शनिबार, ०१ चैत २०८१

मानवता नभएका छिमेकी : बैतडीकी मानाले पाइनन् मलामी

दलित र गैरदलित दुबैसमुदायले शवछुन मानेनन्, ट्याक्टरमा शवलिने तयारी

धनगढी : भनिन्छ, छिमेकी मर्दाका मलामी, जीउँदाका जन्ती हुन् । समाजमा बस्नेहरुका लागि सबैभन्दा नजिक आफ्ना आफन्त हुने भनेकै छिमेकी हुन् । तर बैतडीको सिगास गाउँपालिका– १ आङडेगाडाका प्रकाश दमाईं (टेलर)लाई छिमेकी केही काम लागेनन् । छिमेकी प्रकाशका लागि न जीउँदाका जन्ती भए, मन मर्दा मलामी । 

प्रकाशकी आमा माना दमाईको शव दुईदिन देखि आँगनमा छ । औपचारिकताका लागि खबर सोध्न, आमाको शव हेर्न र साक्षी बन्न छिमेकी आए । तर उनीहरु मलामी बन्न तयार भएनन् । गाउँमा दमाइ परिवार प्रकाशको मात्रै छ । आङडेगाडामा अरु झन्डै ६५–७० घरधुरी छन् । दलित पनि गैरदलित पनि गाउँमा बस्छन् । प्रकाश एक्लो दमाइ परिवार भएकै कारण छिमेकीले आमाको शव उठाउन साथ दिएनन् । मलामी हुन तयार भएनन् । 

समाज चाहिने भनेकै गाह्रो अफ्ठ्यरो पर्दा हो । समस्या, संकट गाह्रो अफ्ठ्यरो पर्दा नै छिमेकीको साथ आवश्यक पर्छ । तर प्रकाशका लागि समस्या पर्दा कोही आफ्नो भएनन् । छिमेकीहरुले मानवता नै देखाएनन् । जातकै कारण छिमेकीबाट एक्लो भएको र मरेकी आमाले मलामी समेत नपाउने अवस्था आएकोमा प्रकाश दुखी छन् । जती दुखी उनी अहिलेसम्म भएका थिएनन् ।

प्रकाश गाउँमै रहेको भूमिराज आधारभूत विद्यालयका शिक्षक पनि हुन् । उनले पढाउँदा दमाई जातले छेकेन । तर आमा मर्दा उनी एक्ला भए । मलामी भएर गइदिने मान्छे भेटाएनन् । मर्दापनि साथ नदिने छिमेकी के चाहियो, भन्नेमा उनी पुगेका छन् । तर गाउँमा एक्ला छन् । छोडीजाने विकल्प पनि छैन्, प्रकाशसँग । शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको हो ।

मानाको मृत्युको खबर गाउँभर पुग्यो । गाउँले उपस्थित पनि भए, तर उनको शव उठाएर मलामी जान कोही तयार भएनन् । अहिलेसम्म आमाको शव आँगनमै छ । परिवारमा बुबा जयराम, श्रीमती र चार सन्तान छन् । उसोत गाउँमा गैरदलितसँगै दलित समुदायकै विश्वकर्मा, नेपाली, लोहार थरको पनि बसोबास छ । उनीहरुले समेत दमाईको शव छुन र बोक्न मानेनन् । 

प्रकाशको परिवार गाउँमा एक्लो हुनुमा उनका बाजे ३५ वर्ष वर्षअघि बैतडीकै भूमेश्वर गाविस (हाल पाटन नगरपालिका)बाट बसाइँसराइ गरि सिगास आएका थिए । यतिबेला उनको परिवारले मृत्युजस्तो शोकको घडीमा पनि मलामी नपाएर सामाजिक अन्याय भोग्नुपरेको छ । अपमान सहनु परेको छ ।

गाउँका सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि दलितको छोरा प्रकाशको शैक्षिक योगदान सर्वस्वीकार्य छ । सर्वमान्य छ । तर, आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पु¥याउन साथ दिने छिमेकी भेटाएनन् । प्रकाशले गाउँमा कोही शव उठाउन तयार नभएपछि कञ्चनपुरको महेन्द्रनगर र दोधाराचाँदनीबाट काकाका छोराहरू बोलाएका छन् । जो आइतबार दिउँसो मात्रै पुगे । 

महेन्द्रनगरबाट आफन्त श्याम टेलर र दिनेश टेलर तथा दोधाराचाँदनीबाट नवीन टेलर र गोपाल टेलर गाउँ पुगेपछि दाजुभाइ मिलेर दाहसंस्कार गर्न लागेको खबर छ । छिमेकीले नै जातकै कारण शव बोकेर मलामी हुन नसकीएको स्वीकार्ने गरेका छन् । दलित समुदाय नै तयार नभएको बेला, गैरदलित समुदायले मनाही गर्ने नै भयो, स्थानीयको भनाई छ ।

गाउँमा गैरदलितले दलितको शव नछुने र मलामी पनि नजाने अभ्यास रही आएको देखिन्छ । दलितभित्र पनि अन्य जातिले दमाईं जातिको शव नछुने कुचलन कायमै रहेको त्यही घटनाबाट प्रमाणित भएको देखिन्छ । आफूलाई पर्दा पनि दमाईं जातिलाई शव छुन नदिने गरेको प्रकाशको परिवारको दाबी छ ।

वडाध्यक्ष रामचन्द्र ऐरीले जातीय विभेदकै कारण शव नउठेको हो कि होइन भन्नेबारे आफूलाई जानकारी नभएको बताए । तर, दमाई परिवारले गाडीको व्यवस्थापन गरिदिन आग्रह गरेकाले त्यसको व्यवस्थापन गर्न लागिएको ऐरीको भनाई छ । वडामा शववाहन छैन् ।  छिमेकी पाटन नगरपालिकाबाट ल्याउने तयारी वडा अध्यक्षले गरेका छन् ।

मलामी नपाएपछि प्रकाशले गाडीमा हालेर घाटसम्म पु¥याउने प्रयत्न शनिबार दिउँसैदेखि गरेका थिए । दिनभर गाडी पाएनन् । साँझ ८ बजेतिर एउटा ट्रयाक्टर भाडामा पाएको र त्यसैमा लिने तयारीमा प्रकाश छन् । भएका आफन्तहरु पनि पुगिसकेकोले आइतबार नै दाहसंस्कारको तयारी प्रकाशको परिवारले गरिसकेको पत्रकार लोकेश साउँदले बताए । समस्या देखिएकै छ । तर स्थानीय सरकार सबैको मिलोमतोमा शव लिने तयारीको प्रबन्धक भइसकेको साउँदको भनाई छ । 

बसाइँ सरेर प्रकाशको परिवार यहाँ आएपछि उनको घरमा मृत्युको घटना भएको यो पहिलो हो । बुबाआमाले बालिघरे प्रथामा गाउँमा कपडा सिलाउँदै आएकामा प्रकाश भने स्थानीय विद्यालयमा निजी स्रोतबाट जागिर खाइरहेका छन् । उनी तलब मासिक आठ हजार मात्र पाउँछन् । 

सुदूरका पहाडी जिल्लामा अझै जातीय विभेद कायमै छ । अधिकांश गाउँमा दलितको शव गैरदलितले नछुने र गैरदलितको शव पनि दलितलाई छुन नदिने चलन छ । यस्ता घटनामा अरू सहयोग भने आदानप्रदान हुन्छन्, तर शव छुँदैनन् । दलित समुदायभित्रकै अन्य जातका मानिसले पनि दमाईं) समुदायको शव नछुने गरेको पाइन्छ ।  

मानवता नै हराउने गरि भएको घटना यतिबेला चर्चाको विषय बनेको छ । गाउँलेहरू रातभर शव कुर्न शोक परेको घरमा उपस्थित भए । तर शव छुन तयार भएनन् । छिमेकी हो, भन्ने तयार भए, तर प्रकाशको परिवारमा परेको विपतमा साथ दिन र शवलाई बोकेर मलाम लिन तयार भएनन् । यो भन्दा अर्को अमानवीय र मानवता विरोधी अर्को कुनै व्यवाहार हुदै सक्दैन् । 
 

प्रतिक्रिया दिनुहोस