धनगढी : बझाङ जिल्लाको केदारस्युँ गाउँपालिकामा एक गर्भवती महिलाको बीच बाटोमै मृत्यु भएको छ । अत्यधिक रक्तस्रावका कारण केदारस्युँ गाउँपालिका–१ डुडिलकी २१ वर्षीया सविता बोहराको सोमबार अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
गर्भावस्थामा रहेको सवितालाई तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था भए पनि समयमै स्वास्थ्य सेवा उपलब्ध हुन नसक्दा बाटोमै बच्चा जन्मिएको थियो । बच्चा जन्मिएको केही समयमै आमा र शिशु दुवैको मृत्यु भएको वडाअध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिएका छन् ।
गाउँमा रायल प्राथमिक स्वास्थ्य केन्द्र छ । परिवारले त्यहाँ पुर्याउन नपाउँदै बाटोमा मृत्यु भएको बुझीएको छ । घटनाको जानकारी पाउनेबित्तिकै गाउँपालिकाबाट एम्बुलेन्स पठाइएको भए पनि आमा र बच्चालाई बचाउन नसकिएको बताइएको छ । यो घटना दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको अभाव र समयमै उपचार नपाउँदा आउने समस्याको ज्वलन्त उदाहरण बनेको छ ।
परिवारको तयारी, नियमित चेकजाँच र दुर्गम भेगकै समस्याका कारण बझाग सहीत सुदूरपश्चिमका पहाडी जिल्लामा सुत्केरी आमाहरुले अकालमै ज्यान गुमाउन बाध्य छन् । स्वास्थ्य क्षेत्रमा पूर्वाधारको अभाव, दक्ष जनशक्ति र यातायात सुविधाको कमीले गर्दा हरेक वर्ष यस्ता घटना दोहोरिइरहेका छन् । फोन असुविधाका कारण थप जानकारी लिन समस्या देखिएको छ ।
प्रतिक्रिया दिनुहोस