काठमाडौं : नेकपा एमालेबाट निष्कासित भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै झुटा कुरामा लत बसेको आरोप लगाएका छन् । उनले अहिले पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् ।
“तपाईंको झुटा कुराको सहारामा लत बसेछजस्तो छ,” रावलले ओलीप्रति आक्रोश पोख्दै भने, “म ९०४ मतसहित सदस्यमा विजयी भएको थिएँ । मलाई सपथ लिन लगाउनुभएको होइन र ? तपाईंलाई बा भन्नेहरुबाट सपथ लिएन भनेर प्रचार गराइएको होइन र ?”
नेता भीम रावलले एमालेले साधारण सदस्यसमेत खोसेपछि विकल्प खोज्नुपरेको बताएका छन् । रावलले ओलीविरुद्ध उमेदवारी दिँदा पार्टीको साधारण सदस्यता खोसिनेसम्मको अवस्था आएको बताए ।
उनले पार्टी जीवनको ४९ वर्ष र राजनीतिक जीवनको ५१ वर्ष केपी ओलीले खोसेको बताए । रावलले अध्यक्ष ओलीले वार्ताको नाटक गरेर पछि खबर गर्छु भनेकामा खबरसमेत नगरी कारबाही गरेको उल्लेख गरे ।
पार्टीमा रहँदा आन्दोलन, पार्टीको पदाधिकारी र पार्टीबाट सांसद, मन्त्री र शान्ति प्रक्रियामा राष्ट्रलाई केन्द्रमा राखेर काम गरेको भन्दै एमालेले साधारण सदस्यका रूपमा समेत भूमिका खेल्न रोकेपछि विकल्प खोज्न बाध्य भएको उनको भनाइ छ ।
“मलाई अध्यक्षमा उमेदवारी किन दिएको भनेर प्रश्न गर्नुभयो । तपाईंलाई त्यही प्रश्न गर्न चाहन्छु, तपाईंले झलनाथ खनालविरुद्ध सातौँ महाधिवेशनमा र माधवकुमार नेपालविरुद्ध तपाईंले किन उमेदवारी दिएको ?,” रावलले भने, “के पार्टी अध्यक्षमा निश्चित भूगोल र शिक्षाको सीमा भएकाले मात्र उमेदवारी दिने हो ?”
(एमाले)को कारबाहीमा परेका भीम रावलले ’अनुशासनहीन पात्र’ केपी शर्मा ओलीले आफूमाथि अनुशासनको कारबाही गरेको बताएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर रावलले पार्टीमा सबैभन्दा अनुशासन नभएको पात्रले नै आफूलाई कारबाही गरेको बताए ।
उनले माधव नेपालविरुद्ध देशभर छाया कमिटी निर्माण गर्ने, केन्द्रीय कमिटिको बैठकमा ढिलो उपस्थित हुने, सबैभन्दा धेरै लामो समयसम्म बोल्ने र आफूले बोलिसकेपछि अरूका कुरा नै नसुनेर बैठक छोडेर ओली हिँड्ने गरेको बताए ।
त्यस्ता गतिविधि गरेर पार्टीमा बस्ने ओलीले भने आफूलाई अध्यक्षमा उमेदवारी दिएकै आधारमा कारबाही गरेको बताए । उनले पार्टीमा कसैले उमेदवारी दिन नहुने कहाँको अनुशासन हो भन्दै प्रश्न पनि गरे ।
उनले ओलीसँगको वार्ताका क्रममा राखेका विषयमा सकारात्मक भएका ओलीले खबर गर्छु भनेर पनि खबर नै नगरी कारबाही गरेको उल्लेख गरे । उनले स्पष्टीकरणमा उठाएका हचुवा प्रश्नमा आफूले उठाएका प्रश्नको जवाफ एमालेले नखोजेको बताए । पार्टीका सातजना स्थायी किमिटी सदस्यको मतको पनि सुनुवाइ पनि नगरी अध्यक्षले हठका आधारमा कारबाही गरेको रावलको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस