बाजुरा : जगन्नाथ गाउँपालिकाले न्यायीक क्षमता विकास अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । न्यायीक समितिका सदस्य र सरोकारवालाको क्षमता विकास गर्ने उदेश्य सहीत ६ दिने अनुशिक्षण कार्यक्रम सुरु गरेको हो ।
पालिकाका ६ वटै वडामा रहेका जनप्रतिनिधी र अन्य सरोकारवाला बाल क्लब, महिला अधिकार मञ्च, युवा सञ्जाल, स्वास्थ्य आमा समूह सहीतलाई क्षमता विकासका लागि अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको पालिका उपाध्यक्ष मरुकला विष्टले जानकारी दिएकी छन् ।
गाउँपालिकाको महिला तथा बालबालिकाको आयोजनामा कार्यक्रम पुस २० बाट सुरु गरिएको हो । वडा स्तरमै पुगेर अनुशिक्षण दिन लागिएको यो पहिलो पटक हो । उपाध्यक्ष मरुकला बिष्टको संयोजकत्वमा न्यायीक समिति सदस्य कर्णवीर नेपाली, लाल बहादुर बिष्ट, वडा कार्यलय जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रतिनिधि, वडाका मेलमिलाप कर्ता सहीत सहभागि छन् ।
पालिकाका उद्यम विकास सहजकर्ता नरहरी बिष्टले सञ्चालन गरेको अनुशिक्षणको सहजिकरण बुढीनन्दा नगरपालिकाका न्यायीक समिति सहजकर्ता प्रदीपराज जैशीले गरिराख्नु भएको छ ।
अनुशिक्षणमा न्यायीक समितिका काम कर्तब्य र अधिकार, वडा र पालिकाले सम्पादन गर्ने र जिम्मेवारी लिनु पर्ने अधिकार क्षेत्र, न्याय सम्पादनमा ध्यान दिनु पर्ने विषय र घटनाको प्रकृति बारे जानकारी गराइने गरिएको छ । भने उजुरी प्रक्रिया, निवेदन लेखन, प्रहरीको सहायता र उजुरी समय बारे पनि जानकारी दिने गरिएको छ ।
जगन्नाथ गाउँपालिकाले सबै वडामा पुगेर पहिलो पटक अनुशिक्षण दिन लागेको पत्रकार धनबहादुर बासीले जानकारी दिएका छन् । न्यायीक अधिकार, न्याय सम्पादन र सामाजिक मेलमिलापलाई ध्यानमा राखेर स्थानीय निकायमा न्यायीक समिति गठन गरिएको छ । उपाध्यक्ष वा उपप्रमुखको संयोजकत्वमा न्यायीक समिति गठन भई न्यायीक सम्पादन हुने गरिएको छ ।
प्रतिक्रिया दिनुहोस