएका छन् । 

कार्कीलाई नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले प्रवेश गराएका पार्टी प्रचार विभाग प्रमुख राजन कुमार रोकायाले जानकारी दिएका छन् । 

नेकपा एमाले बुढीनन्दा नगर कमिटीको दोस्रो अधिवेशनको अवसर पारी कार्कीले माओवादी परित्यागको घोषणा गरेका हुन् । माओवादीको केन्द्रीय सल्लाहकार समितिमा रहेका कार्की एमालेमा हुँदा पार्टी जिल्ला कमिटी हुँदै तत्कालिन सेती अञ्चल कमिटी र पार्टी प्रदेश कमिटी सचिवालयमा रहेर काम गरेका थिए ।

नेकपा एमालेकै तर्फबाट नेकपा कालिन समयमा भूमि समस्या तथा समाधान आयोग जिल्ला समितिको अध्यक्ष भएर समेत काम गरेका थिए । उनले माओवादी बाहिर जस्तो भित्र नरहेको र सम्पूर्ण रुपमा सकिने अवस्थामा पुगिसकेकोले जनताको पक्षमा काम गर्न नसक्ने निष्कर्ष सहीत नेकपा एमाले प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस