बाजुरा : नेकपा एमाले बाजुराका नेताहरु यतिबेला जिल्ला केन्द्रीत बनेका छन् । पाार्टीको तीन महिने जरा अभियान र पालिका अधिवेशन केन्द्रीत अभियानका साथ नेताहरु जिल्ला केन्द्रीत भएका हुन् । नेकपा एमाले हिमाली गाउँ कमिटीको अधिवेशनले सबैनेताहरुलाई एकै मञ्चमा बोल्ने अवसर जुराएको छ ।
नेताहरुले बाजुरा विकास र समृद्धिको अगुवाई एमालेले गरिरहेको दाबी गरेका छन् । २०५१ सालदेखि हालसम्म भएका उपलब्धी, गरिएका विकास निर्माण र अन्य समाज रुपान्तरणमा एमालेकै अगुवाई देखिएको दाबी नेताहरुको छ । उनीहरुले पार्टी संसदीय चुनावमा हार बेहोर्ने कुरा प्राविधिक विषय भएकोले विकास र समृद्धिमा अगुवाई गर्नु पर्नेमा जोड दिएका छन् ।
हिमाली गाउँ कमिटीको दोस्रो पालिका अधिवेशनमा नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विगत देखि नै नेपाली काँग्रेस झुटको खेतीमा सक्रिय रहेको आरोप लगाएका छन् । सरकारका मन्त्री एवं काँग्रेस सहमहामन्त्री बद्री पाण्डे मित्र भएपनि उहाँहरुले गर्ने काम र गतिविधी प्रति जनता सन्तुष्ट नदेखिएको थापाको भनाई छ ।
पूर्व मन्त्री समेत रहेका थापाले एमाले भित्रको आन्तरिक एकता र पार्टी निर्माणको सवालमा पनि सबैजिम्मेवार र जवाफदेही हुनु पर्ने धारणा राखेका छन् । उनले पार्टी निर्माणमा सबैको भूमिका र योगदान आवश्यक हुने भएकोले पद पाएकाले मात्रै गर्ने अरुले नगर्ने भन्ने नहुने बताएका छन् ।
एमाले केन्द्रीय सदस्य तथा पार्टी जिल्ला इन्चार्ज लालबहादुर थापाले दुर्गम गाउँ र बस्तीसम्म विकास पुर्याउने योजना एमालेकै पहलमा भएको दाबी गरेका छन् । मार्तडी कोल्टी कवाडी सडक देखि, विच्छ्यामा निर्माण भइरहेको विद्युत र अन्य विकासका योजनामा एमालेकै भूमिका प्रभावकारी र अग्रणी रहेको बताएका छन् । थापाले पार्टी संगठनका तर्फबाट पनि समाज विकासको एजेण्डा सहीत जनतासँगै भएर काम गर्नु पर्ने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय सदस्य सहदेव बोगटीले नेपाली राजनीतिमा प्रचण्ड सबैभन्दा खराब भएको आरोप लगाएका छन् । विकासमा भन्दा पद र अवसरमा ध्यान दिने अस्थीर पात्रकै कारण राजनीतिक अस्थीरता देखिएकोले त्यसका लागि दुईठुला दल मिल्नु परेको धारणा राखेका बोगटीले नेपाली काँग्रेस पनि विकास निर्माणका सवालमा जिम्मेवार नदेखिएको बताएका छन् ।
अनुशासन आयोग सदस्य बसुन्धरा रोकायाले नेकपा एमाले बलियो भए मात्रै देश बलियो हुने र जनताले विकास निर्माणको अनुभूति पाउने धारणा राखेकी छन् । नेकपा एमालेका प्रदेश उपाध्यक्ष कालीबहादुर शाहीले एमालेले अगुवाई गरेका पालिकाको काम हेरेर पनि अरु पार्टीले विकास केहो, सिक्नु पर्ने धारणा राखेका छन् ।
नेकपा एमाले अध्यक्ष लालबहादुर ओली विकासको अनुभूति दुर्गम गाउँ र आम नागरिकलाई हुनु पर्ने धारणा राखेका छन् । उहाँले पार्टी भित्रको एकता, जनताको चाहना अनुसारको विकास र युवाको भविष्य प्रति राजनीतिक पार्टीहरु मध्येपनि एमाले बढी जिम्मेवारहुनु पर्ने धारणा राखेका छन् ।
प्रदेश कमिटी सदस्य रंगबहादुर मल्ल, पार्टी उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काशी विक, उपसविच राजकला सार्की सहीतले मन्तव्य राखेका थिए । नयाँ नेतृत्व चयन गर्ने गरि अधिवेशनको बन्द सत्र चलिरहेको छ । फागुन ५ गते बुढीनन्दा नगर कमिटीको दोस्रो अधिवेशन आयोजनाको तयारीमा एमाले देखिएको छ । बुढीनन्दा सकिएसँगै नौ वटैपालिका अधिवेशन सकाएर जरा अभियानमा केन्द्रीत हुने रणनीतिमा नेकपा एमाले देखिएको छ ।
प्रतिक्रिया दिनुहोस