बाजुरा : बडीमालिका नगरपालिकाले आयोजना गरेको पाँचौ राष्ट्रपति रनिङ शिल्डका अतिथीलाई रजाली बासीले कृषिबालीको माला सहीत सम्मान गरेका छन् । तरकारी खेतीका लागि पकेट क्षेत्रका रुपमा रहेको रजालीका स्थानीयले रनिङ शिल्डका अतिथीलाई सम्मान स्वरुप फलफूल सहीतका बालीको मालाले स्वागत गरेका हुन् ।
शिल्डमा पुग्ने सबैजसोका लागि स्थानीय सयपत्री बाहेक टमाटर, खुर्सानी, कागती, आलु, गाजर, मुला, सुन्तला, मौसमी, बन्दा, रायो सहीतका बालीका मालाले स्वागत सम्मान गरेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन र प्रचारका लागि रजानी बासी कृषिबालीका मालाले स्वागत गरेको चोयाकोट माविका विव्यस अध्यक्ष कृष्णबहादुर खड्काले बताएका छन् ।
रजाली तरकारी खेतीका लागि जिल्लाकै पकेट क्षेत्र हो । रजालीका स्थानीयले बर्षेनी ३ करोड बढीको तरकारी मात्रै उत्पादन गर्ने गरेका छन् । आफ्नै वडाको विद्यालयले रनिङ शिल्ड जस्तो ठूलो आयोजना गरेपछि स्थानीयले खुसी सहीत कृषि बालीको मालाको उच्च सम्मान गरेको वडा अध्यक्ष डबल रोकायाले बताएका छन् ।
शिल्डको उद्घाटन समारोहमा सहभागि हुन पुगेका सयैंको संख्याका अतिथीका लागि कृषि बालीकै माला तयार अवस्थामा थिए । नौ विद्यालयको मार्चपास बाहेक स्थानीय आफ्ना साँस्कृतिक झाँकी, देउडा सहीतको स्थानीय पहिचान झल्किने नाचहरु प्रर्दशन गरेका थिए । प्याराफिट सहीतको व्यवस्थीत विद्यालयको खेल मैदानमा स्थानीयले अतिथीलाई मनजित्ने गरि सेवा, सत्कार र मनोरञ्जन दिएका थिए ।
घाँटीमा राखिएका कृषि बालीका माला सहभागि अतिथीहरुले बोकेरै घर लिएर आएका छन् । तरकारी खानका लागि समेत प्रयोग हुने र किसानको मेहनतको समेत सम्मान हुने गरि बोकेर घरमै ल्याएको उनीहरुको तर्क छ । नगर प्रमुख अमर खड्काको रजाली आफ्नै गृह वडा हो ।
तरकारी सहीतका कृषि बालीको मालाको सम्मानले फरक सन्देश र यादगर हुने काम गरेको भन्दै नगरपालिकाले स्थानीयलाई धन्यवाद दिएका छन् । उत्पादनमै जोड दिनु पर्ने नगरको नीति अनुरुप नै रजाली बासीको मेहनत देखिएकोमा नगर प्रमुख अमर खड्का, उपप्रमुख नन्दा कुमारी थापा सहीत अतिथीपनि खुसी भएका छन् ।
प्रतिक्रिया दिनुहोस