शनिबार, ०६ पुष २०८१

उपनिर्वाचनले बाजुरा प्रतिको धारणा बदल्न सहयोग पुगेको एमालेको दाबी

मतमा एमालेले जितेपनि राजनीतिक संस्कारमा सबैले जितेको अध्यक्ष ओलीको भनाई

बाजुरा : नेकपा (एमाले) बाजुराले स्वामिकात्र्तिक खापर गाउँपालिकामा भएको उपनिर्वाचनले बाजुरा प्रतिको धारणा बदल्न सहयोग पुगेको दाबी गरेको छ । पार्टी अध्यक्ष लालबहादुर ओलीले प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बाजुरामा विवाद रहीत चुनाव हुने गरेको मान्यता स्थापित भएको बताएका छन् ।

हरेक चुनावमा सुरक्षा निकाय देखि कर्मचारी प्रशासन र मतदाता विवाद हुने भन्दै त्रासको वातावरणमा मतदानमा सहभागि हुने गरेको प्रचार हुदैं आएको थियो । यो पटक कुनै अवरोध, कुनै विरोध र विवाद नभई चुनाव सम्पन्न भएको एमाले बाजुराका अध्यक्ष लालबहादुर ओलीको भनाई छ । 

उपनिर्वाचनको पूर्व सध्यामा बाजुराका चार राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनाव शान्त, सभ्य र विवाद रहीत गर्ने गरि तीन बुँदे समझदारी पनि भएको थियो । बाजुरा विवाद विना कुनै चुनाव नभएको इतिहास जस्तै प्रचार हुने गरेको छ ।

जिल्लालाई हत्या, काटमार र बुथ कब्जा गर्छन् भन्ने जबरजस्त गलत भाष्य सिर्जना गर्ने बाह्य हल्लालाई स्वामीकार्तिकमा भएको उपनिर्वाचनले अन्त्य गरेको अध्यक्ष ओलीको दाबी छ । 

२०७९ सालको संघ र प्रदेशको निर्वाचन र २०७९ सालकै बुढीगंगा नगरपालिकाको स्थानीय तह निर्वाचनको सन्देश देश व्यापी गलत तरिकाले फैलिएको थियो । बिशेषगरी काँग्रेस र एमालेले आफु अनुकूलका बुथहरु कब्जा गर्ने, कमजोरी पक्षलाई कुटपिट गर्ने र मतदानमा खटिएका कर्मचारीलाई समेत धम्की दिने, आक्रमण गर्ने गरेको आरोपको अन्त्य गर्ने भूमिका आफ्नो पार्टीले खेलेको धारणा राखेका छन् ।

ओलीले मतदानबाट मतदाताले एमालेलाई जिताएपनि, मतदानको संस्कार र शान्तिपूर्वक सम्पन्न हुने विषयले सिंगो जिल्लालाई सकारात्मक सन्देश मार्फत जिताएको टिल्पोणी गरेका छन् । विचारको बहस गर्ने समयमा पनि हिंसा र कुटपिटको शैली अपनाउने कुरा लोकतान्त्रिक, मानव अधिकार र सामाजिक न्यायको सिद्धान्त विपरित भएको निष्कर्षलाई शीरमा राखेर पार्टी अघि बढ्ने उल्लेख गरेका छन् ।

कमजोरी देखाएर भए नभएको कुरालाई अपवाह फैलाएर जिल्लाको गलत थिति बसाउने गरी, राजनीतिक संस्कार सहितको दलीय व्यवहार गर्न सकारात्मक सन्देश उपनिर्वाचनले दिएको ओलीको भनाई रहेको छ । 

बाजुरालाई बद्नाम भन्दा विकासको जिल्लाको रुपमा परिचित गराउने कार्यमा सबैले जिम्मेवार र जवाफदेही हुनु पर्ने जिकिर अध्यक्ष ओलीको छ । सबै राजनीतिक दलहरुको बीचमा समझदारी गरेर विकास निर्माणका काम गर्दै आगामी निर्वाचनमा उच्च स्तरको लोकतान्त्रिक वातावरण निर्माण गर्न दलका बीचमा समय समयमा छलफलको आयोजना गरी उच्च राजनीतिक संस्कृतिको निर्माण गर्ने आफुहरु लाग्ने सचिव काँशी विकले बताएका छन् ।

गत विगतमा भएका निर्वाचनबाट राजनीतिक क्षति व्यहोरोको स्मरण गर्दै स्वामीकार्तिक खाप गाउँपालिकामा भएको उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गर्न संलग्न मतदाता, राजनीतिक दल, कर्मचारी, सुरक्षाकर्मी र पत्रकार लगायत सबैलाई धन्यवाद दिईएको छ ।

पार्टीका तर्फबाट उम्मेदवार बनेकी सुलोचना कुमारी भण्डारी बुढालाई बधाई सहित नेपाली काँग्रेसबाट उपविजेता बनेकी पुल्तीसरा शाही र एकीकृत समाजवादीका जवा शाहीलाई पार्टीका तर्फबाट सहानुभूति व्यक्त गरेको छ । 

महान, चुनौतीपूर्ण, सुन्दर, परिणाममुखी राजनीतिक निर्णयका साथ सहकार्य गरेकोमा नेकपा (माओवादी केन्द्र) स्वामीकार्तिक खापर गाउँ कमिटीलाई उच्च सम्मान व्यक्त गरिएको प्रेस वक्तव्य मार्फत भनिएको छ ।

उपनिर्वाचनमा खटिने केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी पदाधिकारी तथा सदस्य, जिल्ला कमिटी, गाउँ कमिटी, सबै राजनीतिक दललाई धन्यवादका साथ एमाले बाजुरा “राजनीतिक स्वस्थ वैचारिक प्रतिस्पर्धा विकासमा बृहत् एकता” अभियान चलाएर जिल्लामा राजनीतिक सद्भाव, सामाजिक सदाचार, सुशासन, न्याय, शान्ति, जनताको खुसी र समृद्धिको नेतृत्व गर्न प्रतिवद्ध हुने भएको छ ।

प्रेस चौतारी नेपाल जिल्ला समिति बाजुराका सचिव रमित विकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथी नेकपा (एमाले) जिल्ला कमिटी बाजुराका अध्यक्ष लालबहादुर ओली रहेका थिए ।  

पत्रकार भेटघाट कार्यक्रममा पार्टी उपाध्यक्ष जनक कुमार बोहरा, सचिव काँशी विक, संगठन विभाग प्रमुख अमर खड्का, शिक्षा विभाग प्रमुख देवु खाती, पूर्व जिल्ला कमिटी सदस्य मैना चदाँरा लगायत पत्रकारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस