बाजुरा : कोल्टी विमान स्थलबाट जहाज उड्न थालेको ४० वर्षपछि कोल्टी बजारमा बस पुगेको छ । मार्तडी कोल्टी कवाडी सडक शिलान्यासको २५ वर्षपछि शनिबार विहान तीनवटा बस कोल्टी बजारमा पहिलो पटक पुगेका हुन् । तत्कालिन जिल्ला विकास समिति सभापति लालबहादुर थापाले २०५६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको दिन सडक शिलान्यास गरेका थिए ।
२५ वर्षपछि बस पुगेपनि स्थानीय भने हर्षविभोर थिए । बाजागाजा सहीतको भव्य स्वागत । रंगरोगन सहीतको खुसीयाली । सिंगो बुढीनन्दा नगरपालिकाका तर्फबाटको हर्षबढाई निकै ठूलो उत्साह र खुसीयाली देखिएको थियो । विश्व खाद्य कार्यक्रम अन्र्तगत सडक निर्माणको काम थालिएको थियो । काम गरेवापत खाद्यन्न उपलब्ध गराउने र सडक निर्माण गर्ने उदेश्य अनुरुप सडकको अवधारणा गरिएको तत्कालिन जिल्ला विकास समिति सभापति लालबहादुर थापा स्मरण गर्छन् ।
जुनबेला साँफे मार्तडी सडक निर्माणको कामपनि सुस्त थियो । २०५२ सालमा निर्माण थालनी गरिएको साँँफे मार्तडी सडक पनि २२ वर्षपछि कालोपत्र सकिएर सञ्चालनमा छ । मार्तडी कोल्टी सडकमा पनि यतिबेला कालोपत्रको काम जारी छ । ४२ किलोमिटर सडकमा बस सेवाभने पहिलो पटक सञ्चालनमा आएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए ।
कोल्टीमा जहाज भने २०३९ सालदेखि नियमित उडिरहेको छ । २०३६ सालबाट विमान स्थल निर्माण थालिएको थियो । निर्माण अवधीकै बीचमा तत्कालिन राजा वीरेन्द्र र रानी एश्र्वयले अवलोकन भ्रमण गरेका थिए । भ्रमणबाट काममा ढिलाई हुने देखेपछि बीचमा राजारानीको हुकुम बक्सीसबाट लगानी थप गरेर तत्कालिन पञ्चायतका जिल्ला सांसद नरसिंह गिरीलाई कामको जिम्मा दिइएको थियो ।
विमान स्थल निर्माणको काम २०३९ सालमा सकियो । लगत्तै २०३९ असोज ४ गते मंगलबारको दिनबाट पहिलो परिक्षण उडान थालिएको स्थानीय नन्दराम विष्ट बताउँछन् । विष्ट ३१ वर्षको हुँदा कोल्टीमा जहाज उड्न थाल्यो । उनी हाल ७४ वर्ष नाघे बल्ल बस गुड्यो । जहाजले कोल्टीमा २०३९ साल असोज १९ गतेबाट नियमित उडान थालेको हो । त्यो बेला धनगढी कोल्टी उडान हुने गथ्र्यो ।
जहाज उडेको र देखेको ४० वर्षपछि विष्टले गाउँमै बस देखे । जीप र अन्य सवारी साधानहरु केही वर्षपहिला देखि नै चल्न थालेका थिए । कोल्टी नजिकैको कर्णाली करिडोरमा बस पनि यो वर्षबाट गुड्न थालेका थिए । तर कोल्टी गाउँ, कोल्टी बजारमा, जहाँ जहाज उड्छ, त्यहा बस पहिला पुग्दा सिंगो कुण्डा क्षेत्रमा खुसीयाली छाएको देखियो ।
पहिलो पटक महाकाली यातायातका ना ७ ख ५८७३ र ५३३५ तथा शिवपुरी यातायातको ८९४१ नम्बरका बस कोल्टी पुगेका थिए । स्थानीयको स्वागतले चालक सहीत बसमा सवारहरु खुसी मात्रै भएनन्, निकै भावुक बने । दशक लामो अवधी बस चलाएर यस्तो स्वागत, अभिनन्द कतै पाइएको थिएन्, चालक भेषराज रेग्मी खुसी हुदै भने ।
कोल्टी चौरमा झुल्किएका तीनै बस स्थानीय बासिन्दाका लागि विशेष अतिथी र ठूलो सफलता समान थिए । अनुहारमा देखिएको खुसीयाली हेर्दा लाग्थ्यो यो भन्दा अर्को ठूलो खुसी छैन् । तत्कालीन समयमा पालवंशी, सिंजा र बझांगी राज्यको प्रशासनिक इकाइ रहेको कोल्टी चौरसम्मै बाजागाजा सहीतको टोली स्वागतका थियो ।
त्यो चौरमा अहिले पनि विभिन्न सांस्कृतिक मेला र पर्व आयोजना गर्ने परम्परा छ । त्यही ठाउँमा शनिबार पहिलो पटक बस पुगेको खुसीमा स्थानीय जनप्रतिनिधि र कोल्टी क्षेत्रका अगुवाले स्थानीयले पञ्चैबाजासाथ ध्वजापताकाले सजाएका तीन वटा बसको एकसाथ स्वागत गरे, सम्मान र अभिनन्द गरेर खुसीयाली मनाए । जनप्रतिनिधीले पनि ठुलै सफलताका रुपमा लिएका छन् ।
यो युगमा पनि गाउँमा बस पुर्याउने कुरा नौलो जस्तै लाग्ने विषय दुर्गमका गाउँमा अझै कायम छ । बुढीनन्दा नगरपालिकाले कोल्टी बजारनजिक बसपार्क निर्माण गरेको छ । कोल्टी चौर हुँदै पहिलो पटक पुगेका बस त्यहीँ रोकिएका थिए । बस पुगेपछि स्थानीयले आस्था राख्ने कुलदेवता थिमकोट कैलाशलाई पुजासम्झना गरेका थिए । बसको कैलाश देउताका धामी कृष्ण बोहराले विधिवत् पूजा समेत गरेका थिए ।
सदरमुकाम मार्तडीदेखि कोल्टी बस सेवामा जोडिएसँगै यस क्षेत्रका बासिन्दाको पहुँच कर्णाली करिडोरसँग जोडिएको छ । सहज यात्रा र सुलभ सवारी सेवाको पहुँचमा जोडिने विषयले कोल्टी क्षेत्रमा खुसीयाली छाएको स्थानीय प्रदीपराज जैशीले बताए । बस पुग्नु ठुलो उपलब्धी हो । सबै जहाजको पहुँचमा छैनन् । विरामीलाई सहज उपचार सेवाको समस्या थियो । मार्तडीसँग जोडिने विषय सहज बन्यो, कोल्टी क्षेत्रका लागि बस पुग्ने कुरा सुखद हो, सामाजिक अगुवा समेत रहेका जैशीले थपे ।
‘कोल्टी क्षेत्र र कर्णालीका १३ वटा पालिकाका बासिन्दा कोल्टीमा बस पुग्दा प्रत्यक्ष लाभ लिने छन् । बाजुराका चार सहीत मुगु, हुम्ला र कालिकोट जिल्लाका स्थानीय तहको प्रत्यक्ष सम्बन्ध कोल्टीसँग छ । उनीहरुका लागि बजार क्षेत्र र स्वास्थ्य सेवा उपलब्ध भएको ठाउँ कोल्टी मात्रै हो,’ अब बससेवा विस्तारसँगै मार्तडीपनि प्रत्यक्ष जोडिएको बुढीनन्दा नगरपालिकाका प्रमुख जनक कुमार बोहरा बताए ।
कोल्टीसम्म बस यातायात सेवा सञ्चालन भए अब कोल्टीमा उपचार सम्भव नभएका बिरामीले तत्काल सदरमुकाम वा अछाम, डडेलधुरा वा धनगढी जान सहज हुने भएको छ । बाजुरा २ हजार १८८ वर्गकिलोमिटर क्षेत्रफलका फैलिएको छ । त्यस क्षेत्रफल भित्र ९ वटा पालिका छन् । ती मध्ये बुढीनन्दा नगरपालिका, स्वामीकार्तिक खापर, हिमाली र जगन्नाथ गाउँपालिका पूर्वोत्तर कोल्टी क्षेत्रमा पर्छन् । छरिएका बस्ती रहेको कोल्टी क्षेत्रको भूभाग भने दक्षिणी क्षेत्रका पाँच स्थानीय तहभन्दा धेरै छ । कोल्टी क्षेत्रका चार स्थानीय तहको क्षेत्रफल ठूलो छ । १ हजार ३४५ दशमलव ०५ वर्गकिलोमिटर छ ।
विश्व खाद्य कार्यक्रमद्वारा कामका लागि खाद्यान्न कार्यक्रमबाट निर्माण थालनी पछि सरकारका तर्फबाट २०६८ बाट सडक निर्माणले गति लिएको थियो । तत्कालिन कोल्टी क्षेत्रका ११ वटा गाउँ विकास समितिको सयुक्त पहलमा पहिलो पटक डोजर लगाएर सडक विस्तार गर्ने कार्य सुरु गरिएको थियो । २०७७ मा मार्तडी–कोल्टी सडक स्तरोन्नतिको जिम्मेवारी संघ र प्रदेश सरकारले लिएको थियो । प्रदेश सरकारले गौरवकै योजनामा राखेको थियो । १ अर्ब ९८ करोड बजेट नै साझेदारीमा खर्च गर्ने गरि विनियोजन गरिएपनि निर्माण कार्यले गति लिनसकेको छैन् ।स्थानीय बासिन्दा निर्माण कम्पनी र सरकारसँग रुष्ट छन् ।
तर कोल्टीमा बस पुगे पनि निरन्तरतामा चुनौति देखिएको छ । स्थानीयलाई पनि नियमित सञ्चालनको चिन्ता छ । मार्तडी–कोल्टी खण्डमा पर्ने तीन वटा खोलामा पक्की पुल बनिसकेको अवस्था छैन् । बाउली, अनाई र दानसाँघुमा पुल निर्माण नहुँदासम्म बाह्रै महिना कोल्टीसम्म सडक यातायात सञ्चालन हुन नसक्ने अवस्था छ । काम सुरु गरिएको बाउली र अनाइको पुल निर्माणको कामले पनि भनेजस्तो गति पाएको छैन् ।
तर बुढीनन्दा नगरपालिकाले भने नियमित नै गरिने दाबी गरेको छ । पुलको विकल्प मार्फत पनि नियमित गर्ने अडानमा नगरपालिका भएपनि बर्षादको समयमा त्यो संभव कम देखिन्छ । बेजिब्रिज वा अन्य कुनै विकल्प सोचिएमा भने नियमित भइरहने अवस्था देखिन्छ । बाटो सहज नै रहेको चालकहरुले बताएका छन् । हाललाई मार्तडीदेखि कोल्टीसम्मको बस भाडा ५ सय तोकिएको छ । बस सञ्चालन पछि वर्षौदेखि जीपको चर्काे भाडाको मारमा परेका स्थानीयलाई सबैभन्दा बढी राहत हुनेछ ।
प्रतिक्रिया दिनुहोस