बुधबार, २३ माघ २०८१

गृहजिल्लामा रावलको रोदन : ओलीको एमाले बामाले भयो, ५१ वर्ष बोकेको झण्डा त्याग्नु पर्दा खुसी लागेको छैन

धनगढी : नेकपा एमालेबाट साधारण सदस्यसमेत नरहने गरि कारबाहीमा परेका डा. भीम रावल गृह जिल्ला अछाम आइपुगेका छन् । मातृभूमि जागरण अभियान चलाइरहेका रावल पार्टी कारवाही पछि पहिलो पटक अछाम पुगेका हुन् । अछाम पुगेर रावलले देश र जनताको भविष्यका लागि मातृभूमि जागरण अभियान सुरु गरेको दाबी गरे ।

अछामको रामारोशन गाउँपालिकाले आयोजना गर्ने कार्यक्रममा भाग लिने गरि गृह जिल्ला पुगेका रावलले गृहपालिका साँफेबगरमा औपचारिक रुपमा पहिलो संवोधन गरेका हुन् । रावलले अछामी जनताको भाग्य र भविष्यको जिम्मेवारी बोकेर हिँडेको यात्रा रोक्ने ताकत कसैसँग नभएको जिकिर गर्दै मातृभूमि जागरण अभियानबाट साकार पार्ने धारणा राखे । 

एमाले अध्यक्ष केपी ओली माथि खरा रुपमा प्रस्तुत भएका रावलले सत्ता र शक्तिको उन्माद धेरै नटिक्ने बताए । नेपालमा कुन तानाशाह बच्या छ, र आफू पनि बच्छु भन्ने सपना देख्नु भाहोला ? ओलीलाई रावलले प्रश्न गरे । उनले भने सधैं सत्ता र शक्तिको आडमा बस्ने बारे राती सपना देख्नुहोस्, विपनामा त्यो पुरा हुन दिइने छैन् ।  

रावलले एमाले महासचिव पनि बामाले भइसकेको आरोप लगाए । अहिले निरङकुशता झागा र दाङमा जन्मिएको छ । त्यो धेरै दिन टिक्दैन । नेपाली जनताले टिक्न पनि दिदैनन् । ढुक्क हुनुहोस् निरंङकुशता गाड्ने खाल्डो झापा र दाङमा तयार भइसक्यो, रावलले थपे । 

मातृभूमि जागरण अभियान कुनै वाद र विचारसँग निउ खोज्न र विधी व्यवस्था नमान्न सुरु गरिएको होइन्, गलत रुपमा अघि बढ्ने गरि पाइला चाहिरहेका होइनौं, जनताको मुक्ती र भविष्यलाई पानीको फोटा जस्तो फुट्न नदिन अघि बढेका हौं, सबै आ आफ्नो ठाउँबाट तयार हुनुहोस्, अब उठ्नै पर्छ, उनले भने । 

प्रवास देखि नागरिक समाज, प्रभुत्व वर्ग समुदाय र संघ संगठनसँग छलफल र परामर्श जारी छ । अभियान सफल पार्ने गरि टिम नै तयार भइसक्यो, अब बामाले कुन ठाउँको भोटले जित्ने रैछ, त्यो हेछौं, रावलको आक्रोश थियो । 

५१ वर्ष अछामकै डाँडा काँडा उकाली ओरालीमा हिँड्दै माक्र्स र लेलिनवादको झण्डा बोकेको स्मरण गरेका रावलले एकाएक झण्डा त्याग्नु पर्दा खुसी नलागेको बताए । माक्र्सवाद र लेलिनवादको झण्डा लिएर हिँडे, त्यो त्याग्नु पर्ने भो, रावलले पोखे । हामी एक्लै छैनौ धेरै संगठनसँग वार्ता र छलफल नागरिक समाज, सुरक्षा कर्मी सबैलाई अभियानमा जोडिन हतार छ, ढुक्क भएर लाग्नु होस्, अछामबासीसँग रावलको अनुरोध थियो । 
साँफेबगरमा कोणसभा गर्दै रावलले सशक्त मुलधारको वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले आवाज उठायो भने पार्टीबाट हटाइदिन्छु भन्ने गरेको भन्दै रावलले सत्ताको उन्मादलमा उनमा चढेको निरंकुशता, स्वइछाचारिता र तानाशाही प्रवृति अन्त्य गरेरै छोड्ने दाबी गरे । पार्टी सदस्यता लिएको ४९ वर्षपछि रावल पार्टीको निष्काशनमा परेका हुन् ।

रावलको अछाम आगमनलाई नेकपा एमालेले पनि सुष्म रुपमा हेरिरहेको छ । अछाममा को नेता र कार्यकर्ता रावलसँग जोडिन्छन् र साथ दिन्छन्, भन्ने पर्खाइमा रहेको एमालेका लागि ठूलो क्षति नहुने संकेत साँफेबगरको कोणसभाले दिएको छ । साथदिँदै आएका केही एमाले र समाजवादीका नेता कार्यकर्ताहरु सहभागि थिए । 

धनगढी विमानस्थलबाट सोझै अछाम लागेका रावलले अछामबाटै अभियानको घोषणा गर्ने तयारी गरेका छन् । पार्टीलाई भविष्य ठानेर लागेका नेताहरु अभियानमा सहभागि हुने अवस्था नरहेको संकेत साँफेबगरको स्वागत तथा कोण सभाले गरेको छ । रावल केही दिन अछाममै बस्ने बुझीएको छ । 

प्रतिक्रिया दिनुहोस