बाजुरा : नेपाली काँग्रेसले देशभर राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । ४९ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा देशव्यापी रुपमा विचार गोष्ठी देखि अन्र्तक्रिया कार्यक्रम आयोजना गरिएका छन् ।
नेपाली काँग्रेस बाजुराले पनि कार्यक्रम आयोजना गरेको छ । विचार गोष्ठी तथा छलफल कार्यक्रम आयोजना गरि नेपाली काँग्रेसले मेलमिलाप दिवस मनाएको हो । नेताहरुले मेलमिलाप र एकता आजको आवश्यकता भएको धारणा राखेका छन् ।
देशमा लोकतन्त्रको रक्षा, विकासको प्रत्याभूति र सुशासनका लागि पनि सबैबीचको एकता र मेलमिलाप जरुरी हुने नेताहरुको दाबी छ । काँग्रेस र एमाले बीचको सत्ता समिकरण पनि त्यसैको उपज भएको र देशलाई राजनीतिक स्थायीत्व, विकास र सुशासन दिन मद्दत पुग्ने विश्वास नेताहरुको छ ।
काँग्रेस नेता पूर्व बाजुरा जिल्ला सभापति कविराज पण्डितले एकतालाई नै प्रमुख एजेण्डा बनाएर घर, समाज र देशमा सबैमिल्नुको विकल्प नरहेको बताएका छन् । जनता बीच मेलमिलाप र सामाजिक सद्भावका लागि एकता, दलबीचको विकास र सुशासनका लागि एकता आवश्यक रहेको दाबी गरेका छन् ।
नेकपा एमालेका संगठन विभाग प्रमुख तथा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले देशमा आएका समस्याहरुको समाधानका लागि एकता र मेलमिलाप नै आवश्यक रहेको बताएका छन् । खड्काले एकता नै बल भएकोले सिंगो देश र जनताको बलले विकास निर्माणमा सघाउ पुग्ने विश्वास व्यक्ति गरेका छन् ।
नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष पुरबहादुर रावतले विपी राजनीतिज्ञ मात्र नभइ एक क्रान्तिकारी साहित्यकार भएकाले राजनीतिक विचारमै मेलमिलाप सद्भाव र सहकार्यको सन्देश देखिने गरेको बताएका छन् । रावतले विपीको मेलमिलाप नीति आजका दिनमा पनि उत्तिकै आवश्यक र जरुरी रहेको धारणा राखेका छन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता चन्द्र थापाले पनि मेलमिलाप र एकतामै जोड दिएका थिए । नेपाली काँग्रेस बाजुराका सभापति रामसिंह रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा जिल्ला स्थित चारवटै दलका नेताहरुको सहभागिता रहेको थियो । काँग्रेस पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन उपसभापति पदम बडुवालले गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस