बाजुरा : बडीमालिका नगरपालिकामा विद्यालय केन्द्रीत रुपान्तरण कक्षा सञ्चालन गरिएको छ । किशोर किशोरी क्षमता विकास, शसक्तिकरण र जागरणका लागि विद्यालय समय बाहेक रपान्तरण कक्षा सञ्चालन गरिएको छ । पहिलो चरणमा पालिकाका ३ वटा वडाका ३ वटा विद्यालयमा सुरुवाद गरिएको हो ।
नगरपालिकासँगको समन्वय, पीसविन र युएनएफपीएको सयुक्त सहकार्यमा रुपान्तरण कक्षा सञ्चालन गर्ने गरिएको छ । हप्ताको २ देखि ३ दिन विद्यालय समय बाहिर कक्षा सञ्चालन गर्ने गरिएको सहजकर्ता गणेश तिमिल्सेनाले जानकारी दिएका छन् । गएको साउन देखि लक्ष्मी मावि जिल्ली, सत्यवादी मावि भौनेर र चोयाकोट मावि रजालीमा रुपान्तरण कक्षा सञ्चालन भइरहेका छन् ।
किशोर किशोरी सशक्तिकरण, व्यक्तिगत क्षमता विकास र आर्थिक उपार्जनका उपाय बारे सचेतना दिने गरिएको पीसविन पालिका अधिकृत कृष्ण बोहराले बताएका छन् । विद्यालयको सिकाइ र शिक्षामा थप कक्षा सञ्चालन गरि सामाजिक असमानता र विभेदका विरुद्ध सचेत र जिम्मेवार बनाउन कक्षा सञ्चालन गरिएको बोहराको भनाई छ ।
कक्षामा २५ जनाका दरले विद्यार्थी राख्ने गरिएको छ । कक्षा ७ देखि १० सम्मका किशोर उमेरका विद्यार्थीलाई कक्षामा राख्ने गरिएको छ । पालिकाका ३ वटा विद्यालयका १ सय ५० बढी किशोर किशोरी रुपान्तरण कक्षामा आवद्ध छन् । एउटा कक्षामा १२ देखि १३ जना केटा र १२ देखि १३ जना केटी राख्ने गरिएको छ । पालिकासँगकै सहकार्यमा विद्यालयमा २ जनाका दरले सहजकर्ता पनि राखिएको छ ।
एक समूहलाई लगातार ३० वटा रुपान्तरण कक्षा दिने गरिएको छ । भने बाँकी नअटाएर र कक्षामा समावेश नभएकाहरुलाई अर्को सिफ्टमा अवसर दिने गरिएको छ । कक्षा सञ्चालनबाट किशोरी किशोरी स्वयम थप जिम्मेवार र जानकार बनेको देखिन्छ । उनीहरुसँगै घरका आमा बुबालाई समेत थप प्रशिक्षण कक्षा र सामुहीक कक्षा सञ्चालन गर्ने हुँदा घरपरिवारको वातावरणमा पनि सुधार आएको भन्छन्, पीसविन कार्यक्रम प्रबन्धक धर्मबहादुर रोकाया ।
अभिभावकलाई समेत सँगै राखेर प्रशिक्षण दिने, थप जिम्मेवार बनाउँने र सामाजिक कुमान्यताका विरुद्ध सचेत गराउने गरिएको छ । सशक्त महिला, समृद्ध नेपाल परियोजना अन्र्तगत कक्षा सञ्चालन गरिएको छ । कक्षा सञ्चालन पछि थोरै भएपनि सुधार आएको बडीमालिका नगरपालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् ।
संख्यामा कम बढीको मात्रै कुरा हो, बाल विवाह र छाउ कुप्रथाले समाजमा जरो गाडेकै अवस्था छ । घरमा छोरा छोरी बीचमा नदेखिने गरि विभेद हुने गरेकै थियो । गृहकार्यका लागि समेत समय नदिने अभिभावकहरु थिए, रुपान्तरण कक्षा पछि सुधार देखिएकोमा अध्यक्ष पाध्याय खुसी छन् ।
विद्यालय शिक्षाले मात्रै सबै विषयमा ज्ञान हुदैन् थियो, रुपान्तरण कक्षाले जीवनमा धेरै कुरालाई सुधार गर्न सिकाएको भन्छन्, रुपान्तरण कक्षामा सहभागि किशोर गणेश विक । विद्यालयबाट घर गएलगत्तै काम मात्रै गर्नु पर्ने अवस्था थियो, सबैकुरामा ज्ञान पनि थिएन्, रुपान्तरण कक्षाले बाल विवाह, छाउ कुप्रथा, लैङ्गिक विभेद बारे राम्रो ज्ञान आर्जन गरेको गणेश विकले बताएका छन् ।
रुपान्तरण कक्षाले किशोर किशोरीलाई मात्रै सचेत गराएको छैन् । अभिभावक समेत सचेत र जिम्मेवार बनेका देखिन्छन् । कम्तीमा पालिका भित्रका १ सय ५० बढी परिवारका सदस्यले पनि रुपान्तरण कक्षामै सहभागि भएर परिवर्तनका लागि वचन दिएका छन् । धेरैले व्यवाहारमा समेत उतारिसकेका छन् ।
तालिममै सहभागि हुने हुँदा थप जिम्मेवार र सचेत भइयो, छोराछोरी भनेको मात्रै कम मान्ने गरेका थियौं, आफै सहभागि भएपछि कार्यान्वयन गर्ने गरेको भन्छन्, धनलाल जैशी । जैशीले छोरी महिनाबारी हुँदा घरमै बसाउने गरेका छन् । गाई भैसीको दही दुध समेत नदिने गलत मान्यता विरुद्ध आवाज उठाउने गरेका छन् ।
किताब पढ्नु भन्दा बढी ज्ञान यो कक्षा बाट मिलेको भन्छन्, बडीमालिका ७ जिल्लीका चुफे ल्वार । उनले बाल विवाह गराउने कुरा सोच्न पनि सकिन्छ, अब छाउप्रथा मान्ने, छोरी छोरी विभेद गर्ने कुराबाट पनि टाढै रहने बताउँछन् । मोबाइल प्रयोगले आफै बिग्रीन्छन्की, भन्नेमा भने चुफे ल्वारको चिन्ता छ ।
बाल विवाह होस्, की, छाउ कुप्रथा, कानुन विपरित कार्य हो । नेपालको कानुनले गैर कानुनी कार्य मानेर नै ऐन नियम र कानुन बनाएको छ । तरपनि गाउँमा त्यो समस्या अझै देखिरहेको छ । त्यसका विरुद्धको अभियानका रुपमा रुपान्तरण कक्षाले सकारात्मक भूमिका खेल्ने भन्छन्, बडीमालिका शिक्षा शाखाका प्रमुख रामबहादुर कटुवाल ।
कक्षामा सहभागि किशोर किशोरीले छाउ कुप्रथा र बाल विवाह विरुद्धको अभियानमा अभियान्ताकै रुपमा देखिने गरेका छन् । यो कक्षा यस अघि खप्तड छेडेदह गाउँपालिकामा पनि सञ्चालन गरिएको थियो । सिंगो पालिकाकै बाल विवाह रोक्न, छाउ कुप्रथा हटाउन र किशोर किशोरी जागरणका लागि राम्रो भूमिका खेलेको पालिका अध्यक्ष दिलबहादुर रावत भन्छन् ।
पालिकाले सचेतना शिक्षा र अभियानलाई रुपान्तरण कक्षा मार्फत निरन्तरता दिन सके थप प्रभावकारी हुने विश्वास पीसविन केन्द्रीय समिति कोषाध्यक्ष पार्वती जोशीको छ । छाउ कुप्रथा हटाउने, बाल विवाह रोक्ने, पढाइप्रति किशोर किशोरीको आकर्षण बढाउने र विवाह प्रति जिम्मेवार र कुमान्यता प्रति सचेत बनाउने गरि रुपान्तरण कक्षा सञ्चालन हुने गरेका छन् ।
रुपान्तरण कक्षा र अन्य सचेतना मुलक गतिविधीले बाल विवाह रोकिएको, छाउ कुप्रा प्रतिको गलत धारणामा कमी आएको, विद्यालय नियमितता समेत बढेको तथ्याकं पालिकासँग छ । पालिकामा बाल क्लब, किशोरी सञ्जाल, पालिका र अन्य गैर सरकारी निकाय सबै सक्रिय छन् ।
प्रतिक्रिया दिनुहोस