शनिबार, ०६ पुष २०८१

मार्तडी कोल्टी बस सञ्चालन गर्न बाजुरा प्रशासनको अनुमति, मौसमजन्य प्रकोपको पूर्व तयारी थाल्ने निर्णय

बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुराले मार्तडी कोल्टी बस सेवा सञ्चालनको लागि अनुमति दिने निर्णय गरेको छ । यातायात व्यवस्थापन विभाग र अन्य सबैनिकायसँगको परामर्श पनि नियमित बस सेवा सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् ।

बाजुराको सदरमुकाम मार्तडीसम्म मात्रै बस सेवा सञ्चालन हुने गरेको छ । कर्णाली करिडोरको बाटो भएर पीलुचौर, धुलाचौरसम्म बस सञ्चालन भइरहेपनि मार्तडी कोल्टी सडकमा अझै सेवा सञ्चालन भएको छैन् । केही बसहरु संस्थागत प्रयोजनका लागि सञ्चालन गरिएपनि यातायात समितिले बाटोको जोखिम देखाएर सञ्चालन गरेका छैनन् ।

बस व्यवसायी समितिको अनुरोध र सम्बन्धीत पक्षसँगको पराशर्म पछि सञ्चालनका लागि अनुमति दिने निर्णय गरिएको हो । जिल्ला विपद व्यवस्थापन समितिको बैठकमा सम्बन्धी सरोकारवाला सहीत सर्वपक्षिय उपस्थितिमा निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताएका छन् । 

बाटोको जोखिमबारे यातायात समितिकै तर्फबाट प्राविधिक अध्ययन गरेपछि नियमित सञ्चालनमा ल्याइने बताइएको छ । प्रशासनले सञ्चालन योग्य बाटो बनेको जानकारी पछि अनुमतिका लागि निर्णय गरेको हो । समिति संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारी पाध्यायकै अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपदको पूर्व तयारी बारे छलफल गरेको छ । 

चिसो मौसममा आउन सक्ने जोखिम र विपद व्यवस्थापन समितिले गर्ने पूर्व तयारी बारे छलफल गरिएको र सम्बन्धीत निकायलाई तयारीका लागि निर्देशन समेत दिने निर्णय गरिएको छ । बाजुरा हिमाली जिल्ला भएकोले चिसोको समस्या हुने गरेको छ । 

समितिको बैठकले भुकम्प पीडितको आवास निर्माणका लागि थप ९ करोड बजेट र मौसमजन्य विपदबाट पीडितका लागि थप १५ करोड बजेट माग गर्ने निर्णय समेत गरेको छ । पीडित परिवारको हकमा हालसम्म पहिलो किस्ता वापतको २५ हजार बुझाएपनि बाँकी रकम दिएको छैन् ।

विपद व्यवस्थापन समितिको बैठकले जिल्लामा निर्माणाधिन अवस्थामा रहेका निर्माणका कामलाई गतिदिन सम्बन्धीत निर्माण व्यवसायीलाई ताकेता गर्ने र बेवास्ता गरे कानुन अनुसार अघि बढ्ने निर्णय गरेको छ । निर्माणको कामको ढिलाई र ठेकेदारको लापरवाही बारे हरेक बैठकमा छलफल हुदै आएको छ । 

बैठकमा प्रमुख जिल्ला अधिकारी सहीत जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, त्रिबेणी नगरपालिका उप प्रमुख कमला न्यौपाने, स्वामिकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकाया, गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापा, जगन्नाथ गाउँपालिकाका प्रबक्ता गणेश गिरी र खप्तड छेडेदह गाउँपालिकाका प्रतिनिधी सहभागि थिए । 

यसैगरी दलका तर्फबाट नेकपा एमाले बाजुराका अध्यक्ष लाल बहादुर ओली, नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति पदम बडुवाल, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, सडक डिभिजन कार्यालयका प्रतिनिधी, पूर्वाधार विकास कार्यालयका ईन्जिनियर जंग थापा सहीत सहभागि थिए ।
 

प्रतिक्रिया दिनुहोस