शुक्रबार, ३० फागुन २०८१

चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री

धनगढी : परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला कैलाली केन्द्रीत कार्यक्रममा व्यस्त छन् । सरकारकै औपचारिक कार्यक्रम भन्दा बढी पार्टी कमिटीका कार्यक्रममा व्यस्त देखिएकी राणाले राजनीतिक भेटघाटलाई पनि महत्व दिइरहेकी छन् ।

कैलालीलाई नै राजनीतिको धरातल बनाउने गरि लागेकी राणाले दौडधुप पनि बाक्लै गरिरहेकी छन् । धनगढी, अत्तरिया सहीतका क्षेत्रमा कार्यक्रम भ्याएर राणा सोमबार मात्रै  कैलालीको लम्की क्षेत्र पुगेकी छन् । लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्न मन्त्री राणा त्यही पुगेकी हुन् ।

सोही क्रममा राणाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड छ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छन् । मन्त्री राणाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेनको बाटो बनाउनका लागि सर्वेक्षण गर्ने काम समेत भइरहेको जानकारी गराइन् ।

‘राजमार्गलाई ६ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ । ६ लेनको सडक निर्माणका लागि छिट्टै काम सुरू हुन्छ ।’ उनले भनिन् । 

उनले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन् । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताईन । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी मन्त्री राणाले कैलाली क्षेत्र नम्बर २ र नेपाली काँग्रेस लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन समेत गरेकी छन् । उनको कैलाली केन्द्रीत दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस