बुधबार, २३ माघ २०८१

बाजुुराको दुर्गम गाउँ पाडीमा फोरजी चलेपछि गाउँमा खुसियाली

बाजुरा : शहरमा बस्ने र सुविधा भोग गर्नेहरुलाई पत्याउन निकै गाह्रो पर्छ । अझै गाउँहरु विजुली, फोन र इन्टरनेट सेवाबाट बाहिर छन्, भन्दा सहज विश्वास पनि नलाग्न सक्छ । तर सुदूर पश्चिमका पहाडी गाउँहरु अझै विजुली, फोन र इन्टरनेट सेवाबाट निकै टाढा र पछाडि छन् ।

गाउँमा फोन सेवा जडान हुँदा, विजुली बत्ती बल्दा, फोरजी इन्टरनेट सेवा सञ्चालनमा आउँदा होस् की गाउँमा पहिलो पटक बस पुग्दा खुसीयाली हुन्छ, उत्सव मनाइन्छ । यहाँका स्थानीयहरुका लागि त्यो कुरा नयाँ हो, नौलो हो । त्यो भन्दा पहिला शहर पुगेर सुविधा लिएका बाहेक स्थानीय अरुलाई थाह हुदैन् । 

Nenhuma descrição de foto disponível.यस्तै खुसीयाली हिमाली गाउँपालिका ६ पाडीका स्थानीय पनि मनाएका छन् । गाउँमा सामान्य फोन सेवा बाहेक थिएन्, सोमबार देखि गाउँमा फोन सहीतको भरपर्दो फोरजी इन्टरनेट सेवा समेत सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । गाउँमा इन्टरनेट सेवा सञ्चालन पछि उत्सव मनाएका छन् ।

हिमाली गाउँपालिकाले अपवाद बाहेक देशकै सर्वाधिक विकट पालिका हो । बाजुराका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासको सुविधा पुग्न नसकेको पालिका पनि हिमाली नै हो । हिमालीमा पनि साविक बिच्छ्या र रुगीन गाउँविकास समिति अन्र्तगत पर्ने वडाहरु दुरी र विकास दुबैले टाढा छन् । पछाडि छन् । 

तीनै गाउँहरुमा विजुली बाल्ने प्रयास, सडक पुग्ने संकेत र फोन सहीतको फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीयले विकास गाउँ पुगेको आभाष गर्न थालेका छन् । गाउँपालिकाले वडामा फोरजी सेवा विस्तार गर्नुलाई ठूलो सफलता ठानेको छ ।

भूगोल र सडक सञ्जालको समस्याले सामान्य विकासको अनुभूति गराउन समस्या हुने गाउँमा फोरजी सञ्चालन पछि धेरै ठूलो उपलब्धीका रुपमा पालिकाले लिएको भन्छन्, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारी । भण्डारीले नै प्रत्येक वडामा फोरजी सेवा जडान गर्ने र स्थानीयलाई इन्टरनेट सेवाको पहुँचमा पुर्याउने पालिकाको लक्ष्य पुरा भएको बताएका छन् ।

यहाँका स्थानीय मोबाइलमा कुरा गर्न पनि डाँडा, अल्गो रुख खोज्न बाध्य थिए । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छन् । यसले निकै सुविधा दिएको अनुभूति स्थानीयले गरेका छन् । फोटा र भिडियो देखिने सुविधा पुगेकोमा खुसी लागेको स्थानीय रनी रावलले बताए । प्रवासमा बस्ने छोरासँग भिडियो सहीत कुरा भएपछि रावलको परिवार झनै खुसी भएको छ ।

कम क्षमताको सोलारबाट नै फोन सेवाका टावर जडान गरिँदा फोन सेवा समेत अनियमित थियो । त्यो पनि घाम लागेका बेला मात्रै फोन गर्नु पर्ने बाध्यता थियो । तर पालिकाले पाडीमा भने ठूलै क्षमताको सोलार पाटा जडान गरेको छ । हप्तादिन घाम नलागेपछि टावरका लागि धान्न मिल्ने क्षमताको सोलार जडान पछि सहज हुने भन्छन्, गाउँपालिका उपाध्यक्ष राजकला सार्की ।

हिमालीको भौगोलिक अवस्था अन्य स्थानीय तहको भन्दा निकै फरक छ । विकास गर्न सहज छैन् । ढुवानीमा समस्या छ । सानो लगानीले केही गर्न सक्ने अवस्था नै पालिकामा छैन् । जेनतेन विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चारलगायतका सुविधा विस्तारमा लागि परेको पालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ल बताउँछन् ।

पालिकाले विगत पाँच वर्षदेखि नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरासँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वय गर्दै आएको थियो । त्यसकै निरन्तरता गत वैशाखदेखि पाडीमा टावर निर्माण कार्य सुरु गरिएको हो ।

फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्ने तयारीमा पालिका देखिएको छ ।

हिमालीको धुलाचौरमाथि डाँडामा पालिकाको १५ लाख रुपियाँ लगानी गरेर टावर निर्माण गरेपछि यहाँ फोरजी सेवा सञ्चालन भएको थियो । सो सेवा अहिले पाडीमा पनि सञ्चालन भएको छ । केही समयमै हिमाली गाउँपालिको १, २, ३, ४, ५, ६ र ७  गरेर सबै वडामा टावर र इन्टरनेटसहित टेलिफोन सेवा विस्तार गर्ने योजना पालिकाले अघि सारेको छ ।

गाउँपालिकाले हिमालीका दुर्गम गाउँमा इन्टरनेट सुविधा जडानको विषयलाई ठुलै उपलब्धीका रुपमा हेरेको छ । सुविधा जडानसँगै यहाँका स्थानीयको जीवनशैली केही नयाँ र फरक हुने विश्वास पालिकाको छ । सम्पर्क सम्बन्ध र शिक्षा विकास, स्वास्थ्य सचेतना र सूचना आदान प्रदानमा समेत सहज हुने देखिएको छ । बाजुुराका अझै अधिकांश गाउँबस्तीमा फोन र इन्टरनेट सुविधा विस्तार हुन सकेको छैन् । 

Pode ser uma imagem de montanha e grama

प्रतिक्रिया दिनुहोस