धनगढी : गौमुल गाउँपालिका ३ गर्जेकी सिर्जना बोहरा गर्भवती थिइन् । उनलाई माघ २० गते सुत्केरी हुने मिति स्वास्थ्य कर्मीले दिएका थिए । ५ दिन घर्किसकेको थियो । बोहरालाई कुनै लक्षण देखिएन् । उनलाई चिन्ता लाग्यो । २५ गते विहानै स्वास्थ्य जाँचका लागि गाउँ नजिकैको माझपाली आधारभुत स्वास्थ्य केन्द्रमा पुगिन् ।
करिब ढेड घण्टाको पैदल दुरीमा स्वास्थ्य केन्द्र छ । सोही दिन गाउँपालिकाले अल्टासाउण्ड भिडियो सहीतको मेसिनले नियमित गर्भजाँच गर्ने संयोग मिल्यो । पालिकाबाट गएको सिअनमी रमा थापा नेतृत्वको टोलीले उनीसहीत १७ जनाको जाँच पनि गर्यो । उनले मापदण्ड अनुसार नियमित गर्भजाँच गरिरहेकी थिइन् । आइरन चक्की समेत खाँदै आएकी थिइन् ।
२२ वर्षीया बोहरालाई सुत्केरी हुन कुनै प्रकारको समस्या आउनेमा शंका थिएन् । यो दोस्रो बच्चा थियो । पहिलो पाउँदा पनि कुनै समस्या नदेखिएको आत्मबल पनि उनमा थियो । तर बाटोमै बच्चा जन्मिने अवस्था आउला भन्ने लागेकै थिएन् । स्वास्थ्य संस्था पुग्न हिँडेरै ढेड घण्टा लाग्छ । सामान्य लक्षण देखिने बित्तिकै गइहालिन्छ, भन्ने परिवारको तयारी थियो ।
श्रीमान कामको शिलशिलामा भारत थिए । त्यो दिन पनि उनी गाउँका अरु गर्भवतीसँगै जाँचका लागि स्वास्थ्य संस्था आएका थिए । जाँच गर्दासम्म केही लक्षण थिएन्, स्वास्थ्य कर्मीले पनि सबै ठिक छ, आराम गर्न, गाह्रै भारी नबोक्न र तयारी अवस्थामा बस्न सुझाव दिएर घर पठाए ।
तर ठिक उल्टो भयो, सिर्जनालाई न सुत्केरी ब्यथा लाग्यो । न लक्षण नै देखिए । स्वास्थ्य जाँच गराए लगत्तै घर फर्किएकी सिर्जनाले २० मिनेटको दुरी नकट्दै बाटोमै बच्चा जन्माइन् । साथमा अरु महिलाहरु पनि थिए । बाटोमै बच्चा जन्मिएपछि महिलाहरु आत्तीए र लगत्तै स्वास्थ्य कर्मीलाई खबर गरे । समयमै स्वास्थ्य कर्मीको टोली बच्चा पाएको स्थानमै पुग्यो । सिर्जनाले बाटोमै ३ किलो १ सय ५० ग्राम छोराको जन्म दिएकी हुन् ।
स्टेचर र आवश्यक उपचार सामाग्री न्यानो झोला, औषधी सहीत पुगेको टोलीले आमा र बच्चा दुबैको ज्यान जोगाए । स्वास्थ्य संस्था भन्दा धेरै टाढा, रातीको समय भएको भए जे पनि हुन सक्थ्यो । समयमै खबर भयो, स्वास्थ्य कर्मीले नै उद्दार गर्ने अवस्था आयो, र ज्यानमा कुनै जोखिम हुन पाए, गौमुल गाउँपालिका स्वास्थ्य शाखाका सिअनमी रमा थापाले बताइन् ।
समय गइसकेको थियो । लामो समयसम्म हिँडडुल गर्दा बाटोमै सुत्केरी भएको हुन सक्ने स्वास्थ्य कर्मीको भनाई छ । बाटोमै सुत्केरी हुनुमा न स्वयमको कमजोरी देखिन्छ, न स्वास्थ्य कर्मीको नै । लक्षण नै नदेखिएर होला भन्ने नै भएन्, उहाँले पनि कुनै समस्या बारे बताइन्, अघिल्लो पहिलो बच्चा पाउँदा लक्षण देखिएको, व्यथा लागेको थियो, एकाएक होला भन्ने थाहै थिएन्, सिर्जनाले भनिन् ।
सुदूरका पहाडी क्षेत्रमा अधिकांश आमाहरुले घाँस काट्दै, भीर चढ्दै, भारी बोक्दै बच्च जन्माउने गरेका छन् । त्यसैको निरन्तरता सिर्जना पनि हुन् । नियमित गर्भजाँचका लागि स्वास्थ्य संस्था पुगेको टोलीका सदस्य सिअनमी रमा थापा, स्टाफनर्स सीता खड्का र माझपाली आधारभूत स्वास्थ्य संस्थामा कार्यरत पुष्पा रोकाया सहीतले उद्दार गरे ।
बच्चा र आमाको अवस्था सामान्य छ । दुबैलाई एक दिन स्वास्थ्य संस्थामा राखेर घर पठाइ सकिएको छ । आफन्तहरु बाटोमै सुत्केरी हुँदा पनि कुनै समस्या हुन नदिएको र स्वास्थ्य कर्मीले नै उद्दार गरेर बचाएकोमा खुसी छन् ।
उनीहरुले स्टेर साथमा लिएर बच्चा पाएको स्थान पुगे । स्वास्थ्य जाँच गरे र आफैले बोकेर उद्दार गरि स्वास्थ्य संस्था पुगाए र आमा र बच्चाको ज्यान बचाए । छरिएर रहेका गाउँ, सबै बस्तीमा सडक पहुँचको अभाव र परिवारको पूर्व तयारी कमीले सिर्जनाको जस्तो समस्या दर्जनौ आमाले भाग्नु परेको छ ।
यहाँका अधिकांश महिलाहरु गर्भवती समयमा पनि ठूलो भारी बोक्ने, एक्लै घरमा बस्ने र जोखिम उठाउने गरेका छन् । परिवारको साथ पनि कमैले मात्रै पाउने गरेका छन् । श्रीमान प्राय भारत हुने र सासुससुराबाट भनेजस्तो सहयोग नपाउने गरेको देखिन्छ । कतिले त नियमित गर्भजाँच समेत गराउने गरेको देखिदैन् ।
गौमुल गाउँपालिकाले भने प्रत्येक महिना पालिकामा रहेका ६ वटै वडामा पुगेर नियमित गर्भजाँच गर्ने गरेको छ । ग्रामिण अल्टासाउण्ड सहीतको भिडियो जाँच सुविधा भएको मेसिन बोकेर स्वास्थ्य कर्मी गाउँ गाउँ जाने गरेका छन् । प्रदेश सरकारले दुर्गमका गाउँका लागि उक्त मेसिन सहयोग गरेको हो ।
गाउँपालिकामा १ वटा आधारभुत अस्पताल, २ वटा स्वास्थ्य चौकी, ३ वटा आधारभुत स्वास्थ्य केन्द्र र ४ वटा शहरी स्वास्थ्य इकाइ छन् । ती १० वटै स्वास्थ्य संस्थामा २४ घण्टे सुत्केरी सेवा उपलब्ध रहेको पालिका उपाध्यक्ष सीता थापाले बताइन् । तीन वर्षयता १ जना बाहेक कोही सुत्केरीलाई पनि रिफर गरिएको छैन् । गएको वषृ १ सय २७ जना र गएको साउन यता ७२ जनाले संस्थागत सुत्केरी सेवा लिएका छन् ।
केही स्वास्थ्य संस्थामा एसबीए तालिमा प्राप्त स्वास्थ्य कर्मी छैनन् । तालिमका लागि तयारी थालिएको छ । सुविधा सबैमा दिने गरिएको स्वास्थ्य शाखा प्रमुख हरिष विकले बताएका छन् । गौमुल गाउँपालिका बाजुराका अन्य पालिका भन्दा दुर्गम, भौगोलिक रुपमा विकट हो, तर स्वास्थ्य सेवामा सुविधायुक्त बनाएको छ ।
गाउँमै बिशषेज्ञ स्वास्थ्य शिविर देखि पालिका केन्द्रमै चिकित्सक सहीतका स्वास्थ्य उपचार सेवा दिने गरेको छ । पालिकाकै घटमुना आधारभुत अस्पताल र मानाकोट स्वास्थ्य चौकी बाजुरा जिल्लाकै नमुना र पुरस्कृत स्वास्थ्य संस्था हुन् ।
प्रतिक्रिया दिनुहोस