बाजुरा : खप्तड छेडेदह गाउँपालिकाले करिब साढे तीन महिनापछि प्रमुख प्रशासकीय अधिकृत पाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये बरिष्ठ कर्मचारी नन्दबहादुर रावतलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।
पालिकाले बरिष्ठ कर्मचारीको रुपमा कार्यरत नन्दबहादुर रावतलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउने गरि मन्त्रालयमा पठाएको थियो । रावत पालिकाकै स्वास्थ्य शाखा प्रमुख भएर काम गर्दै आएका थिए । मन्त्रालयले शुक्रवार गाउँपालिकालाई पत्र पठाएको छ ।
नेपाल स्वास्थ्य सेवा अधिकृत स्तर छैटौं तहको पदमा कार्यरत रावतलाई गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको जनाएको छ । रावतलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा ४ अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्मका लागि गाउँपालिकाको आर्थिक तथा प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिइएको हो ।
पुष १६ गते बसेको खप्तड छेडेदह गाउँ कार्यपालिकाको बैठकले स्वास्थ्य संयोजक रावतलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको थियो । गृह पालिकाका स्थानीय समेत रहेका रावत गाउँपालिकामा २०७४ साल देखि नै स्वास्थ्य संयोजकका रुपमा कार्यरत थिए ।
पालिका गएको असोज ८ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन थियो । गाउँपालिकामा ७ महिनादेखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत नन्दकृष्ण पाध्याय सरुवा भएर गएपछि पद रिक्त थियो । पाध्याय २०८० माघ २९ गते पालिकामा हाजिर भएका थिए ।
कार्यालय सञ्चालनमा दलिय हस्तक्षेप पालिका भित्रै कर्मचारीको असहयोगका बीच काम नगर्ने मनसाय सहीत गाउँपालिका छोडेका थिए । पाध्यायले असोज ८ गते गाउँपालिका सूचना अधिकारी कृष्णराज जोशीलाई कामकाजको जिम्मेवारी दिएर गएका हुन् ।
करिब साढे तीन महिना पछि गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृतको टुंगो लाएपछि अब विकास निर्माणका काम, योजना, आर्थिक कारोवार लगायतका सबै कामकाज तीव्र रुपले सञ्चालन हुने गाउँपालिका अध्यक्ष दिलबहादुर रावतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस