काठमाडौँ : भूमि समस्या समाधान आयोगले पूर्णता पाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिनुभएको छ । आयोगका जिल्ला अध्यक्षमा नियुक्त भएकाहरूको सपथ ग्रहणको कार्यक्रम सोमबार दिउँसो ३ बजे सहकारी प्रशिक्षण केन्द्र नयाँबानेश्वरमा राखिएको छ । कतिपय जिल्लामा पार्टी भित्रका आन्तरिक समस्याका कारण अध्यक्षको नाम टुंगिएर पनि आएको छैन । उनहरू पनि सपथग्रहण समारोहमा सहभागी हुनेछन ।
दैनिकीले प्राप्त गरेको सूचीमा ७७ जिल्ला मध्ये केहीमा मात्र अध्यक्षको नाम टुंगिन बाँकी रहेको छ । मन्त्रालय स्रोतले सपथ ग्रहण समारोह अघि सबै नाम टुंगिने जनाएको छ । सोमबार अध्यक्षहरूले सपथ ग्रहण गरेपछि सदस्यमा नियुक्तहरूलाई अध्यक्षले जिल्लामै सपथ गराउनेछन ।
सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।
यस्तै बाजुराबाट जनक बहादुर रोकाया अध्यक्ष बनेका छन् । नेपाली काँग्रेसका नेता रोकाया यस अघि पनि जिल्ला अध्यक्ष नै थिए । यो पटक पनि सत्ता साझेदार दलले सहमतिमै सदस्य एमालेले पाउने गरि अध्यक्ष काँग्रेसका जनक बहादुर रोकायालाई समर्थन गरेको हो ।
प्रतिक्रिया दिनुहोस