धनगढी : बैतडीका प्रकाश दमाईंकी आमाको शव २४ घण्टापछि मसानघाट पुर्याइएको छ । मलामी नपाएर घरको आँगनमै राखिएको शव मृत्यु भएको २४ घण्टापछि ट्याक्टरमा राखेर पाटन नगरपालिका– ६ सुर्नयागाडमा रहेको तिपडा मसानघाट पु¥याइएको हो ।
बैतडीको सिगास गाउँपालिका–१ का प्रकाश दमाईकी आमा माना दमाइको शनिवार ६१ वर्षको उमेरमा मृत्यु भएको थियो । छिमेकी कसैले पनि मलामी हुन नमानेपछि ट्याक्टरको प्रयोग गरेर सीमित आफन्तहरुले शवको दाहसंस्कार गरेका हुन् ।
प्रकाश गाउँमा रहेको भूमिराज आधारभुत विद्यालयका शिक्षक हुन् । तर उनलाई छिमेकी कसैले पत्याएनन् । तराइबाट आएका आफन्त सहीत दुईजना गैरदलित समुदायका गरी १८ जना शवयात्रामा सहभागी भए ।
करिब तीन सयजनाको बसोबास रहेको सिगास– १ अङडेगाडा गाउँमा प्रकाशको परिवार दमाईं समुदायको एक्लो परिवार हो । उनकी ६१ वर्षीया आमा माना दमाईंको शव बोक्न स्थानीय कसैले पनि नमानेपछि झन्डै अढाइ सय किलोमिटर टाढा कञ्चनपुरको महेन्द्रनगर तथा दोधारा चाँदनी र पाटन– ६ बाट आफन्त आएपछि दाहसंस्कारका लागि मसानघाट लगिएको हो । त्यसअघि छिमेकी कसैलेपनि मलाम जान मानेनन् ।
आइतबार बिहान ११ बजे शवयात्रा सुरु सहभागी स्थानीय नरबहादुर साउँदले बताए । छिमेकी जिल्ला डडेल्धुराबाट आफन्तको घरमा आएका साउदले शनिबार प्रकाशको घरमा पुगेर राति पनि सघाएका थिए । आइतबार बिहान शवयात्रामा सहभागी भएका उनले गैरदलित समुदायबाट दुईजना मात्र मसानघाट पुगेको जानकारी दिए ।
सिगास–१ स्थित घरभन्दा आधा घण्टानजिक डुब्के मसानघाट रहे पनि आमाको मरणोपरान्त इच्छाअनुसार शवलाई करिब ५० किलोमिटर टाढाको पुख्र्यौली मसानघाट पाटन लिएर दाहसंस्कार गरिएको प्रकाशले बताए ।
सिगासनजिकका जिप तथा ट्याक्टर व्यवसायीहरूले समेत लास बोक्न नमानेपछि पाटनबाट ट्याक्टर बोलाएर शब उठाइएको हो । सिगास– १ का वडासदस्य धनीराम भट्ट राति १२ बजेसम्म प्रकाशकै घरमा शव कुरेर बसेको थिए । ती बाहेक कसैले पनि सहानुभूति समेत दिएनन् ।
दलित भएकै कारण प्रकाशकी आमाको शव २४ घण्टासम्म घरमै राख्नु परेको हो । छिमेकीले सामाजिक मर्यादा र मानवताको धर्मसमेत निर्वाह गर्न नसकेपछि चौतर्फी आलोचना भइरहेको छ । केही सामाजिक मान्यताहरूका कारण शनिबार शव उठ्न नसकेको वडाध्यक्ष रामचन्द्र ऐरीले समेत स्वीकार गरेका छन् । ऐरीका अनुसार स्थानीयहरूले नै शवयात्राका लागि भने केही रकम उठाएर प्रकाशको परिवारलाई सहयोग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस