बुधबार, २३ माघ २०८१

सत्ता गठबन्धन फेरिने कुुरा हल्ला मात्रै हो, तलमाथि हुँदैन : एमाले सचिव भट्ट

धनगढी : नेकपा एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले सत्ता गठबन्धन फेरिने कुरा हल्ला मात्रै भएको बताएका छन् । राजनीतिक निकास र स्थायीत्वका लागि दुई ठूला दलको सत्ता समिकरण भएको स्मरण गर्दै भट्टले गठबन्धन बलियो रहेको जिकिर गरेका छन् ।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी पार्टीको प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संसोधन देखि अन्य दुईदल बीचका सहमतिमा कुनै तलमाथि नहुने दाबी गरे । अहिलेदेखि नै छलफल गरेर २०८७ सालमा पूर्ण रुपमा संविधान संशोधन गर्न सकिने कुरा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको रहेको भट्टले स्पष्ट पारे । 

‘अहिले देखिनै विधानका कुन–कुन दफा संशोधन गर्ने हो ? छलफल गर्दै जानुपर्छ’, भट्टले भने, ‘बैठकमा अध्यक्ष कमरेडकै शब्द के थियो भने, २०८७ मा संविधान पूर्ण रुपमा संशोधन हुनसक्छ ।’ तर त्यो प्रक्रिया अहिलेबाट नै सुरु गरिन्छ । 

‘बैठकमा विभिन्न कोणबाट छलफल हुन्छन् । त्यसले दुई दलबीच भएको ७ बुँदे सहमतिमा असर पर्छ भन्ने हुँदैन’, उनले भने, ‘यसले समीकरणमा पनि तलमाथि हुँदैन ।’ प्रदेश कमिटीको बैठकको े निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता भट्टले उक्त कुरा भन्नु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकमा संविधान संशोधन २०८७ मा मात्रै हुनेभन्दै दिएको अभिव्यक्ति पछि गठबन्धनमा खटपट हुने चर्चा चलेका बेला सचिव भट्टले प्रधानमन्त्रीको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नहुने स्पष्ट पारेका हुन् । नेता भट्टले प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नभएको सन्दर्भलाई लिएर उक्त कुरा बोलेको पनि उल्लेख गरे ।

केन्द्रीय कमिटीमा विभिन्न एजेन्डामा छलफल हुने क्रममा संविधान संशोधनका लागि राष्ट्रिय सभामा दुई तिहाइ बहुमत नहुँदा त्यसमा जोड गरेर एमालेको मिसन २०८४ लाई सफल पार्नुपर्छ भन्नुभएको थियो’, त्यसैलाई अनावश्यक हल्ला फिजाउँने कुरामा कुनै सत्यता नभएको भट्टको दाबी छ । 

फरक प्रसङ्गमा बोल्दै सचिव भट्टले पार्टीभित्र रहेका गलत प्रवृत्तिलाई परास्त गर्दै एकढिक्का हुनुपर्ने कुरामा कुनै दुई मत नभएको बताए । पार्टी अध्यक्षले केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा समेत स्पष्ट रुपमा उक्त कुरा उल्लेख गरिएको बताउँदै उनले दक्षिणपन्थी अवसरवाद र अराजकतालाई परास्त गर्दै एकताबद्ध पार्नुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस