धनगढी : कुनै समय थियो, गाउँमा न योजना आउँथ्ये । न योजनाका लागि बजेट नै । स्थानीयले आफ्ना लागि आफै योजना बनाउँथ्ये । आफ्नै श्रम र लगानीबाट संरचना निर्माण गथ्र्ये । दैनिक त्यो बेलापनि सहज चलेकै थियो । विकास र योजना प्रति स्थानीयको अपनत्व थियो । आफ्ना लागि हो, भन्ने भावनाले काम गर्थे । श्रमदान नै विकासको पहिलो अनुदान र योजना थियो ।
तर अहिले ठिक उल्टो भएको देखिन्छ । योजना र बजेट विना सिन्का समेत गाउँमा सारिदैन् । पानीको मुहान सफा गर्न देखि टुटी खरिदसम्म, नहरको पर्खाल, बनाउन देखि आफू हिँड्नेबाटोको ढुंगा हटाउन पनि योजना र बजेट खोज्ने गलत संस्कार हाबी छ । यत्तिसम्मकी गोठछाना छाउन समेत सरकारकै सिफारिस र अनुदान खोज्ने चलन हाबी भएको देखिन्छ ।
तर बझाङ दुर्गाथली गाउँपालिका १ बुंगाका युवा र महिलाहरुले भने बजेटमुखीहरुका लागि चुनौति दिएका छन् । गाउँमा उनीहरुले श्रमदान मार्फत महिला पुरुषलाई नुहाउन अलग अलग पानीका धारा, सार्वजनिक शौचालय निर्माण गरेका छन् । बुंगा आमा समूहका ३० बढी महिला र गाउँमा रहेको युवा क्लबको सक्रियतामा निर्माण गरिएको क्लबका अध्यक्ष दिने सार्कीले जानकारी दिए ।
मंसिर देखि जेठसम्म गाउँमा नुहाउन पानी अभावकै कारण समस्या हुने र गाउँमा सार्वजनिक शौचालय समेत नभएको अवस्था देखेर आमा समूहसँग मिलेर श्रमदान मार्फत संरचना निर्माण गरिएको सार्कीको भनाई छ । आमा समूह र युवा क्लबले हप्तादिन लगाएर संरचना विकास गरेका हुन् ।
गाउँमा ७० बढी परिवारको बसोबास छ । गाउँका लागि खानेपानी अपुग छ । ५ किलोमिटर टाढाबाट ल्याएको पानी विहान बेलुका मात्रै आउँछ । त्यो पनि मंसिर देखि जेठ सम्म आउने नआउने निश्चित हुन्न । न नुहाउन पाइने । न लुगा धुन । शौचालयको प्रयोगमा समेत पानी अभावका कारण समस्या हुन्छ गरेको थियो ।
युवाहरु टाढा रहेको बुंगा खोलामा गएर, फुर्सदको समयमा कपडा धुने, नुहाउने काम गरेपनि महिलाहरुका लागि साह्रै समस्या हुने गरेको थियो । सुत्केरी र महिनावारी भएका महिलाहरुका लागि प्रत्येक दिन सरसफाइ गर्न झन समस्या हुन्थ्यो । वडा र पालिका सरकार त्यो विषयमा कहिल्यै जिम्मेवार भएन् । अन्तः गाउँमा युवा र आमा समूहको बैठक गरेर आफै बनाउने सहमति पछि निर्माण गरिएको हो ।
बझाङको यो उदारणले समाजका लागि धेरै पछि नयाँ अभ्यास र पुरानै श्रमदान गर्ने समाजको सम्झना जस्तै देखिन्छ । पानीका दुख सुनाइ नसक्ना छन् । महिनादिनसम्म लुगा धुन समस्या छ । जुजी जिउँला सिँचाईका लागि बुंगा खोलाबाट ल्याएर नहरको पानी प्रयोग गर्ने गरि शौचालय, स्नान गृह निर्माण गरिएको आमा समूहका अध्यक्ष हिमकला देवी सार्कीले बताएकी छन् ।
पहिला सबैकाम आफै गरिथ्यो । धारा बनाउने, सिँचाई कुलो निर्माण गर्ने, बाटोघाटो सरसफाइ गर्ने गरिएको हो, बीचमा पैसा भएमात्रै गर्ने भन्ने नराम्रो चलन आयो, त्यो पनि आफ्ना ठाउँका लागि मात्रै योजना हाल्ने नेताभएपछि संभव देखिएन्, युवा छोराछोरीलाई भनेर आफै श्रमदान गरेर निर्माण गर्यौ, सार्कीले थपिन् ।
उनीहरुले गिट्टी आफै कुटे, बालुवा आफै बोके, ढुंगा आफै फुटाए र मिस्त्रीको काम समेत आफैले गरे । मात्रै टिम खरिद र सिमेन्ट खरिदका लागि युवा क्लब र आमा समूहमा रहेको रकम लगानी गरे । २५ हजार बढी नगर र डेढ लाख बढीको श्रमदान गरेर संरचना निर्माण गरिएको छ ।
बुंगा आमा समूहका ३० जना र जनचेतना परिवर्तनशिल युवा क्लबका १३ जना मिलेर संरचना निर्माण गरेका छन् । श्रमदानबाट पनि साना कामहरु हुन सक्छन् । स्थानीयले आफ्ना लागि केही गर्न सक्नु पर्छ, साना कुरामा पनि बजेटमुखी हुनु हुन्न भन्ने मान्यताका लागि उनीहरुको काम उदारणीय देखिन्छ ।
सिँचाई आफ्नै बारीमा हुने हो । खानेपानी शुद्ध, सफा भए आफ्नै लागि हो, मुहान सफा राखिराख्नु पर्छ, बाटोमा ढुंगा खस्दा हटाउन सके सहज आफुहरुकै लागि हो, भन्ने मान्यता नराखेसम्म समाजमा बजेट गएपनि विकास हुदैन्, भन्छन् स्थानीय रनवीरे धामी । धार्मी भन्छन्–पहिला हामीले पनि यसरी नै गाउँ समाज बजाएको हो , त्यही काम युवा र आमासमूहले यो पटक गरे, कामबाट साह्रै प्रभावित छु, ।
बिशेष गरि महिलाहरूका लागि नुहाउन, कपडा धुन सुरक्षित र स्वच्छ स्थान उपलब्ध गराउनु हो । उनीहरुले बनाएको संरचनामा जस्तापाताले छाएको एक नुहाउने कोठा, दुईवटा धारा र लुगा धुनका लागि स्ल्याप निर्माण गरिएको छ । संरचना निर्माण पछि गाउँका महिलाहरूलाई पहिलेदेखिको खोलामा जानु पर्ने र असुरक्षित महसुश गर्नु पर्ने बाध्यता हटेको छ । भने बजेटमुखीहरुका लागि नयाँ अभ्यासको सिकाइ पनि हो ।
प्रतिक्रिया दिनुहोस