धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधाराचाँदनीमा सुख्खा बन्दरगाह निर्माणको काम चाडै अघि बढ्ने बताएका छन् । सुख्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेकाले छिट्टै निर्माणको काम अघि बढ्ने मन्त्री भण्डारीको भनाई छ ।
प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री भण्डारीले सुख्खा बन्दरगाह निर्माणको काममा अब ढिलाई हुने हुदैन् । रुख कटान गरिसकेपछि भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भइसकेको मन्त्री भण्डारीको दाबी थियो ।
‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र आईजीसीको बैठकमा नेपालले रुख कटानको काम सम्पन्न गरेपछि लगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमती भएको छ,’ भण्डारीले भने, ‘हामीले रुख कटानको आदेश पाइसकेकाले चाडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुख्खा बन्दरगाह निर्माणको काम अघि बढाउँछ ।’
आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शिर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाडै निर्माण गर्नेगरि सम्झौता भएको उनले बताए । सुख्खा बन्दरगाहलाई सिंगो सुदूरपश्चिमको समृद्धिको आयोजनाका रुपमा हेरिएको छ ।
यस्तै, कैलालीको गौरीफन्टा नाकालाई स्तरोन्नती गरेर मुख्य भन्सार नाकाका रुपमा विकास गर्ने सहमती पनि भएको बताए । कञ्चनपुरको दोधारचाँदनी र कैलालीको गौरीफन्टा नाकासम्म रेल सेवा सञ्चालन गर्न अध्ययन गर्ने समझदारी पनि दुवै पक्षले गरेका छन् ।
‘पलियादेखि दुधुवा नेशनल पार्कको बाटो स्तरोन्नती गरेर गौरीफन्टा नाकामा मुख्य भन्सार बिन्दु बनाउने, त्यसका लागि आवश्यक पर्ने क्वारेन्टाइन लगायतका संरचना निर्माण गर्ने सम्झौता भइसकेको छ,’ भण्डारीले भने, ‘दोधाराचाँदनी र गौरीफन्टा नाकालाई व्यवस्थित गर्न रेल सेवाको अध्ययन कार्य अघि बढाउने सहमति पनि भारतीय पक्षले गरेको छ ।’
मन्त्री भण्डारीले कैलालीको हरैया विशेष आर्थिक क्षेत्रको प्रस्तावित क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका छन् । निरीक्षणका क्रममा उमले चाडै काम अघि बढाइने दाबी गरे । गोदावरी नगरपालिका–७ र ८ मा पर्ने हरैया विशेष आर्थिक क्षेत्रका आवश्यक पर्ने जग्गाको रेखांकन भइसकेकाले चालु आर्थिक वर्षमा सरकारले एक करोड बजेट विनियोजन गरेको जानकारी उनले दिए ।
बजेटले चालु आर्थिक वर्षमै घेरबार निर्माण गरिने मन्त्री भण्डारीको भनाई छ । त्यसपछि क्रमशः डीपीआर निर्माण लगायतका कामको थालनी गर्दै हरैया विशेष आर्थिक क्षेत्र निर्माणका कामलाई अघि बढाइने भण्डारीले बताए ।
भैरवाह, सिमरा र पाँचखाल औद्योगिक क्षेत्रपछि हरैयालाई प्राथमिकतामा राखिएको बताएका भण्डारीले केही नीतिगत सुधारका कारण निर्माणको प्रक्रिया अघि बढाउने र लगानीमैत्री वातावरण बनेको दाबी गरे ।
‘हामीले नीतिगत सुधार गर्दै निर्यातजन्य वस्तुको प्रतिशतलाई ६० बाट ३० प्रतिशतमा झार्ने बितिकै थुप्रै सेजका ब्लकहरु चाहियो भनेर आन्तरिक र बाह्य लगानीकर्ताहरुले डिमान्ड गर्न थालेका छन्,’ भण्डारीले भने, ‘अमेरिकाको कोकाकोला कम्पनी, चिनिया लगानीकर्ता पाँचखाल हामीलाई चाहियो भनेर प्रस्ताव लिएर आउनुभएको छ ।’
सरकारले जारी गरेको अध्यायदेश बारे बोल्दै मन्त्री भण्डारीले अधिकारको प्रयोग गरिएको बताए । अध्यायदेश ल्याउने सरकारको अधिकार हो, यसमा विरोध र बहसले कुनै अजर्थ नराख्ने दाबी गरे ।
सरकारले केही गरेन भन्ने कुरा गलत हो, निराशाको कुरा बढी भए । सरकारले धेरै गरेको छ, र गर्न खोजेको छ, केही समयमै यसको परिणाम देखिने दाबी भण्डारीको छ । थारु समुदायको साँस्कृतिक मेलाको अवसरमा आयोजित साँस्कृतिक महोत्सव सहीतका कार्यक्रममा भाग लिन मन्त्री भण्डारी सुदूरपश्चिम आएका हुन् ।
प्रतिक्रिया दिनुहोस