काठमाडौं : प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशन फागुन २३, २४ र २५ गते विराटनगरमा हुने भएको छ । माघ २५ गतेभित्र जिल्ला अधिवेशन, फागुन ७ गतेभित्र गर्ने गरी प्रदेश अधिवेशनको मिति तोकिएको हो ।
जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको प्रमुख आतिथ्यता, प्रचार तथा प्रकाशन विभाग प्रमुख एवं प्रेस चौतारी नेपालका ईञ्चार्ज राजेन्द्र गौतम, संगठन विभाग सचिव माधव ढुंगेलको आतिथ्यतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशनको मिति तोकेको हो । बैठकमा नेताहरूले सर्वसम्मतिमा नेतृत्व चयन हुने बताएका छन् ।
महाधिवेशन कोशी प्रदेशको औद्योगिक नगरी विराटनगरमा गर्ने निर्णय भएको प्रेस चौतारी नेपालका महासचिव हीरामान लामाले बताउनुभयो । बुधबार सम्पन्न प्रेस चौतारी नेपालको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
अहिले पनि देश र राज्य व्यवस्था विरुद्ध विभिन्न खालका आक्रमण भइरहेको बेला हुन लागेको महाधिवेशनले त्यसलाई चिर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने लामाले बताउनुभयो । ‘श्रमजीवी पत्रकारको साझा संगठनको रूपमा रहेको प्रेस चौतारी नेपालको यो महाधिवेशनले पत्रकारको आन्दोलनलाई अघि बढाउन, देशभरि काम गर्ने पत्रकारको आर्थिक र सामाजिक सुरक्षा एजेण्डालाई स्थापित गर्न तथा राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई थप सुदृढ गराउन महत्पूर्ण भूमिका खेल्ने छ’, लामाले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस