बाजुरा : बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ८ मा गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम सञ्चालन गरिएको छ । शनिवारबाट जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराको आयोजनामा महिनाको दुई पटक सञ्चालन हुने कार्यक्रमको उद्घाटन गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रंगबहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको उद्घाटन त्रिवेणी नगरपालिका ८ का वडा अध्यक्ष गगन जङ्ग बुढाले गरेका हुन् ।
गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा आयुर्वेद उपचारात्मक सेवा, जेष्ठ नागरिक रसायन सेवा, औषधि वितरण तथा नसर्ने रोग व्यवस्थापनका उपाय लगायतका सेवा प्रदान गरिएको जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख रंगबहादुर कार्कीले गाउँघर क्लिनिकसँगै भान्सा सुधार र जेष्ठ नागरिक रसायन तथा स्तनपायी आमाका लागि दुग्घवद्र्धक औषधि वितरण गरिएको बताएका छन् । उनका अनुसार गाउँघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रममा वडा भरीका एक सय ८९ जनाले सेवा लिएका छन् । त्यस्तै कार्यालय प्रमुख कार्कीले शनिवारबाट सुरु गरिएको शिविर प्रत्येक महिनाको दोस्रो र चौथो शनिवार गरी महिनाको दुई पटक सञ्चालन चिकित्सकिय आयुर्वेद उपचारात्मक सेवा प्रदान गरिने हुँदा वडा तथा नगरबासीलाई आग्रह गरेका छन् ।
त्यस्तै सोही वडामा हरेक व्यक्तिको भान्छा सरसफाई तथा सफा सुग्घर र स्थानीय स्तरमा उत्पादित खानेकुरामा जोड दिने उदेश्यका साथ पालिका स्तरीय भान्छा सुधार कार्यक्रम समेत गरिएको छ ।
पछिल्लो समय जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका विभिन्न गाउँमा आयुर्वेद स्वास्थ्यबारे जानकारी सहित निःशुल्क शिविर सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस