धनगढी : नागरिक उन्मुक्ति पार्टी भित्र यतिबेला आन्तरिक विवाद चर्को देखिएको छ । स्थापनाका चारवर्षसम्म पनि पारिवारीक द्धन्द्ध र श्रीमान श्रीमतिको आपसी विवाद समाधान नभएपछि पार्टी संकटमा देखिन्छ । उन्मुक्ति पार्टीले आफ्नो स्थापना दिवस समेत उत्साह र उत्सवका साथ मनाउन सकेन । यतिसम्मकी स्वयम पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरी एउटै कार्यक्रममा अटाएनन् ।
दुबैजनाले अलग अलग कार्यक्रम आयोजना गरे । रन्जिता र रेशम श्रीमान श्रीमति हुन् । रन्जिताले काठमाडौंमै कार्यक्रम गरिन् । विज्ञप्ती मार्फत स्थापना दिवसको शुभकामना दिइन् । रेशमले पार्टीको केन्द्रीय कार्यालयका रुपमा रहेको टिकापुरमै कार्यक्रम आयोजना गरे । नागरिक उन्मुक्ति पार्टी टिकापुर घटनाकै जगमा स्थापना गरिएको हो ।
नागरिक उन्मुक्ति परिवारवादमै अल्झिएपछि पार्टीमा जोडिएकाहरुको भविष्य अन्योल बनेको देखिन्छ । स्थापना भएको चार वर्ष मात्रै भयो । धेरै भएकै छैन् । यति छोटो समयमै यो अवस्थामा आइपुग्नु र परिवारकै कहलमा फस्नुले आफूहरुको भविष्य नै अन्योल बनेको र राजनीतिक बर्बादीको अवस्था सिर्जना भएको पार्टी भित्रकै पदाधिकारीको दाबी छ । पार्टी लयमा नआए र रेशम रन्जिताबीचको समझदारीको अवस्था नदेखिएकोले सिंगो पार्टी नै संकटमा आइसकेकोले, छोड्नुको विकल्प नरहेको स्वयम पदाधिकारी बताउँछन् ।
पार्टी बिशेष गरि कैलाली, कंचनपुर, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु समुदायलाई लक्षित गरि स्थापना गरिएको हो । दल दर्ताको केही समयमै उन्मुक्तिले आफ्नो बलियो प्रभाव छोडेको थियो । २०७८ फागुन ३ गते निर्वाचन आयोगमा दल दर्ता गरिएको हो । लगत्तै २०७९ बैशाखमा स्थानीय तह निर्वाचन भयो । नागरिक उन्मुक्ति त्यही बेला कैलालीमा पहिलो दल बन्यो ।
कैलालीका १३ स्थानीय तह मध्ये चारमा प्रमुख र तीन उपप्रमुख नाउपाका उम्मेदवारले जितेका थिए । काँग्रेस, एमाले र माओवादीलाई चुनौति दिने दल सुरुकै चुनावमा बनेको नागरिक उन्मुक्ति अहिले दयालाग्ने अवस्थामा छ । त्यही वर्षको प्रतिनिधि सभा तर्फ कैलालीमा मात्रै ५ मा ३ र प्रदेश सभा तर्फ १० मा ५ प्रत्यक्ष निर्वाचनमा जितेको थियो । भने बर्दियामा पनि प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १ र प्रदेश सभामा २ उम्मेदवार जिताएको थियो ।
नाउपासँग हाल कैलाली र बर्दियामा २२ जना र मधेशमा १ जना समानुपातिक सांसद छन् । स्थानीय तहमा ९८ जनप्रतिनिधि सहित बलियो अवस्थामा उभिएको नाउपाले स्थापनाको चार वर्षमा भने आफ्नो साख बचाउन नसकेको र ओरालो यात्रामा हिँडेको विश्लेषण हुन थालेको छ । राजनीतिक दल स्थापनाको उदेश्य परिवार, क्षेत्र, भूगोल, जात र धर्म भन्दामाथि राखेर राष्ट्रहित, स्वाधिनता विकास र समृद्धिका लागि हुनु पर्छ, तर नाउपा निश्चित एजेण्डा र स्वार्थमा स्थापना भएपछि छिटै ओरालो यात्रामा लागेको विश्लेषण राजनीतिक क्षेत्रका जानकारहरुको छ ।
निर्वाचन आयोगबाट नाउपाले दल दर्ताको प्रमाण पत्र बुझेको चौथो बार्षिकीमा रेशम रन्जित एकठाउँमा देखिएनन् । संरक्षक रेशम चौधरीले टिकापुरको पार्टी कार्यालयमा १ बजे स्थापना दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको जनाएका छन् भने अध्यक्ष रन्जिता श्रेष्ठले काठमाडौँमा ४ बजे महराजगञ्जस्थित पार्टी कार्यालयमा स्थापना दिवसको अवसरमा भेटघाट कार्यक्रम राखेकी थिइन् ।
सुरुमा रेशम चौधरी नै अध्यक्ष रहनेगरि पार्टी स्थापनाको तयारी गरिएको थियो । पछि टिकापुर घटनाको दोषि ठहर भएर कारागार चलान भएको हुँदा उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी अध्यक्ष रहनेगरि पार्टी स्थापना भएको थियो । रेशम– रञ्जिता कै समन्वयमा र सहकार्यमा गठन भएको पार्टी ती दुबै जनाको विवाद र विमतिमा सङ्कटमा परेको छ ।
दम्पती विवादले प्रदेश र सघंमा कसैले मन्त्री पाए भने कोही मन्त्री बन्न पाएनन् । स्वयम रन्जिता संघिय मन्त्री बन्न पाउने सौभाग्य पाइन् । सुदूरपश्चिममा दम्पती विवादले नागरिक उन्मुक्ति पार्टीले पाएको मुख्यमन्त्रीको अवसर समेत गुमायो । ‘तीनै तहको निर्वाचनसम्म रेशम कारागारमै थिए भने रन्जिता मोर्चामा खटेकी थिइन् ।
रेशमले कारागारबाटै निर्देशन दिन्थे, रन्जिता सोही अनुसार रणनीति बन्थ्यो,पार्टीको । रेशमको आम माफी भएपछि शक्ति सङ्घर्ष चुलियो । पहिलो महाधिवेशनले त्यसलाई अझै बढवा दियो’ नाउपाका नेताहरुका अनुसार, ‘बूढाबूढीको विवादले पार्टी धराशायी बन्यो ।’ अब संकटमा पुगिसक्यो भन्छन् ।
२०८० जेठ १४ गते गणतन्त्र दिवसको अवसर पाएर रेशमले आम माफी पाएका हुन् । आम माफीका लागि पनि रन्जिताले हरेक पटक संसदमा दबाद बढाइन्, भने सत्ता टिकाउने खेलको बार्गेनिगमा पनि लागिन् । रेशम छुटेपछि संरक्षकको रुपमा रेशमलाई र अध्यक्षको रुपमा रन्जितालाई स्वीकार्ने सहमति भयो । त्यो पनि लामो रस्साकस्सीपछि । सुरुमा केही कार्यकर्ताहरूले रेशमलाई नै कार्यकारी अध्यक्षको रुपमा देख्न चाहे । त्यहीबाट रेशम रन्जिताको शक्ति सङ्घर्ष सुरु भयो र पार्टीको तल्लो तहसम्म प्रभाव देखियो ।
तत्कालीन एमाले, माओवादी र नेकपा एकीकृतसहितको सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री दिने सहमति थियो । तर, त्यसका लागि सबै सांसद एक ठाउँमा उभिनुपर्ने सर्त पनि थियो । सुदूरपश्चिममा नाउपाका सात सांसद मध्ये ५ जना रेशम पक्षमा उभिएका थिए भने २ जना रन्जिता पक्षमा थिए । रेशम आफ्नो पक्षमा उभिएका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिए ,कांग्रेससहितको सहकार्यमा । रन्जिता आफ्नो पक्षमा रहेका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउने तयारीमा थिइन् ।
दुवैले दाबी पेश गरे ,कांग्रेससहितको समर्थनमा नाउपा कै लक्ष्मण किशोर चौधरी र एमाले–माओवादीको समर्थनमा नाउपाकै कैलाश चौधरी । मुख्यमन्त्रीमा एउटै दलबाट दुई जनाको दाबी परेको र दुवैले आफूसँग सबै सांसद रहेको दाबी गरेपछि दुवैको उम्मेदवारी खारेज भएको थियो ।
त्यो बेला नाउपा एक ठाउँमा उभिएको भए नाउपाकै मुख्यमन्त्री निश्चित थियो । पार्टी भित्रको किचलोले नाउपाले पाउँदै गरेको मुख्यमन्त्री समेत गुमायो । विवाद रेशम रन्जिताबीच भयो, पद र अवसर अरु सांसदहरुले गुमाए । यो बेलासम्म नाउपामा गुटको चरम किचलो सुरु भइरहेको थियो ।
बीचमा एक पक्षले अर्को पक्षलाई कारबाही गरिरहेको थियो । प्रदेशमा मात्रै होइन केन्द्रमा पनि यसको प्रभाव देखियो । रन्जिताले प्रदेशमा संसदीय दलको नेताबाट घनश्याम चौधरीलाई हटाउँदा केन्द्रमा रेशम पक्षमा तीन सांसदले रन्जितालाई दलको नेताबाट हटाएका थिए ।
त्योशिलशिल हरेक घटनामा देखिरहेको छ । अघिल्लो वर्ष सम्पन्न भएको नाउपाको पहिलो महाधिवेशनले पार्टीलाई अझै बलियो र सुदृढ बनाउने अपेक्षा गरिएको थियो । तर, त्यसो भएन । महाधिवेशनमा नाउपाको केन्द्रीय अध्यक्षमै विवाद भयो । संरक्षक रेशम चौधरी नै अध्यक्ष हुने चाहना राखेपछि रन्जिता श्रेष्ठले महाधिवेशन स्थल नै छोडिन् ।
जन्मकैदको फैसला भएर आम माफी पाएका चौधरीलाई अध्यक्षमा आयोगले वैधता दिने सम्भावना क्षीण थियो । त्यस्तो बेला आफै अध्यक्षमा अघि सरेपछि पार्टी भित्र थप विवाद भएको केहीको बुझाइ छ । अन्ततः निर्वाचन चौधरीलाई वैधता दिएन । रन्जिता अध्यक्ष भइन्,र हालपनि उनै छन्, नाउपाकी अध्यक्ष ।
सिंगो केन्द्रीय कमिटी, पार्टी जिल्ला कमिटी सहीतको भविष्य अन्योल जस्तो छ । जितेका जनप्रतिनिधीले ५ वर्ष सरकार र सत्ताको सुविधा लिन पाएपछि त्यसपछि के गर्नेमा अन्योल छ । रेशम र रन्जिता पार्टी भित्रको द्धन्द्धबारे दुबैमा सीमित राख्दै आएका छन् । केन्द्रीय कार्यालय र जनताकै माझ, जस्ले जितायो, त्यही भूगोलमा स्थापना दिवस मनाउने चाहना संरक्षक ज्यूको थियो, अध्यक्षले त्यो कुरामा बेवास्ता गरेपछि एकसाथ मनाउन नसकिएको एक जना नेताले बताए ।
नाउपाका नेताहरु पनि रेशम रन्जिताको बारे खुलेर बोल्न सक्दैनन् । असन्तुष्टी व्यापक छ । आक्रोश देखिन्छ । तर उनीहरु एकले अर्काको बारेमा विरोधमा उत्रिहाल्ने अवस्थामा पुगिसकेका छैनन् । चार वर्षसम्मको विवादले पार्टी नेतृत्व गरिरहेकाहरू नै पूर्ण सन्तुष्ट छैनन् । कारागारभित्रै पार्टीको परिकल्पना गरिएको र त्यहि अनुसार अघि हिँड्दासम्म पार्टी सही स्थानमा रहेको तर, पार्टी भित्र स्वार्थ समूहहरू सक्रिय भएपछि समस्या सुरु भएको संरक्षक तथा पहिलो महाधिवेशनबाट अध्यक्ष भएका रेशम चौधरीको बुझाइ छ ।
‘परिकल्पनाकार र जन्मदाताको लक्ष्य बुझ्न नसक्नु विडम्बनाको विषय हो । पार्टीको नीति र सिद्धान्त बुझ्न नसक्नु विडम्बना हो’ रेशमले बेला बेला गुनासो गर्ने गरेका छन् । आफ्नो निर्देशनलाई स्वीकार गरेर अगाडि बढ्दै गएको भए पार्टीमा अझै ऊर्जा थपिँदै जाने अवस्था हुने बुझाइ रेशमको छ । तर रन्जिता त्यो मान्ने पक्षमा छैनन् । कार्यव्यस्तता पनि थियो । क्षेत्रियता, भेगियता भन्दा माथि उठेर पार्टीलाई स्थापित गर्नु पर्ने मान्यतामा अध्यक्ष हुनुहुन्छ, भनिएको जस्तो विवाद नरहेको दाबी रन्जिता पक्षको छ ।
पार्टीलाई अझै बलियो र सुदृढ बनाउन सके सिके रावतको जनतम पार्टीसँग एकता गर्ने विषयमा पनि छलफल भइरहेको छ । पार्टीको भविष्य प्रति चिन्ता र चासो सबैको छ, र हुनु पर्छ, पार्टी भित्रको किचलाका विषयमा उनी पार्टीभित्र वैचारिक बहस हुने कुरा सामान्य रहेको अध्यक्ष रन्जिता श्रेष्ठले बताउने गरेकी छन् । पार्टीका अरु नेताहरु पनि अध्यक्ष र संरक्षकको टसलले भएपनि पार्टीभित्र समस्या नदेखिएको दाबी गर्छन् । पार्टी भित्रको किचलो र विवाद शनिवार स्थापना दिवसमा प्रष्ट देखिएपछि विषय सतहमा आएको छ ।
प्रतिक्रिया दिनुहोस