बाजुरा : नेकपा एमाले आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ केन्द्रीत ‘जरा अभियान’ मा जुटेको छ । प्रत्येक टोल, वडा, पालिका र जिल्ला केन्द्रीत भएर एमाले देशव्यापी रुपमा जुटिरहेको छ । देशभर वडा, पालिका, जिल्ला र प्रदेश कमिटीलाई अभियान सञ्चालनको जिम्मेवारी दिएको छ ।
केन्द्रीय सदस्यलाई समेत सम्बन्धी जिल्लामा खटेर वडातहैसम्म पुग्नेगरि कार्यविभाजन गरिएको छ । त्यसैअनुसार बाजुरा जिल्ला कमिटीले पनि पहिलो चरणमा पालिका केन्द्रीत छलफल, अन्र्तक्रिया र भेटघाटलाई अघि बढाएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन् । पार्टी जिल्ला इन्चार्ज, जिल्ला अध्यक्ष सहीत पदाधिकारी, केन्द्रीय नेताहरु र प्रदेश कमिटीका सदस्यपनि अभियानमा लागि परेका छन् ।
बाजुराका गौमुल, बडीमालिका, त्रिवेणी, बुढीनन्दा, जगन्नाथ सहीतका पालिका कमिटीसँग पहिलो चरणको छलफल अन्र्तक्रिया र भेटघाटका कार्यक्रम भइसकेका छन् । भने अन्यपालिकामा जारी रहेको छ । पालिका लगत्तै वडा र टोल कमिटी सकेसम्म घरमै पुग्ने लक्ष्य नेकपा एमाले बाजुराले लिएको छ ।
२०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको हो । मिसनग्रास रुट देखि, समृद्धिका लागि संकल्प यात्रा पछि जरा अभियान थालेको एमालेले जनतासँग जोडिन र विकास निर्माणसँग प्रत्यक्ष संलग्न हुन अभियानलाई उपयोग गरिरहेको छ ।
सुरुमा एमालेले दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो । सम्पूर्ण पार्टी पंक्ति परिचालन गरी २०८० वैशाखसम्म सञ्चालित तीन महिने मिसन ग्रासरुट अभियानबाट एमालेले पार्टीको कमजोरी पहिचान गरेको थियो ।
उक्त मिसन ग्रासरुट अभियानको समीक्षाका आधारमा एक वर्षे सुदृढीकरण कार्यक्रम सञ्चालन ग¥यो । २०८० सालभर सञ्चालित एक वर्षे अभियान अन्तर्गत एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रीय संकल्प अभियान चलायो । यही अवधिमा प्रदेश, जिल्ला र जनसंगठनहरूको अधिवेशन गरी नेतृत्व परिवर्तन गरेको थियो ।
अहिले वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ । यो अभियान आगामी १५ वैशाखसम्म सकिने नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीले बताएका छन् । अभियान अन्र्तगत पालिका र वडा अधिवेशन गरेर नयाँ नेतृत्व स्थापित गर्ने, कमिटी बनाउँदा युवालाई कम्तीमा एक तिहाइ समेट्ने, पार्टी सदस्यता विस्तार र नवीकरण गर्ने जस्ता कामहरू अगाडि बढाइएका छन् । पार्टीसँग जनसंगठनहरूलाई समेत सहकार्य गरि कार्यजिम्मेवारी दिइएको छ ।
‘जनसंगठनमार्फत विभिन्न पेसा र व्यावसायमा रहेका गैरएमाले पंक्तिलाई एमालेको नजिक ल्याउने काम यो अभियानमा हुन्छ,’ अध्यक्ष ओलीले भने, ‘सँगसँगै आफ्नो क्षेत्र÷वर्गको नेता संगठनको रुपमा स्थापित हुनेगरी अभियानकै क्रममा काम हुनेछ ।’ जरा अभियान कार्यान्वयनको क्रममा जनसंगठन परिचालनको नारा ‘जनतासँग जनसंगठन’ समेत भन्ने गरिएको ओलीले बताए ।
उनका अनुसार जरा अभियानमा भइरहेको तेस्रो काम जनप्रतिनिधिसँग जोडिन्छ । एमालेले नेतृत्व गरिरहेको संघ, प्रदेश र स्थानीय सरकारले गरेका कामहरूको प्रचार अभियानका क्रममा हुनेछ । ‘सरकारले गरेका राम्रा कामहरू जनतासम्म पु¥याउने र जनताको सुझाव संकलन गरेर समृद्धिको कार्यक्रम तयार गर्छौं,’ ओलीले भने । तीन वटै तहमा रहेर जनताको हितमा एमालेले काम गरिरहेकाले त्यसको प्रचारमा पनि पार्टीपंक्ति परिचालित हुने उनले बताए ।
अभियानका क्रममा हुने महत्वपूर्ण काम जनतासँग एमालेलाई अझ कसिलो हुने गरी जोड्नुरहेको नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापाले बताए । ‘यो अभियानमा एमालेले जनताबाट सिक्ने र जनतालाई सिकाउने नीति कार्यान्वयन गर्नेछ,’ थापा भन्छन् । थापा नेतृत्वको टिम यतिबेला जिल्ला व्यापी जरा अभियानमा जुटिरहेको छ ।
अभियानले सदस्यता नवीकरण र विस्तार, टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने, सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग÷समुदायको नेताका रुपमा स्थापित गर्ने, सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने राखेको छ ।
यस्तै सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने, वार्षिक कार्यक्रमलाई अगाडि बढाउने, एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने, जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने पनि अभियानको छ ।
२०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने, पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने, ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने, र तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने राखिएको छ ।
प्रतिक्रिया दिनुहोस