बाजुरा : नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी युद्धलाई हिंसा भनेका छन् । पार्टी प्रशिक्षण भेलामा सहभागि हुन अछाम पुगेका रावलले तत्कालीन अवस्थामा माओवादीले सुरू गरेको जनयुद्ध ‘हिंसा’ नै भएको रहेको टिप्पणी गरेका छन् ।
पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुनियाँमै नभएको जनयुद्ध दिवस माओवादीको स्टन्टबाजीमात्र भएको र जनयुद्धलाई एकप्रकारको हिंसा नै भएको बताएका हुन् । बादल स्वयम माओवादी जनयुद्धका अगुवा मध्ये थिए । तत्कालीन समयमा माओवादीको तेस्रो वरीयतामा बादल थिए । बादल युद्धको आर्किटेक्ट भूमिका निर्वाह गर्ने मध्येका हुन् ।
सर्वोच्च अदालतले नेकपालाई एमाले र माओवादीलाई पुरानै अवस्थामा हुने गरि दर्ता बदर गर्दा उनी एमालेतिर लागेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई हिंसाको रूपमा चित्रण गर्दा तपाईँ जनयुद्धप्रति गर्व गर्नुहुन्छ कि हुन्न ? भन्ने पत्रकारको प्रश्नमा उपाध्यक्ष बादलले, ‘जनयुद्ध भनेको युद्ध हो । युद्ध भनेको हिंसा हो । हिंसामा मर्ने र मार्ने हुन्छ । यो कुरालाई माओवादीले पनि मान्छ । हिंसा भनेको संघर्षको सर्वोच्च रूप हो । प्रत्येक हिंसा युद्ध होइन । युद्ध भनेको राजनैतिक आन्दोलनको उच्चतम रूप हो ।’ भन्दै प्रस्ट्याउन खोजेका थिए ।
थापाले जनयुद्ध दिवस मनाउनुको पनि कुनै अर्थ नरहेको टिप्पणी गरे । ‘जनयुद्ध दिवस कहीँ दुनियाँमा मनाइँदैन । माओवादीहरूको एक ढङ्गको इस्टनबाजी हो । गणतन्त्र दिवस मनाउने हो । संविधान दिवस मनाउने हो । त्यो मनाइरहेका छौं ’, उनले भने– ‘जनयुद्ध दिवस मनाउने माओवादीको गलत डिसिजन हो ।’ अछाम पुगेर दिएको अभिव्यक्ति सुन्दा माओवादी युद्ध बारे ओली र बादलको मत मिलेको देखिन्छ ।
माओवादी युद्धबारे भने एमालेका पूर्व उपाध्यक्ष एवं एमालेबाट निष्कासनमा परेपछि मातृभूमि जागरण अभियानका अभियान्ता भीम रावल पनि कडा आलोचक थिए । रावलकै गृह जिल्लामा पुगेर उनले राजनीतिक सहकर्मी रावलप्रति पनि कडा टिप्पोणी गरेका छन् ।
यतिबेला पूर्व गृह तथा रक्षामन्त्रीसमेत रहेका बादललले एमालेबाट गत पुस ११ गते निष्कसित रावलको गृहजिल्ला अछामको मंगलसेनमा छन् । रावलबारे उनले उहाँ अहिले हाम्रो पार्टीमा हुनु हुन्न । दशौँ महाधिवेशनको समाप्तिपछि नै उहाँ एमालेमा हुनुहुन्न । पार्टीले पुस ११ गते उहाँलाई वैधानिक रुपमा नरहेको घोषणा मात्रै गरेको बताए ।
‘दशौँ महाधिवेशनदेखि नै उहाँ एमालेमा हुनुहुन्थेन । महाधिवेशनलगत्तैदेखि उहाँ पार्टीको विधि विधानअन्तर्गत रहनु भएन । त्यही बेलादेखि नै पार्टी छाडिसक्नु भएको थियो ।’ बादलले अहिले रावल गैरकम्युनिस्ट पार्टी बनाउनेतिर लागेको बताए । ‘माक्र्सवादी दर्शन बोकेको एमाले छोडेर भीम रावल गैरकम्युनिस्ट पार्टी बनाउन लाग्नु भयो, उहाँमा वैचारिक विचलन देखियो, बादलले भन्नु भयो ।
‘एमालेको माक्र्सवादी विचारबाट विचलन भएर नयाँ पार्टी खोल्नेतिर लाग्नु भएको छ। उहाँ भएको भए कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन सक्नु हुन्थ्यो । अछाममा पनि कम्युनिस्ट आन्दोलन बलियो हुन्थ्यो ।’ अब महशुस मात्रै गर्ने हो, उहाँ हामीसँग हुनुहुन्न ।
बादलले नेकपा एमाले र नेपाली कांग्रेसको समीकरण ०८४ सम्म जाने बताए । ‘यसलाई भत्काउने कोसिस भइरहेको छ । यो भत्किने सम्भावना छैन ’, थापाको दाबी थियो । पछिल्लो समय पार्टी छोड्ने र जोडिने सन्दर्भ जोड्दै आफू कुनै पार्टी छाडेर नआएको, नेकपाकै निरन्तरता स्वरूप एमालेमा रहेको थापाले दाबी गरे ।
‘अर्को पार्टी छोडेर एमालेमा आएको होइन । विचारमा एकरूपमा भएको हुँदा म एमालेमा आएको हुँ । यो नयाँ एमाले हो, पुरानो एमाले होइन । माओवादी केन्द्र र नेकपा एमाले मिलेर नेकपा भएको हो । त्यो नयाँ पार्टी हो’, बादलको भनाई छ ।
पार्टी लाइनबाट विचलित भएर केही सदस्यहरूसहित प्रचण्ड पार्टीबाट निस्किएको बादलले बताए । माधव नेपाल र वामदेव पनि अवसर नपाएर नेकपाको निरन्तरताबाट बाहिर गएको आरोप बादलको छ ।
‘प्रचण्ड नेकपा छाडेर माओवादी केन्द्रमा लागे र गुट बनाए । माधव कुमार नेपालजी यहाँबाट फुट्नु भयो नेकपा एस बनाउनु भयो । वामदेव फुट्नु भयो । एकता अभियान बनाउनु भयो । उहाँहरूमा विचलित हुनुभयो । म त्यस्तो होइन ’, उनले भने, ‘प्रचण्ड प्रधानमन्त्री हुन पाएनन् , एकल अध्यक्ष हुन पाएनन् । माधव नेपालले प्रधानमन्त्री वा पार्टी अध्यक्ष नपाएर फुटेर गए ।’
आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर निर्णायक राष्ट्रिय शक्ति बन्न कसैले रोक्न नसक्ने थापाको दाबी थियो । ‘मिसन ०८४ मा हुने निर्वाचनमा बहुमत ल्याउनुपर्छ । एमालेले बहुमत ल्याएपछि मात्रै सुखी नेपाली संवृद्ध नेपालको परिकल्पना पुरा हुन्छ’, उनले भने , ‘निर्णायक राष्टिय शक्ति बनाएर सरकार चलाउने लक्ष्य छ । त्यो पूरा हुन्छ । त्यसका लागि जनताको मन जित्नेगरि काम गर्न सबै नेता कार्यकर्ताहरूलाई भनेका छौँ ।’ त्यसै अभियान अन्र्तगत अछाम आइपुगेको बादलको भनाई थियो ।
बादल अछाम पुग्दा रावल भने धनगढीमा छन् । रावलकै नेतृत्वका मातृभूमि जागरण अभियानले अछामका वडादेखि पालिकासम्म कमिटी विस्तार अभियान थालेपनि एमालेले बादललाई अछाम पठाएको श्रोतको दाबी छ । उनी पहिलो दिन आम भेला तथा कार्यकर्ता प्रशिक्षणमा सहभागि हुनेछन् । मंगलसेनमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस