बुधबार, २४ पुष २०८१

सरकारी अनुगमनको थलो बन्यो गेटा, स्वास्थ्य मन्त्री पौडेलले पनि छुटाएनन्  !

असारबाट बिशेष निर्णय मार्फत एमबीबीएस पढाइ थाल्ने आश्वासन

धनगढी : सरकारले २०६६ मा कैलाली जिल्लाको गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेपनि भौतिक संरचना निर्माणको काम भने २०७४ देखि मात्र सुरू भयो । राज्यका तर्फबाट करिब ७ अर्ब लगानी पूर्वाधार विकासमै खर्च गरिसकेको छ । २८ वटा भन्दा बढी सुविधा सम्पन्न आधुनिक भवनहरु समेत बनिसकेका छन् । 

गेटामा बनेका संरचना हेर्दा लाग्छ, मेडिकल कलेज सञ्चालन गरेपनि, विश्व विद्यालय बनाएपनि कुनै कामका लागि कमी छैन् । ६ सय शैयाको अस्पताल सञ्चालन र मेडिकल शिक्षा पढाउन पुग्ने संरचना २ वर्ष अघि नै ठडिसकेका छन् । तर राज्य विश्व विद्यालय, मेडिकल कलेज वा अरु कुनै के सञ्चालन गर्ने आफै अन्योल जस्तो देखिन्छ ।

संरचना निर्माण गरिए पनि सरकारी बेवास्ताकै कारण सञ्चालनमा नआएकोमा भने आशंका गर्ने ठाउँ छैन् । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक संसद्मा विचाराधीन छ । यो विधेयक पारित नहुँदा सञ्चालन थप जटिलता देखिन्छ । यति ठूलो लगानीलाई समयमै सदुपयोग गर्न नसकेपनि सरकारी उच्च पदस्थ अधिकारीको अनुगमनको थलो भने, गेटा बनेको छ । 

अपवाद बाहेक सरकारका सबै उपल्लो पदासिनहरुले धनगढी टेक्दा गेटा पुगेकै हुन्छन् । प्रधानमन्त्री देखि दलका नेतासम्म, मन्त्री देखि मन्त्रालयका बिशिष्ठ कर्मचारीसम्मले गेटाको अनुगमन गरेको र आश्वासन दिएर फर्किएको रेकर्ड छ । त्यही सूचीमा थपिए वर्तमान ओली सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल । 

पौडेल मन्त्रालयकै कामको शिलशिलामा धनगढी आइपुगेका हुन् । मन्त्री भएपछि पहिलो पटक सुदूरपश्चिम पुगेका मन्त्री पौडेलले आफू मातहतको संरचनाको अनुगमन नगर्ने कुरै भएन् । लामलस्कारका साथ मन्त्री पौडेलले पनि अर्वौ लगानीका संरचनाको अनुगमन गरे । संरचना देख्दा हौसियपनि । तर सञ्चालन अवस्था बारे खुलेरै बोल्न सकेनन् । 

हाल गेटामा ५० शैयाको अस्पताल सञ्चालन भइरहेको छ । सुन्दा पनि लाज लाग्ने र लगानीको खिल्ली उडाउने काम राज्यबाटै भएको प्रति यहाँका नागरिक आक्रोशित छन् । कहिले मेडिकल कलेज त कहिले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने भनेर सरकार अलमलिदा पटकपटक आन्दोलन समेत भयो । डा.गोविन्द्र केसी धनगढीमै पुगेर गेटाकै बाहनामा दर्जनौ पटक अनशन समेत बसे । तर विश्वविद्यालय बन्ने की, मेडिकल कलेज सुरसार छैन् । 

सुदूरपश्चिम बाहेक सबै प्रदेशमा मेडिकल पढाई हुन्छ । संरचना बनेर पनि आफ्नै प्रदेशमा मेडिकल कलेज बनाएर पढाई सञ्चालन गर्न नपाउनेमा सुदूरपश्चिम मात्रै अभागी हो । अझै केही वर्ष कुर्नु पर्ने देखिन्छ । ३ सय शैया सञ्चालनको तीन वर्ष पुग्नु पर्ने सरकारी मापदण्ड छ । गेटामा अहिलेसम्म ५० शैयाको अस्पताल बाहेक सञ्चालन हुन सकेको छैन् । राज्यले सुदूर प्रतिको सौनेती व्यवाहार र गैर जिम्मेवार बनेको आरोप र आक्रोश यहाँका नागरिकको छ । 

मन्त्री भएपछि चर्चा बटुलिरहेका स्वास्थ्य मन्त्री प्रदीप पौडेलले यही आक्रोशलाई संवोधन गर्न भएपनि गेटामा एमबीबीएस पढाई हुने आश्वासन दिन भ्याए । बिशेष निर्णय मार्फत भएपनि आउने असारबाट मेडिकल शिक्षा एमबीबीएस पढाई सुरु गरिने पौडेलले अनुगमनका क्रममा प्रतिवद्धता व्यक्त गरे । 

मन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री पौडेल एक दिनका लागि सुदूरपश्चिम आएका हुन् । उनले एकै दिन आधादर्जन बढी कार्यक्रममा सहभागि हुन भ्याए । त्यो मध्येको एक गेटाको अनुगमन पनि हो । उसोत संघीय सरकारले ०८० असारमा ‘न्यूनतम सुविधा’ सहितको एक सय शैयाको अस्पताल सञ्चालन गर्ने नीतिगत निर्णय गर्दापनि स्वास्थ्य मन्त्रालयले ५० शैयाको मात्रै अनुमति दियो । 

त्यही निर्णय अनुसार ०८० कात्तिक १ देखि ओपीडी सेवा सुरु छ । दर्जन बढी बिशषेज्ञ डाक्टर सहीत कर्मचारी कार्यरत छन् । तर उपचारका लागि विरामी निकै कम छन् । २०८१ को साउन ३२ देखि अन्तरंग सेवापनि सुरु गरेको छ । हालसम्म एक जना बिरामी पनि अस्पतालमा उपचारका लागि गएका छैनन् । यस्तो दयालाग्दो अवस्थाका बीच स्वास्थ्य मन्त्रीको दाबी कार्यान्वयन हुनेमा विश्वास गरिहाल्नु पर्ने अवस्था छैन् ।

हाल नेपालभर सरकारी र निजी गरि २५ बढी मेडिकल कलेज छन् । सुदूरपश्चिम बाहेक सबै प्रदेशमा कम्तीमा एउटा मेडिकल कलेज छ । सुदूरपश्चिमवासी भने कुनै गम्भीर रोग लाग्दा उपचार गराउन भारतको लखनउ, नयाँदिल्ली लगायतका अस्पताल जान बाध्य छन् । यो देशकै ठूलो पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश पनि हो । 

उसोत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले देउवाको नामै लिएर गेटा र डडेल्धुरामा मेडिकल शिक्षा पढाउने गरि काम थाल्न भनिसकेको समेत अनुगमनका क्रममा भन्न भ्याए । ‘पछिल्लो समय सिंहदरबार पछि ठूलो लगानीमा गेटामा पूर्वाधार निर्माण भएका छन् । ७ अर्बका पूर्वाधार बनेपनि ती खाली छन् । त्यसैले तीनसय शैयाको अस्पताल बनाएर आउँदो आर्थिक वर्षदेखि एमबीबीएसको पढाइ सुरू गर्न सकिन्छ,’ पौडेलले भने । 

चिकित्सा शिक्षाको अध्ययनका लागि तीन सय शैयाको अस्पताल कम्तीमा पनि तीन वर्ष चलेको हुनुपर्ने प्रावधान छ तर उनले मुलुकका ६ प्रदेशमा चिकित्सा शिक्षाको अध्ययन सुरू भइसकेको र सुदूरपश्चिममा अहिलेसम्म पनि चिकित्सा शिक्षाको पढाइ सुरू नभएकाले त्यसका लागि विशेष निर्णय गरेर भएपनि एमबीबीएसको पढाइ गर्न सकिने पौडेलको भनाई छ । 

‘चिकित्सा शिक्षा आयोगले विशेष परिस्थिति भन्दै तीन सय शैयाको अस्पतालको सञ्चालन प्रक्रिया सुरु हुने वित्तिकै एमबीबीएसको पढाइ गर्न सकिन्छ । राज्यले विशेष निर्णय गर्नसक्छ । मेरो प्रयास त्यसतर्फ रहेको छ,’उनले भने ।’

सुदूरपश्चिमलाई पनि न्याय हुने र सरकारलाई पनि सबै प्रदेशमा एमबीबीएसको पढाइ भयो भनेर भन्न सकिने अवस्था मेरै पहलमा मेरै पालना गर्ने दाबी पौडेलको थियो । आफू मन्त्री हुनेवित्तिकै पार्टी सभापति शेरबहादुर देउवाले बोलाएर गेटामा अस्पताल र चिकित्सा शिक्षाको अध्यापनका लागि काम गर्नु भनेर निर्देशन दिएको अनुगमन तथा निरीक्षणका क्रममा स्मरण गराए । 

‘म मन्त्री हुने वित्तिकै मेरो पार्टी सभापतिले बोलाएर मेरो प्रदेशमा मात्र एमबीबीएसको पढाइ  भएको छैन । गेटा र डडेल्धुरामा त्यो काम गर्नु भनेर निर्देशन गर्नु भएको थियो । म पार्टी सभापतिको निर्देशन अनुसार काममा खटिएको छु,’ आउने असारबाट त्यो हुन्छ, उनले भने ।

पौडेलले मेडिकल विश्वविद्यालय बन्दैनन् भन्ने मानसिकता त्याग्न आग्रह समेत गरे । ‘तीन सय शैयाको अस्पताल पनि चल्दै गर्छ । चिकित्सा शिक्षाको पढाइ पनि हुँदै गर्छ । मेडिकल विश्वविद्यालयको आफ्नो प्रक्रिया छ, त्यो पनि अघि बढ्दै गर्छ,’ सुदूरपश्चिम बासीले त्यसमा आशंका गर्नै पर्दैन्, उनले भने ।

तीन सय, ६ सय शैयाको अस्पताल चलेको ठाउँ, एमबीबीएस र एमडीको पढाइ भइरहेको ठाउँलाई विश्वविद्यालय बनाउन झन् सजिलो हुने भएकाले क्रमिक रुपमा हुने विकासमा शंका नगर्न आग्रह गरे । गेटामा बनेका पूर्वाधार संघीय शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत बनेका हुन् ।

शिक्षाले अस्पतालका लागि मात्रै केही भवनहरूको भोगाधिकार संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको छ । अहिले गेटामा सय शैया घोषणा भएपनि ५० शैयाको अस्पताल सञ्चालनमा छ । सेती प्रादेशीक अस्पतालमा दैनिक १४ सय बिरामीको घुइँचो भइरहेका बेला गेटामा जनशक्ति नभएका कारण दैनिक १५÷२० जना बिरामी मात्रै आउने गरेका छन् ।   

प्रतिक्रिया दिनुहोस