बाजुरा : कोल्टी क्षेत्रका चार पालिकालाई लक्षित गरि इलाका प्रशासन कार्यालय स्थापना गर्न नेकपा बाजुराले सरकारसँग माग गरेको छ । नेकपाका नेताहरुले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न गृह मन्त्रीलाई लिखित माग पत्र बुझाएका छन् ।
नेकपा केन्द्रीय सदस्य एवम् सभासद डबल बहादुर सी भगतसिंह नेतृत्वको टोलिले गृहमन्त्री रमेश लेखकलाई मागपत्र बुझाउदै जिल्लाको कोल्टी क्षेत्रका जनताको भौगोलिक कठिनाइलाई मध्यनजर गरि इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो ।
गृहमन्त्रीमार्फत सरकारलाई बुझाइएको लिखित पत्रमा बाजुरा जिल्ल्ला प्रदेश निर्वाचन क्षेत्र “क” सदरमुकाम मार्तडीबाट अति नै दुर्गम क्षेत्रका रुपमा रहेको, कुल जनसंख्याको ४०% जनता उक्त क्षेत्रमा बसोबास गरिरहेको, सदरमुकाम मार्तडीबाट प्रशासनिक तथा अन्य सेवामूलक सुविधा लिनको निम्ति रु ५ हजार देखि १० हजारसम्म खर्च गरेर २\३ दिनको समय जुटाउनु पर्ने त्यस क्षेत्रका नागरिकहरुको बाध्यता रहेकोले उक्त क्षेत्रमा प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ ।
मागपत्र बुझ्दै गृहमन्त्री लेखकले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालयका बिषयमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको सभासद भगतसिंहले जानकारी दिएका छन् ।
नेकपाले मागपत्रमा सुदुरपश्चिम प्रदेशमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, सेती लोकमार्ग, महाकाली कोरिडर तथा रारालाई बाजुरा हुँदै खप्तड जोड्ने लिंक रोडका कामहरु कार्यान्वयन गर्ने विषय सुस्त अवस्थामा रहेकाले कार्यान्वयनमा गति प्रदान गर्न पनि माग गरेको छ ।
ज्ञापनपत्र बुझाउने टोलीमा लाल बहादुर सी, रमेश महतारा, नैन बहादुर बुढा र शैलेन्द्र उपाध्यायको सहभागीता रहेको थियो । कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय सञ्चालन गर्न जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले बर्षौदेखि माग र अनुरोध गर्दै आएका भएपनि कार्यान्वयन हुन सकेको छैन् ।
प्रतिक्रिया दिनुहोस