बुधबार, २४ पुष २०८१

सुदूरपश्चिममा ६ महिनाकै अवधीमा लागुऔषध सहीत ४३४ जना पक्राउ

लागुऔषधको दलदलमा फस्दै युवा

बाजुरा : सुदूरपश्चिममा एकै दिन (शुक्रवार) प्रहरीले १३ जना युवालाई लागुऔषधसहित पक्राउ गरेको छ । प्रहरीले सुदूरपश्चिमको तीन जिल्ला कैलालीबाट १०, कञ्चनपुरबाट १ र डडेल्धुराबाट २ जना गरि १३ जनालाई एकै दिन लागुऔषधसहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक ९एस्पी० नवराज कार्कीले जानकारी दिएका छन् ।

खराब संगत र परिवारको बेवास्ताका कारण लागुऔषधको दलदलमा युवाहरु फस्दै गएको जानकारहरु बताउँछन् । एकै दिन १३ जना युवाहरु पक्राउ पर्नु राम्रो सन्देश नभएको प्रहरीको भनाई छ । सुदूरपश्चिम त्यसैमा कैलाली र कंचनपुर लागुऔषधको अखडा बन्दै गएको देखिन्छ । 

खुला सीमा नाका र भारतीय बजारको प्रभाव प्रमुख कारण देखिएपनि युवाहरुमा बढ्दो तनाब, बेरोजगार समस्या र खराव संगतले भूमिका खेलेको छ । साउन यता ६ महिनाको अवधीमा मात्रै ४ सय ३४ जना युवाहरु लागुऔषधमा संलग्न भएकै कारण पक्राउ परेका छन् । भने यी मध्ये २ सय ९१ जनाले मुद्दा खेपीरहेका छन् । 

पक्राउ परेका मध्ये सबैभन्दा बढी कैलालीमा छन् । भने कंचनपुर र दार्चुलामा पनि बढी देखिन्छ । यी तीन वटै भारतसँग जोडिएका खुला नाका भएका जिल्ला हुन् । ६ महिनाको अवधीमा कैलालीमा मात्रै २ सय ९८ जना पक्राउ परेका छन् । भने कंचनपुरमा ९२ जना र दार्चुलामा १६ जना छन् । त्यसपछि क्रमस डडेल्धुरा ७ जना, अछाम ६ जना, बैतडी ६ जना, बाजुरा ५ जना, बझाग ४ जना पक्राउ परेका छन् । डोटीमा भने लागुऔषधकै कारण कोही पक्राउ परेको तथ्याकं प्रदेश प्रहरी कार्यालयसँग छैन् ।

पक्राउ परेका मध्ये अधिकांश १६ देखि २५ वर्ष उमेर समूहका रहेको प्रहरीले बताएको छ । विद्यालय उमेर समूहका युवाहर नै बढी संलग्न देखिएको प्रहरी उपरिक्षक कार्कीले बताएका छन् । पक्राउ परेका मध्ये २२ जना महिला छन् । एक जना भारतीय नागरिक पनि छन् । गएको वर्षको तुलनामा यो वर्ष बढ्दो क्रममा देखिएको छ । गएको वर्ष १२ महिनाको अवधीमा ७ सय ९६ जना पक्राउ गरिएको मध्ये ५ सय ४५ जना विरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

पक्राउ पर्नेहरुबाट चरेश, गाँजा र हिरोइन बरामत हुने गरेको प्रहरी रिपोट छ । सुदूरपश्चिमका पहाडी जिल्लामा चरेश र गाँजा बोकेका युवाहरु बढी पक्राउ पर्ने गरेका छन् । भने तराइको जिल्लामा हिरोइन भेटिने गरेको छ । यो सबै भारतबाट नै निर्याद हुने गरेको प्रहरी उपरिक्षक नवराज कार्कीले बताएका छन् । खुला नाका प्रमुख समस्या भएपनि परिवारको नियन्त्रण बाहिर रहेकाका युवाहरुले जोखिम निम्त्याएको देखिन्छ । 

प्रहरीले ६ महिनाको अवधीमा ५६ किलो गाँजा, ३ सय ५७ ग्राह चरेश र ४ सय ९८ ग्राम हिरोइन बरामत गरेको छ । बाजुरा जिल्लामा समेत भारतबाट लुकाएर लिएको खैरो हिरोइन सहीत १ जना माथि मुद्दा चलिरहेको छ । लागुऔषधमा संलग्न युवाहरुले आफूसँगै आफन्त, नजिकका साथीसंगीलाई समेत सेवन गराउने र लत बसाएर जीवन नै बर्बाद पार्ने गरेको देखिन्छ । 

सामाजिक रूपमा सबैको साथ र सहयोगले मात्र कुलतमा लागेकाहरूलाई सही बाटोमा ल्याउन सकिने प्रहरी अधिकारीहरु बताउँछन् । यो दिनप्रतिदिन बढीरहेको देखिन्छ, नियन्त्रणमा प्रहरी एक्लैको प्रयास मात्रै संभव छैन्, समाज, परिवार र सबैको जिम्मेवारी हुनु पर्छ, प्रहरी उपरीक्षक नवराज कार्कीको भनाई छ । 

यसरी युवा पक्राउ पर्ने क्रमलाई हेर्दा सुदूरपश्चिम लागूऔषध प्रयोगकर्ता र कारोबारीको हटस्पट बन्दै गएको देखिएको छ । विशेषगरी कैलाली र कञ्चनपुरमा यसका सेवनकर्ता र कारोबारी बढीरहेका छन् । सुदूर पहाडमा पनि यसको प्रभाव उत्तिकै छ । तर यसको नियन्त्रणमा भने नेपाल प्रहरी सफल हुन सकेको छैन । 

उसोत कानुनी अड्चन पनि छ । लागूऔषध सम्बन्धी बनेको कानूले प्रयोगकर्तालाई बढीमा ९० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति दिएको छ । त्यसपछि सुधारकेन्द्र पठाउनुपर्ने प्रावधान भएपनि त्यसले नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको देखिदैन् । यतासबै प्रयोगकर्ता सुधारकेन्द्रमा समेत भने जाने गरेका छैनन् । 

प्रहरी नियन्त्रणबाट छुटेकाहरु पुनः लागूऔषध प्रयोगमा नै संलग्न हुन थालेपछि यसको नियन्त्रणमा चुनौति देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । विशेषगरी खैरोहिरोइन, नाइट्रभेट लगायतका लागूऔषध भारतबाट आयात हुने गरेको छ भने गाँजा, चरेश नेपालमै त्यसमा पनि बाजुरा, बझाग, दार्चुला लगायतका जिल्लामा पाइने गरेको छ ।

लागुऔषधकै कारण धेरैका परिवार भत्किएका, घरबार बिग्रीएका र पारिवारीक रुपमा तनाब बढेको अवस्था छ । केही गर्ने जोश जाँगर भएकै युवाहरुले आफ्नो भविष्य बर्बाद पारिरहेका छन् । लागुऔषधको लत बसेपछि छुटाउँनै मुस्कील पर्ने हुँदा धन र स्वास्थ्य दुबैमा असर पर्ने गरेको छ । 
 

प्रतिक्रिया दिनुहोस