शनिबार, ०१ चैत २०८१

मंगलसेन आक्रमणको २३ वर्ष : ध्यस्त संरचना अझै अधुरा

समय बित्यो, त्रास र घाउ मेटिएन

धनगढी : २०५८ साल फागुन ४ गते शनिबारको दिन थियो । सरकारी कार्यालय र विद्यालय विदा थिए । दिनभर कर्मचारी, विद्यार्थीले अरु शनिबार झै व्यक्तिगत सरसफाइ र विदाको आनन्द लिइरहेका थिए । तर सेना प्रहरीको सुरक्षा ड्यूटी भने नियमित जस्तै थियो । संकटकालिन अवस्था सेना प्रहरीको सुरक्षा गस्ती भइरहन्थ्यो । त्यो बाहेक अछाम सदरमुकाम मंगलसेन र साँफेबगरमा स्थानीयको दिनचार्यमा कुनै फेरबदल थिए । 

दिन ढल्कीदै गयो । स्थानीय घरभित्र पसे । सुरक्षामा सक्रिय सेना प्रहरी गस्तीपनि ब्यारेकतिर फर्कियो । तर त्यही बेला तत्कालिन विद्रोही नेकपा

माओवादी हातहतियार सहीत मंगलसेन र साँफेबगर पस्न थाले । जब रातको १० बज्यो । एकैपटक सबैको होस उड्ने परिस्थिति बन्यो । मस्त निन्द्रा सुतेका स्थानीय बिउझिए । कोकाहल र रुवाबासीको आवाज अनि बन्दुकको दोहोरो फाइरिङ मात्रै चल्यो । घरबाहिर निस्कीने अवस्था थिएन्, जीवन सकिएको भन्दै स्थानीय घरभित्रै रातभर त्रासपूर्ण अवस्थामा जागराम बसेका थिए । 

जुन दिन बिशेष गरि अछामी र समग्र नेपालीका लागि कालो दिन थियो । माओवादी पक्षले जिल्ला सदरमुकाम मंगलसेन र साँफेबगर एकैसाथ आक्रमण गरी ठूलो जनधनको क्षति गराए । आक्रमणमा प्रमुख जिल्ला अधिकारी मोहनसिंह खत्री, उनकी पत्नी, राष्ट्रिय अनुसन्धानका निरीक्षकसहित मंगलसेनमै १२२ जनाले ज्यान गुमाउन बाध्य भए । 

मारिनेहरूमा ५३ जना नेपाली सेना, ५९ प्रहरी, २ जना निजामती कर्मचारी र ८ जना सर्वसाधारण थिए । भने त्यस्तै, साँफेबगर विमानस्थल सुरक्षा गार्डमा कार्यरत २७ जना प्रहरी जवान पनि त्यसैदिन माओवादी आक्रमणमा मारिए । दुबै ठाउँमा माओवादी सेनाले एकसाथ आक्रमण गरेका थिए । उता विद्रोही माओवादी तर्फको क्षतिको अझै यकिन विवरण उपलब्ध छैन ।

त्यही घटना भएको २३ वर्ष पुरा भएको छ । अछामबासीले त्यो घटना अझै बिर्सिएका छैनन् । पछि जन्मेकाहरुले सुनाएको कुरामात्रै थाह पाए । तर प्रत्यक्ष दर्शीका हकमा अझै पीडा, अझै त्रास बाँकी नै छ । ज्यान भगवानले बचाइदिएकोमा खुसी हुनेहरु पनि मंगलसेन र साँफेबगरमा भेटिने गरेका छन् । तर उनीहरुलाई युद्धको त्रास र त्यो रातको बीभत्स मानव हत्याको चोट अझै पुरिएको छैन् । 

माओवादीले आफ्नो सशस्त्र युद्धको सबैभन्दा ठूलो आक्रमण मानिएको यस घटनाले अछामको समग्र विकासमा गम्भीर असर पुर्याएको थियो । नेपाली कांग्रेसका नेता तथा घटनाका प्रत्यक्षदर्शी नमबहादुर शाहीका अनुसार उक्त आक्रमणपछि अछामका सरकारी संरचना तहसनहस भएका थिए । मंगलसेनस्थित तत्कालीन जिल्ला प्रहरी कार्यालयको गेटमा रहेको विद्युत् पोल आज पनि त्यो भयावह रातको स्मरण गराउँछ । 

‘बन्दुकधारी समूहले बालमन्दिर, नाइके टुडो, खुल्लेतोला, साबिकको कारागार र कुडबस्तीको बीच गाउँबाट गरी ५ ठाउँबाट एकैसाथ ध्वस्त पारिएको अछाम दरबार अझै अधुरै देखिन्छ । अछामको सम्पत्ती र पहिचानको रुपमा थियो, अछाम दरबार । ध्वस्त हुनु पहिला मंगलसेन पुग्नेहरुले अझै दरबारलाई बिर्सिन सकेका छैनन् ।  

जितपछि माओवादीहरू विजयको जुलुस लगाएर बाहिरिए । लगत्तै थप मद्दतका लागि तत्कालिन शाही नेपाली सेनाको हेलिकोप्टर आयो । जलिरहेको बजारलाई फन्को लगाएर सेनाको हेलिकम्पटर बजार भन्दा तल अवतरण गर्यो र हेलिकोप्टरबाट झरेका सैनिकले अन्धाधुन्ध गोली बर्साउँदै बजार प्रवेश गरे । 

राती भरिको युद्ध केही समय स्थगित जस्तो भएपनि फेरि मद्दतका लागि आएका सेनाको व्यवहारले माओवादी हमलाबाट बाँच्न सफल मंगलसेनबासीलाई अर्को विपत्ति थपिएको थियो । काठ चिरान गर्ने र सडक खन्ने ज्यामीले समेत सेनाको गोली लागेर ज्यान गुमाएका थिए । 

‘आक्रमणमा बाँचेका डिएसपी र जिल्ला विकास समिति अछामका तत्कालिन सभापति तथा हालका नेकपा एमाले प्रदेश कमिटीका अध्यक्ष कृष्णप्रसाद जैसी सहीतले सेनालाई सहजीकरण गरेपछि धेरैको ज्यान जोगिएको थियो । 

आक्रमणका कारण ऐतिहासिक अछाम दरबारसहित सम्पूर्ण सरकारी कार्यालय संरचना ध्वस्त भए । नागरिकको बैंकमा रहेको नगद र गरगहना माओवादीले लुटे । कतिपयले आफ्नो पैसा फिर्ता पाएनन् । त्यो पीडा अझै स्थानीयसँग बाँकी नै छ । आक्रमणपछि अछामको आर्थिक, सामाजिक र साँस्कृतिक क्षेत्र कमजोर भयो, जसको असर अहिलेसम्म पनि देखिन्छ ।

शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक सत्तामा पुगे पनि अछाम र अछामीको अवस्थामा मात्रै होइन्, ध्वस्त पारिएका संरचना पुननिर्माणमा समेत खासै सुधार हुन सकेको छैन् । अछाम दरबार पुननिर्माणकै क्रममा छ । त्यही युद्धले अछामलाई दशकौँ पछाडि मात्रै धकेलेन, युद्ध त्रास र पीडाले एक पुस्तालाई मानसिक चोट दिइरहेको छ । 

त्यो रात सम्झँदै मंगलसेनवासी अहिले पनि भक्कानिन्छन् । त्यो बेला ध्वस्त पारिएका सरकारी कार्यालयहरू नयाँ स्थानमा सारिए, तर स्थानीय नागरिकलाई अझै पनि सास्ती छ । पुनर्निर्माणमा अर्बौं रकम खर्च भए पनि आर्थिक विकासको गति सुस्त छ । लगानीको वातावरण नबन्दा जिल्लाको समग्र उन्नति प्रभावित बनेको छ । जुन दिनलाई अछामबासीले कालो दिनका रुपमा लिने गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस