धनगढी : नेकपा एमालेबाट बहिर्गमनमा परेका डा. भीम रावलले सबै देशभक्तलाई समेटेर वैकल्पिक शक्ति बनाउने दाबी गरेका छन् । मातृभूमि जागरण अभियान चलाइरहेका रावलले गृह प्रदेश सुदूरपश्चिममा पुगेर सबै देशभक्तहरु मिलेर अघि बढ्नु पर्ने बेला आएको धारणा राखेका छन् ।
रावल शुक्रबार बिहान नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापासँग हवाईजहाजको एउटै सिटमा बसेर काठमाडौंबाट धनगढी आइपुगेका छन् । गृहजिल्ला अछामको रामारोशन गाउँपालिकामा आयोजना हुने कार्यक्रममा सहभागि हुन रावल गृहप्रदेश आएको बुझिएको छ ।
रावल र थापा विमानस्थलमा एकसाथ ओर्लिएपनि पुरानो रावलको मावल भने देखिएको थिएन् । एमालेका सिनियर नेताहरु मध्ये प्रदेश पूर्व मन्त्री कृष्ण सुवेदीमात्रै स्वागतका लागि विमान स्थल पुगेका थिए । रावलले पत्रकारहरुको भेटमा देशभक्तहरुबीचको एकता र सहकार्य बलियो पार्नुको विकल्प नरहेको र त्यसका लागि मातृभूमि जागरण अभियान सञ्चालन गरिएको बताए ।
पूर्व उपप्रधान तथा रक्षा र गृह मन्त्री भइसकेका रावलले अभियानमा काठमाडौंका मेयर बालेन साहलाई समेत समेटेर अगाडि बढ्दा राम्रो हुने धारणा समेत सार्वजनिक गरे । पत्रकारहरुले बालेनसँग पनि छलफल गरेको चर्चाबारे सोधेका थिए । सो जिज्ञासामा रावलले भने, ‘बालेनजी हुनुहुन्छ, जोजो हुनुहुन्छ, ती सबलाई एकजुट गरेर राष्ट्रको हितमा अगाडि बढाएदेखि राम्रो हुन्थ्यो भने धारणा छ ।’ म त्यसका लागि प्रयासरत छु ।
रास्वपा सभापति रवि लामिछानेबारे सोधिएको प्रश्नमा भने रावलले अदालतमा भएको कुरामा टिप्पणी नगर्ने बताए । रावल विमानस्थल ओर्लिंदा उनका समर्थकहरुले एमालेको विरोधमा नारा लगाए थिए । तर मावल एमाले नेताको भूमिकामा गृह प्रदेश प्रवेशको जस्तै देखिएन् । सीमित नजिकका नेता कार्यकर्तामात्रै विमान स्थल पुगेका थिए ।
एमाले नेता रावलल विशिष्ट कक्षबाट सुटुक्क बाहिरिएका थिए । रावल भने पत्रकार भेटघाटपछि गृहजिल्ला अछामको रामारोशनतर्फ प्रस्थान गरेका छन् । धेरै बेर कसैसँग बोल्न मन समेत रावलले गरेनन् ।
राजावादीहरुसँगको भेटघाटबारे गरिएको जिज्ञासामा उनले अहिलेको देशको अवस्था परिवर्तनका लागि धेरै मानिसहरुसँग हातेमालो गरेर अगाडि बढ्नुपर्ने भएकोले त्यही क्रममा विभिन्न व्यक्तिहरुसँग भेटेको र त्यो स्वाभाविक भएको बताए । त्यसैको निरन्तरतामा रावलले पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा पनि सहभागी भएको जानकारी दिए ।
राजावादी निकटहरुले रावललाई विराटनगर गएका बेला स्वागत गरेका थिए । त्यतिबेला इटहरीमा राजावादीहरुसँगको भेटमा उनले दोस्रो जनआन्दोलनको उद्देश्य राजा फालेर गणतन्त्र ल्याउने नभए पनि घुसपैठ भएको जिकिर गरेका थिए । राजावादीलाई भेट्दैमा आफूलाई पनि राजावादी भन्न नमिल्ने रावलले बताए । मलाई राजावादी नै भन्न मिल्दैन्, रावलले थपे ।
प्रधानमन्त्रीसहित राजनीतिक नियुक्तिमा भागबण्डा गरेर खाने गरेको भन्दै उनले त्यसलाई रोक्नुपर्छ भन्ने आफूहरुको धारणा रहेको बताए । ‘प्रधानमन्त्री बन्यो भागबण्डा गरेर खाने, विश्वविद्यालयमा भागबण्डा गरेर खाने । भूमिसम्बन्धी आयोग गठन भयो हेर्नुस् त भागबण्डा,’ रावलले भने, ‘भागबण्डाभित्र पनि गुटबन्दी छ फेरि । अनि के यो राज्य भनेको व्यक्तिगत हो कसैको ? त्यसकारण यस्तो कुरालाई रोक्नुपर्छ ।’
पार्टीको संगठनात्मक स्वरुपबारे सोधिएको प्रश्नमा रावलले भने, ‘देशको अहिलेको अवस्था परिवर्तनका लागि अरु धेरै मानिसहरुले हातेमालो गरेर अगाडि बढ्नुपर्ने हुन्छ । त्यतिबेला त्यसलाई अझ परिमार्जित गरेर जे जस्तो आवश्यक हुन्छ, त्यो रुपमा ल्याउन तयार छौं ।’ अहिले नै पार्टी घोषणाको चरणमा नपुगेको उनले बताए ।
आफूले सुरु गरेको अभियानले कालान्तरमा ठूलो रुप लिने विश्वास व्यक्त गर्दै रावलले भने, ‘हिमालमा हिउँको डल्लो गुडिरहेको बेला सानो देखिन्छ । पछि त्यसले हिम आँधीको रुप लिन्छ ।’हामी जसरी पनि सफल पार्छौ, सफल पार्न देशभक्त सबैको साथ रहनेमा रावलको दाबी छ ।
रावलले ठूला राजनीतिक दल गन्तव्यहीन, आदर्शहीन र सिद्धान्तहीन भएको आरोप लगाउँदै राष्ट्र र राष्ट्रियता जोगाउन सबै एक हुनुपर्ने धारणा राखे । ‘देश र जनताका लागि जोजो छन्, इमान्दार देशभक्तहरु हामी एक ठाउँमा आउँछौं भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।
उनी अहिले ‘मातृभूमि जागरण अभियान नेपाल’को नामबाट देशदौडाहामा छन् । यो अभियानले राष्ट्रिय रुप लिएपछि पार्टीको स्वरुप दिने उनले बताए । एमालेबाट निस्कासनमा परेपछि १७ पुसमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माणमा लाग्ने घोषणा गरेका थिए ।
गृह प्रदेशमै रावलको मावन नदेखिएको चर्चापनि सुरु भएको छ । रावल कारवाहीमा परेपछि पहिलो पटक आफ्नो गृह प्रदेश र गृह जिल्ला अछाम जान लागेका हुन् । लावालस्कर गाडी, सयैको संख्यामा हातमा खादा र माला सहीतका नेता कार्यकर्ता, लोभलाग्दो लामझान पाउने रावल एक्ला जस्तै देखिएका थिए । सीमित र निकटकाले मात्रै उनलाई स्वागत र नारा जुलुल गर्दै साथ दिएको देखिन्थ्यो ।
सँर्ग विमालबाट झरेपछि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाको बारे पनि केही समय चासो र छलफल चलेको थियो । तर थापा आफ्नै व्यक्तिगत कामले आएका हुन् । संयोजकले सिट समेत एउटै भएपछि चासो गरिनु अन्यथा नहुने एमाले नेताहरुको दाबी छ ।
प्रतिक्रिया दिनुहोस