बाजुरा : बडीमालिका नगरपालिकाले नगर स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गरेको छ । पालिकाको ३ नम्बर वडा रजालीमा रहेको चोयाकोट माविमा शिल्ड आयोजना गरेको खेलकुद विकास समिति संयोजक राजेश पायल विकले जानकारी दिएका छन् ।
पालिका स्तरीय रनिङ शिल्डको नगर प्रमुख अमर खड्काले औपचारिक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । तीदिनसम्म चल्ने शिल्डमा पालिका भित्रका नौ वटा माध्यमिक विद्यालय सहभागि छन् । मालिका नमुना माविमा आयोजना हुदै आएको रनिङ शिल्ड यो वर्ष चायोकोट मावि रजालीमा आयोजना गरिएको हो ।
भव्य व्यवस्थापन, लोभलाग्दो विद्यालयको खेल संरचना र उचित व्यवस्थापनको जिम्मेवारी लिन चोयाकोट मावि तयार भएपछि पालिकाको केन्द्र मार्तडी बाहिरको विद्यालयमा आयोजना गरिएको नगरपालिकाले बताएको छ । चोयाकोट माविको प्याराफिट सहीतको भव्य संरचनालाई विद्यालयले लोभलाग्ने गरि सजाएको अवस्था छ ।
खेलकुद विकास समिति संयोजक राजेश पालय विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख अमर खड्का रहेका थिए । विद्यालयका प्रअ गोरख थापाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न साँस्कृतिक झाँकी, मार्चपास, स्थानीय रैथानी बाली र फलफूल बालीको प्रर्दशनी र स्वागत, स्थानीयको देउडा सहीतको प्रस्तुती गरिएको थियो ।
नगर प्रमुख अमर खड्काले खेलकुदको विकासले शैक्षिक सुधार, संरचना विकास र स्वयम व्यक्तित्व विकासमा समेत प्रत्यक्ष प्रभाव राख्ने भएकोले पालिका खेल क्षेत्रको विकासमा प्रतिवद्ध रहेको बताएका छन् । रनिङ शिल्डको झल्को कुनै क्षेत्रीय र राष्ट्रिय क्षेत्रीय खेलकुद आयोजना भन्दा कम नगरिएको भन्दै विद्यालयलाई धन्यवाद दिएका छन् ।
नगर उपप्रमुख नन्दा कुमारी थापाले खेलक्षेत्र नै आजको युगको शान, मान र पहिचान भएकोले सयै राष्ट्रिय खेलाडी उत्पादनको संकल्प लिएर खेलाडी उत्पादन गर्नमा सहयोग गर्न विद्यालयलाई आग्रह गरेकी छन् । पुनम रावल र सरिता नाथ जस्ता देशका सम्पती बडीमालिकाले उत्पादन गर्न पाउनु गौरवको कुरा भएको भन्दै थापाले सयै सरिता र पुनमहरु जन्माउनु पर्नेमा जोड दिएकी छन् ।
खेलकुद विकास समिति अध्यक्ष राकेश थापा, नगर प्रवक्ता धर्मराज पाध्याय, प्रमुख प्रशासकीय अधिकृत पदम माझी, नेपाल नेपालका कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकाया सहीतले मन्तव्य राखेका थिए । उहाँहरुले खेल आयोजना व्यवस्थापन प्रति प्रशंसा गर्दै राष्ट्रिय खेलमा भाग लिन सक्ने खेलाडी बडीमालिकाले उत्पादन गर्नु पर्नेमा जोड दिएका छन् । शिल्ड उद्घाटन समारोहमा नौ वटै वडा अध्यक्ष, सिंगो नगर कार्यपालिकाका सदस्यहरु, शिक्षक, विद्यार्थी, विव्यस सहीत सहभागि थिए ।
बडीमालिका जिल्ला स्तरीय रनिङ शिल्डको विजेताको प्रमुख दाबेदार हो । विगतको १३ वटा आयोजनामा बडीमालिका र त्यसैमा मालिका माविले एकछत्र उपाधीमा राज गरेको थियो । गएको वर्ष बुढीनन्दा नगरपालिकामा आयोजना गरिएको शिल्डमा मात्रै १ अंकले शिल्ड गुमाउन बाध्य बडीमालिकाले यो पटक शिल्ड जित्ने गरि तयारी थालेको छ । यो वर्ष बुढीगंगा नगरपालिकाले शिल्ड आयोजनाको जिम्मा लिएको छ ।
प्रतिक्रिया दिनुहोस