बाजुरा : बाजुरा सदरमुकाम मार्तडी भित्रै मानव सभ्यतालाई नै गिज्याउने छाउगोठ भेटिएपछि चौतर्फी आलोचना भइरहेको छ । बडीमालिका नगरपालिका भित्रका २, ३, ४, ५, ६ र ९ लाई यस अघि नै छाउगोठ मुक्त वडा घोषणा गरिसकिएको छ । बाँकी रहेका १, ७ र ८ लाई बाँकी देखिन्छ ।
पालिका भित्र तीनै वडाहरुमा बढी छाउगोठ र पुरातन मान्यता हाबी देखिन्छ । सदरमुकामकै पालिका भित्रको अवस्थालाई लिएर सबैतिर आलोचनाको विषय बनेपछि पूर्व नगरउपप्रमुख कविता विष्टले पनि पालिकालाई सामाजिक सञ्जाल मार्फत सुझाव दिएकी छन् ।
बडीमालिकामा २०७२ सालदेखि नै छाउगोठमुक्त अभियान सुरु गरिएको हो । २०७४ पछि आएको पदम बडुवाल र कविता विष्ट नेतृत्वको जनप्रतिनिधीको टोलीले त्यसलाई निरन्तरता दिएर ९ मध्ये ६ वटा वडा घोषणा भइसकेका छन् । बाँकी वडा घोषणामा सकस देखिएको छ । निश्चित बस्ती र समुदायकै कारण समस्या उत्पन्न भएको देखिन्छ ।
त्यही विषयललाई लिएर पूर्व उपप्रमुख विष्टले पुराना कामका फोटा, सम्बन्धी कामका समाचार र सुझाव सहीत सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । उनले घोषणा बाँकी बडीमालिका १ को सल्लेना, ७ को रजातोली र ८ को रतुडा केन्द्रीत छाउगोठ मुक्त अभियान सञ्चालन गर्न सुझाव दिएकी छन् ।
तीन वडाका तीन बस्तीलाई केन्द्रभागमा राखेर काम गर गाउगोठमुक्त पालिका घोषणा गर्न सहज हुने सुझाव विष्टको छ । ती वडामा सुरुवाद आफूहरुकै पालनामा गरिएको र बीचमा केही समय अभियान सुस्ताउदा ढिलाई भएको भनाई सहीत विष्टले आफ्नो सुझाव दिएकी हुन् ।
नयाँ आएको अमर खड्का र नन्दा थापा नेतृत्वको जनप्रतिनिधीको टिमले आफूहरुको अभियानलाई निरन्तरता दिएकोमा धन्यवाद दिँदै साथ सहयोग र सहकार्य गर्न तयार रहेको बताएकी छन् । अघिल्लो कार्यकाल नेपाली काँग्रेसबाट उम्मेदवार बनेका जनप्रतिनिधीले जितेका थिए । भने यो पटक नेकपा एमालेबाट जितेका जनप्रतिनिधी छन् ।
सामाजिक जागरणका अभियानलाई निरन्तरता दिइ सचेत र जिम्मेवार समाज निर्माणमा सबैको भूमिका हुनु पर्ने सुझाव विष्टको छ । विष्टले सामाजिक सञ्जाल मार्फत आफूले आफ्नो कार्यकालमा गरिएको काम र गतिविधी पनि सार्वजनिक गरेकी छन् ।
उनले धामी झाँक्री, पुरोहित, शिक्षक, कर्मचारीरूलाई नगर स्तरिय जनचेतनामूलक कार्यक्रम सञ्चालन स्मरण गर्दै आफूहरुले सञ्चालन गरेको अभ्यासलाई समेत निरन्तरता दिन आग्रह गरेकी छन् । उनले आजको समयमा पनि कुप्रथा कायम रहनु दुखत विषय भएकोले सबै पक्ष जिम्मेवार हुनु पर्ने बताएकी छन् ।
बडीमालिकाका १, ७ र ८ मा बढी समस्या देखिएको र अभियानकै रुपमा नगरपालिकाले काम गरिरहेको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापाले बताएकी छन् । पालिकाले आगामी वर्ष भित्र पालिका छाउगोठ मुक्त बनाउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया दिनुहोस