बुधबार, २४ पुष २०८१

बझाङमा बाटोमै गयो सुत्केरी सविताको ज्यान, बच्चाले आमा र आमाले सासुको काखमै त्यागे प्राण

धनगढी : बझाङ केदारस्युँ गाउँपालिका १ की सविता बोहरालाई गर्भजाँच गरेको स्वास्थ्य संस्थाले अर्को महिना माघ २४ गते बच्चा पाउने मिति दिएको थियो । घरपरिवारले पनि त्यसैको आधारमा तयारी गर्दै थिए । रोजगारीका लागि भारतको कर्नाटकमा रहेका श्रीमान उमेश बोहरा पनि माघ दोस्रो साता घर पुग्ने सल्लाह थियो । 

भैरव नाथ स्वास्थ्य चौकीमा अन्तिम ८ औं पटक जाँच समेत सविताले गरिसकेकी थिइन् । स्वास्थ्य कर्मीले पनि अवस्था राम्रै रहेको सल्लाह दिएका थिए । एकाएक व्यथा लाग्ला र यस्तो अवस्था आउला भन्ने परिवार र सविता कसैले सोचेका पनि थिएनन् । तर पुस २१ गते साँझबाट सवितालाई पेट दुख्न सुरु भयो । मध्ये रातीसम्म कसैलाई भनिन् । पीडा च्यापेर बसिन् । 

मध्ये रात उनलाई बढी भयो । सहन सकिनन् । सासुलाई र नन्दालाई पेट दुखीरहेको खबर गरिन् । त्यो बेलासम्म उनलाई सहीनसक्नु गरि पेट दुखिसकेको थियो । श्रीमान विदेश, बुढा सासुससुरा, सानै उमेरकी नन्द । जुत्ती लगाउने घरमा कोही थिएनन् । त्यसैमा ससुरा दृष्टिविहिन छन् । छिमेकीलाई खबर गर्न समेत ध्यान उनको परिवारले दिएन् । 

पौने ५ बजेतिर घरबाट निस्के । गाउँमा सडक पुगेको छ । गाउँमै छिमेकीसँग अटो पनि थियो । पालिकासँग एम्बुलेन्स । स्वयम सेविकासँग स्टेचर पनि । तर उनीहरुले कसैलाई केही नभनेरै रायल प्राथमिक स्वास्थ्य चौकी जाने निघो गरि हिँडे । अत्याधिक दुखाई, हिँउदो चिसो । पहाडको उताव चढावको बाटो । घरबाट करिब २ किलोमिटर बाटो हिँडेपछि सवितालाई सहनै नसक्ने र हिँड्न गाह्रो भयो । जंगलको बाटो, त्यही बीच बाटोमै लर्थक्क बसिन् । 

त्यो बेलासम्म न छिमेकीलाई जानकारी गराएका थिए । न त बाटो छेउछाउमा पर्ने कसैलाई खबर गरेका थिए । स्वास्थ्य कर्मीलाई जानकारी गराउने विषय धेरै टाढा भयो । त्यही सविताले बच्चा जन्माइन् । जन्मेको शिशु छोरा थियो । बाटोमै भएपनि साथमा भएका दुई जना सानै उमेरकी नन्द र सासु खुसी भए । लगत्तै कान्छी नन्द देवु बोहरा बाटो नजिकै पर्ने वडा सदस्य प्रेम बोहराको घर पुगिन् । आँसी मागिन् । पौन ६ भइसकेको थियो । किन केका लागि भन्दा पानीको घैला पनि दिनु, भदु ९भतिजा० भयो । भन्दै उनीहरु त्यहाँबाट हिँडेको वडा सदस्य प्रेम बोहरा बताउँछन् । 

बोहराले स्वास्थ्य कर्मीलाई खबर गर्न सल्लाह दिए । उनीहरु हतारमा भाउजु सुत्केरी भएको ठाउँमा गए । त्यहाँ पुगेसम्म सविताको शरिर रगतले भिजिसकेको थियो । पीडाले ज्यान शिथिल हुँदै थियो । जन्मेको शिशुले श्वास फेर्न छोडिसकेको थियो । लगत्तै वडा सदस्य प्रेम बोहरा पनि घर नजिकै भएकोले त्यही पुगे । हतारमा प्राथमिक स्वास्थ्य केन्द्रका सिअहेव कमल कुमार मल्ललाई फोन गरे । एम्बुलेन्स लिएर आउँन अनुरोध गरे । 

सुत्केरी भएको स्थलबाट स्वास्थ्य संस्था करिब ५ देखि ७ किलोमिटरको सडक दुरीमा पर्छ । सिअहेब मल्ल पनि साथमा स्टाफ नर्स जानकारी कुमारी भण्डारीलाई लिएर एम्बुलेन्स सहीत साढे ६ बजेतिर पुगिसकेका थिए । तर स्वास्थ्य कर्मी र एम्बुलेन्स पुग्दासम्म न शिशुको श्वास बाँकी थियो, न त आमाको नै । मृतशिुश आमाको काखमा थियो । आमा सासुको काखमा थिइन् । २१ वर्षकी सविता र उनको प्रेमको निशानी दुबैले काखमै प्राण त्यागे । 

जाँदासम्म दुबैको श्वास नै रोकिएको थियो, सिअहेव कमल कुमार मल्लले बताए । साँझ नै खबर गरेको भए, आमा र शिशु दुबै बाँच्ने सक्ने अवस्था थियो । विहान पनि घरबाट नआएर एम्बुलेन्सका लागि खबर गरेको भए, हुन्थ्यो, सिअहेव मल्लको भनाई छ । गाउँमा अझै कसैलाई पनि व्यथा बारे भन्नु हुन्न भन्ने कुचलन कायमै छ । त्यो बेला पनि स्वास्थ्य संस्था भन्दा धामीलाई बोलाइ दिन सविताकी सासुले आफूलाई अनुरोध गरेको वडा सदस्य प्रेम बोहरा सुनाउँछन् । 

बुहारी मृत्युसँग लडिरहेको र शिशुले श्वास बन्द गरिसकेको अवस्थामा पनि पुरानै मान्यता र अशिक्षामा हुर्केकी सविताकी सासुले धामीलाई नै बोलाई दिन अनुरोध गर्दै, पानी खुवाउन र फेरि पनि श्वास आउने विश्वासमा विलौना गरिरहेको भिडियोमै देख्न सकिन्छ । सविता र उमेशले विहे गरेको वर्षदिन पनि पुगेको छैन् । गएको बैशाखमा उनीहरुले विहे गरेका थिए । विहे लगत्तै उमेश पेट पाल्ने कामको खोजीमा भारत गएका थिए ।

दृश्य देख्दा र सुन्दा मन थाम्न सक्ने अवस्था नै छैन् । पहिलो कमजोरी परिवारकै देखिन्छ, वडा सदस्य प्रेम बोहराले बताए । छिमेकीलाई भन्नु पर्ने, नभए घरकालाई समयमै खबर गर्नु पर्ने, आफै काल खोजेजस्तो घटना भयो, उनले सुनाए । पालिकाले सुत्केरीका लागि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । त्यो बारेमा समेत जानकारी आफन्तले नराखेको देखिन्छ । 

सविताका श्रीमान १० कक्षा मै स्कुल छोडेका हुन् । उनलेपनि आधारभुत तहसम्मको अध्ययन गरेकी थिइन् । नन्दहरु पनि कक्षा ९, १० मै पढ्ने गरेका छन् । परिवारको तयारी र पूर्व जानकारी नभएकै कारण अकालमै ज्यान गुमाएको गाउँपालिका अध्यक्ष गणेश बहादुर शाहीले बताएका छन् । घटना बारे थप अध्ययन गर्न पालिका स्वास्थ्य शाखाको बैठक बोलाइसकेको छु, वास्तविकता त्यहाँ पनि थाह होला, कमजोरी कस्को भनेर, तर आफ्नो ख्याल, स्वयम र परिवारले गर्नु पर्ने हो, छिमेकीलाई समेत खबर नगर्नु थप समस्या भएको उनको बुझाई छ । 

रातभरिको व्यथा, हिउँदको चिसो र अत्यधिक रक्तस्राव मृत्युको कारण बन्यो । केदारस्युँ गाउँपालिका–१ डुडिल गाउँबाट आधा घण्टाको दुरीमा स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र छन् । गाउँमा सडक र पालिकामा निशुल्क एम्बुलेन्स सेवा छ । तरपनि दुखद घटना भएकोमा पालिका अध्यक्ष गणेशबहादुर बोहराले दुख व्यक्त गरेका छन् । 

केही महिना पछि पनि पालिकाको ६ नम्बर वडाका एक जना आमाले सुत्केरी अवस्थामै ज्यान गुमाएकी थिइन् । सचेतनाको कमी र पारिवारीक वेवास्ताले पनि सुत्केरी आमाको ज्यान जोखिममा हुने गरेको देखिन्छ । राज्यले नीतिगत रुपमै सुत्केरी सुरक्षालाई बिशेष प्राथमिकतामा राखेको भएपनि घटनामा कमी आएको छैन् । सबैभन्दा बढी दुर्गमका गाउँहरुमा देखिएको छ ।

प्रतिक्रिया दिनुहोस