बाजुरा : नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव रणबहादुर चन्दले नेपाली राजनीतिमा एमाले बाहेकको विकल्प नहुने बताएका छन् । विचार र विकास दुबै दृष्टीले एमाले देश र जनताका लागि प्रमुख रोजाइको पार्टी बनिसकेको दाबी चन्दको छ ।
एमालेको कारवाहीबाट सदस्यता समेत गुमाएका पार्टीका पूर्व उपाध्यक्ष भीम रावल तर्फ संकेत गर्दै चन्दले पार्टी खोल्ने र दर्ताहुने क्रम भइरहने एमाले प्रतिको माया, मोह र संलग्नता बढ्दै गएको धारणा राखेका छन् ।
पार्टी खोलिहालेपनि पार्टीका इमान्दार र निष्ठावान मान्छेहरु रावलको पछि नजाने दाबी गरेका छन् । एमालेमै भविष्य देखेर लागेर योगदान पुर्याएका आम नेता कार्यकर्ताले कुनै व्यक्ति पछि लाग्ने कुरै नहुने बताएका छन् ।
पार्टी महादिवेशनमा अध्यक्ष लड्नुभो र पराजित हुनुभयो, कार्यकताले अहिलेको समयमा पार्टी नेतृत्व केपी ओलीले नै चलाउन सक्नुहुन्छ भनेर उहाँलाई जिम्मा दिनुभयो, पराजय स्वीकार्न नसक्ने र आफ्ना लागि मात्रै सोचेर हिँड्ने नेतृत्व प्रति विश्वास कार्यकर्तालाई नहुने जिकिर गरेका छन् ।
विचारको बहस हुने, पार्टी नेतृत्वको आलोचना हुने कुरा स्वभाविक हो, लोकतन्त्रको सुन्दर पक्ष नै त्यही हो, तर विधी र विधान विपरित आफ्नो पार्टी संगठन र नेतृत्वकै बद्नाम हुने विषयमा बोलिरहने कुरा जुनसुकै दल वा संस्थाका हितमा नहुने धारणा राखेका छन् ।
सचिव चन्दले इमान र निष्ठाको राजनीति गर्न र सामाजिक सञ्जालको हावाका पछाडि नलाग्न आग्रह गर्दै एमालेका नेता कार्यकर्ता समय, युग र प्रविधी मैत्री भइसकेकोले कोही कसैको उक्साहटमा नलाग्ने बताएका छन् । उहाँले पार्टी जीवनमा अनुशासन उल्लघन गरे कारवाही हुने र राम्रो गरे पुरस्कृत हुने परिपार्टीलाई स्वभाविक रुपमा लिनु पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस