बुधबार, २८ फागुन २०८१

बाजुरामा एचपिभी खोप लगाउने क्रम जारी, माघ २८ गतेसम्म चल्ने

बाजुरा : सरकारले माघ २२ गतेबाट सुरु गरेको पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउने क्रम बाजुरामा पनि जारी रहेको छ । जिल्ला खोप समन्वय समिति बाजुराले खोपको व्यवस्थापन सहित ९ वटै पालिकामा रहेका विद्यालयमा स्वास्थ्यकर्मी सहित परिचालन गरेको छ ।  

जिल्लाका ९ पालिकामा रहेका सामुदायिक र निजी क्षेत्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म पढ्ने किशोरी र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको एचपिभी खोप संचालन भइरहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

जिल्लाका सात हजार ८९४ जना किशोरीलाई उक्त खोप लगाउने गरी स्वास्थ्यकर्मीहरु परिचालन गरिएको छ । स्वास्थ्य कर्मी स्वास्थ्य खोप केन्द्र केन्द्रीत बनेका छन् । कोही नछुटाउने गरि अभियान सञ्चालन गरिएको खोप शाखा प्रमुख खडकराज गिरीले जानकारी दिएका छन् ।

माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने एच.पि.भीे खोप अभियानमा विद्यालय जाने ७ हजार ८ सय ६० र विद्यालय नजाने ३४ किशोरीहरुलाई खोप लगाइने भएको छ । जसमा कक्षा ६ का १ हजार ६ सय ३८, कक्षा ७ देखि १० सम्मका ६ हजार २ सय २२ र विद्यालय नजाने १० बर्ष उमेरका ५ जना तथा ११ देखि १४ बर्षसम्मका २९ जना किशोरीहरुलाई खोप लगाइदै छ ।

स्वास्थ्य कर्मीले नौ वटै स्थानीय तहका १ सय १८ विद्यालय र ९१ अन्य खोप केन्द्रबाट खोप लगाइरहेका छन् । भने खोप अभियानमा २ सय १० स्वास्थ्यकर्मी र ४ सय १८ स्वयमसेवक खटिएका छन् । देशभर एच.पि.भीे खोप अभियान यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म सञ्चालन हुदैँछ । 

त्रिवेणीमा एक हजार २११ जना, बडीमालिकामा ९९७ जना, बुढीगंगामा एक हजार १७९ जना र बुढीनन्दा नगरपालिकामा एक हजार ३१ जना किशोरीले पाठेघरमा हुने क्यान्सर विरुद्धको खोप पाउने भएका छन् । 

यस्तै खप्तड छेडेदहमा एक हजार १३३ जना,गौमुलमा ५४१ जना,स्वामीकार्तिकमा ७५० जना,हिमालीमा ५६१ जना र जगन्नाथ गाउँपालिकामा ४७३ जना किशोरीलाई खोप लगाइने भएको छ । 

सरकारले देशभरी एकै साथ संचालन गर्न लागेको एच.पि.भीे खोप अभियानमा अन्य जिल्लामा ९५ प्रतिशत लक्ष्य लिइएपनि बाजुरामा भने १०० प्रतिशत नै पुर्याउने र यो अभियान अर्को वर्षदेखि भने नियमित खोप कार्यक्रम हुने निमित्त स्वास्थ्य कार्यालय प्रमुख लाल बहादुर खड्काले बताएका छन् । 

विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग समुदायको पहुँचको लागि थप खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने महिनामा यो खोप दिने व्यवस्था गरिने भएको छ । यसैगरी जिल्ला खोप समन्वय समिति बाजुराले निःशुल्क एच पि भी खोप अभियानको अनुगमन गरेको छ । जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया लगायत सरोकारवाला निकायका प्रतिनिधीहरुले खोप अनुगमन गरेका छन् । 
 

प्रतिक्रिया दिनुहोस