धनगढी : असोज २१, २२ र २३ गते बसेको नेकपा एमाले पार्टी केन्द्रीय कमिटीको बैठक जति चासोका साथ हेरिएको थियो । एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकमा पनि धेरैको ध्यान थियो । दुबै बैठक पूर्व पार्टी उपाध्यक्ष भीम रावललाई सचिवालय बैठकले गरेको कारवाही लक्षित बहस हुने धेरैजसोको अनुमान थियो । तर दुबै बैठकमा अपवाद बाहेक बहसको विषय बन्न पाएन् ।
केन्द्रीय कमिटीमा २ जना नेताहरु बाहेकले खुलेर कारवाही बारे बोल्नै सकेनन् । सुदूरपश्चिम प्रदेश कमिटी बैठकमा झन कसैले आँट समेत राखेनन् । नौ जिल्ला मध्ये एक जना पार्टी जिल्ला अध्यक्षले रावलको कारवाहीले सिंगो सुदूरपश्चिमको पार्टी कमिटीमा क्षति हुने र कार्यकर्तामा निराशा छाउने विषयमा बोल्नु बाहेक कसैले महत्वमा राखेनन् ।
प्रदेश कमिटी बैठकमा पार्टी केन्द्रीय सचिव एवं प्रदेश इन्चार्ज लेखराज भट्ट र स्थायी कमिटी कर्णबहादुर थापा मात्रै सहभागि थिए । प्रदेशबाट प्रतिनिधीत्व गर्ने केन्द्रीय सदस्य र पोलिटव्यूरो कोही सहभागि भएनन् । केन्द्रमा बहस नभएपछि सुदूरपश्चिम प्रदेश कमिटीमा बहस हुने, रावललाई सान्त्वनाकै लागि भएपनि कोही कसैले विषय उठान गर्ने अनुमान अन्तिममा फेल भयो ।
बैठकमा देखिएको सौहार्दता, शालीनता र विषय केन्द्रीत बहसले पार्टी सिंगो कमिटी एक ढिक्का र पार्टी भविष्य प्रति जिम्मेवार देखिएको सचिव रणबहादुर चन्द्रले बताए । पार्टी हितमा काम नगर्ने, पार्टी संगठनका विरुद्धमा लाग्ने कोही कसैको पछि पनि सचेत र जिम्मेवार नेताहरु हुदैनन र छैनन् भन्ने सन्देश समेत प्रदेश कमिटी बैठकले दिएको देखिन्छ ।
एजेण्डा माथि खुला छलफल र सबैजसोलाई बोल्ने अवसर दिएकोमा १ सय ५० बढी सहभागि प्रदेश कमिटी सदस्यले विकास र पार्टी संगठन निर्माणकै बारेमा धारणा राखेको सहभागि प्रदेश कमिटी सदस्यले जानकारी दिए । सुदूरपश्चिम एमालेबाट कारवाही गरिएका पूर्व उपाध्यक्ष भीमरावलको गृह प्रदेश हो ।
कुनैबेला सुदूरपश्चिम र भीम रावल एक अर्काका पर्याबाची जस्तै थिए । सत्ता र शक्ति सधैं एकसाथ हुदैन् रसमय अनुकुल कार्यशैली बनाउन नसकेपनि साथदिनेहरु घट्दै जाने संकेत पनि रावल प्रतिको वर्तमान अवस्थाको समर्थनको संख्याले देखाएको छ । बैठकले सबै टोल, गाउँ र समुदायमा पुगेर वडा केन्द्रीत अभियान सञ्चालन गर्ने केन्द्रीय कमिटीको निर्णयलाई समर्थन गरेको छ ।
सयदिनसम्म केन्द्र, प्रदेश र जिल्लाका नेताहरु आफ्नै भूगोल र गाउँमा आम सर्वसाधारण, नेता कार्यकर्तासँगै रहने गरि कार्ययोजना बनाउने निर्णय प्रदेश कमिटीले गरेको प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं पार्टी उपसचिव भगिरथी विष्टले बताएकी छन् । पत्रकार सम्मेलन मार्फत नै नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटीले निर्णय सार्वजनिक गरेको छ ।
पाँचौ प्रदेश कमिटीको बैठकले सचिवालय गठन गरेको छ । १ सय ९९ सदस्य रहेको कमिटीले ४७ जना सदस्य रहेको सचिवालय गठन गरेको हो । अघिल्लो कार्यकाल प्रदेश कमिटीमा बसेका र सचिवालय सदस्य भइसकेकालाई नै सचिवालयमा प्राथमिकता दिएको सचिव रणबहादुर चन्द्रले बताएका छन् ।
२६ पुसदेखि धनगढी स्थित पार्टी कार्यालयमा बसेको बैठक शनिबार अबेर सकिएको हो । एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैठकले गरेका निर्णयका बारेमा जानकारी दिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख भागरथी विष्टले जानकारी दिएकी छन् ।
बैठकले विभिन्न विषयसँग सम्बन्धीत १४ वटा प्रस्ताव समेत पारित गरेको छ । दुई ठूला दलले गरेको ७ बुँदे सहमतीको मूल मर्मअनुसार भ्रष्टाचार नियन्त्रण गर्दै सुशासनको प्रत्याभूती दिलाउदै प्रभावकारी सेवा प्रवाह गर्न, विकास निर्माणका काममा गुणस्तर गर्दै पाददर्शी रुपमा अघि बढ्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने प्रस्ताव पारित गरेको छ ।
यस्तै, कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–२ मा २०३८ सालदेखि बसोबास गर्दै आएका ८६ परिवारलाई खेलकुद मैदान बनाउने नाममा विस्थापित गरेकाले उनीहरुको मागलाई ध्यान दिएर निकास दिन, बेल्डाँडी गाउँपालिकाको ४ र ५ नजिकैको सीमा स्तम्भ नम्बर २८ नजिकै तीन हजार पाँच सय बिघा जमिन भारतीय पक्षले अतिक्रमण गरेको विषयमा नेपाली भूमी खाली गराउन पहल गर्न सरकारसँग माग गर्ने प्रस्ताव पनि पारित गरेको उपसचिव विष्टले बताइन् ।
दार्चुलाको ब्यास गाउँपालिकाको तिंकरमा रहेको अध्यागमन कार्यालयलाई नेपाल–भारत सीमा नजिक निर्माण भएको मोटेरेबल पुन नजिक राख्न सरकारलाई माग गर्ने, विभिन्न समयमा भूकम्पका कारण भएको क्षतिको आधारमा पिडीतहरुलाई राहत दिन प्रदेश सरकारलाई आग्रह गर्ने, स्थानीय स्तरमा गुणस्तरीय प्रसुती सेवा विस्तार गर्न तीनै तहका सरकारसँग माग गर्ने, अत्यधिक रक्तश्राव भएर ज्यान गुमाएकी बझाङको केदास्युँ गाउँपालिका–१ की सविता बोहराको परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरिएको छ ।
बैठकले सुदूरपश्चिमको विकासको ढोका खोल्ने मुख्य सडक चैनपुर ताक्लाकोट भएपनि प्राथमिकता नदिइएकाले राष्ट्रिय गौरवको योजनामा पारेर निर्माण गर्न, प्रदेशममा जडिबुटी प्रशोधन तथा प्रवद्र्धन गर्न माग गर्ने, प्रदेशको पर्यटन विकासमा सरकारको ध्यानाकर्षण गराउने, गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्न बनेको विद्येयकको दफाबार छलफल टुंग्याएर अगामी शैक्षिक सत्रद्दबाट चिकित्सा विज्ञानको स्नातक तहको पढाइ सञ्चालन गर्नुपर्ने प्रस्ताव समेत पारित गरेको छ ।
प्रदेशका गौरवका योजना महाकाली करिडोर, सेती लोकमार्ग, खुटिया–दिपायल सडक, चिसापानी–मंगलसेन सडक लगायतका योजना चाडो निर्माण गर्न, कञ्चनपुरको दोधाराचाँदनीको सुख्खा बन्दरगाह र दैजी छेला औद्योगिक क्षेत्र, कैलालीको लालपुर हरैया, डँुडेझाडी औद्योगिक क्षेत्र यथाशक्य निर्माण गर्न, प्रदेशको राजधानी निर्माणका लागि गम्भीर बन्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया दिनुहोस