बाजुरा : सुदूरपश्चिम प्रदेशमा उपाध्यक्षसहित चार वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सम्पूर्ण मत परिणाम सार्वजनिक भइसकेको छ । सबै वडाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी हुँदा एउटा उपाध्यक्ष भने एमाले उम्मेदवार विजयी भएका छन् ।
यहाँ माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले सन्तोषजनक मतमै चित्त बुझाउनुप¥यो ।
कञ्चनपुरको भीमदत्त नगरपालिका– ६, दार्चुलाको दुहु गाउँपालिका– ५, डोटीको पूर्वीचौकी गाउँपालिका– ६ र बझाङको सुर्मा गाउँपालिका– ४ मा कांग्रेसले जित हात पारेको छ । यसअघि २०७९ को निर्वाचनमा सुर्मा गाउँपालिका– ४ मा एमालेले जितेको थियो । दुहु गाउँपालिका– ५ मा भने माओवादी केन्द्रले जित हात पारेको थियो ।
एमाले र माओवादीले जितेको एकएक वडा र कांग्रेसले जितेका दुई वडा गरी चारै वटामा यस पटक कांग्रेसले बाजी मारेको छ । २०७९ सालको स्थानीय निर्वाचनमा एमालेका सर्जन बोहरा सुर्मा– ४ मा वडाध्यक्ष निर्वाचित भएका थिए । बोहरा ६२९ मतसहित निर्वाचित हुँदा कांग्रेसका लोकबहादुर बोहराले ६०४ मत पाएका थिए ।
२०८० जेठमा वडाध्यक्ष बोहराको मृत्यु भएपछि उपनिर्वाचन हुँदा यहाँ कांग्रेसका धीरेन्द्र पुजारा विजयी भए । पुजाराले ६५७ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लखिचन्द्र बोहराले ४८७ मत प्राप्त गरे । नेकपा माओवादी केन्द्रका पुष्कर बोहराले १७ मतमात्रै पाए ।
दार्चुलाको दुहु गाउँपालिका– ५ मा कांग्रेसले माओवादी केन्द्रबाट वडा अध्यक्ष पद खोसेको छ । २०७९ मा माओवादी केन्द्रका मनोरथ भट्ट वडाध्यक्ष निर्वाचित भएका थिए । उनको २०८० असारमा मृत्यु भएपछि उपनिर्वाचन हुँदा कांग्रेसका धनसिंह कुँवर वडाध्यक्षमा विजयी भएका छन् ।
कुँवर ३७६ मत प्राप्त गरी विजय हुँदा उनका प्रतिस्पर्धी नेकपा एमालेका मानसिंह बडालले ३५८ मत पाएका छन् । यस्तै नेकपा माओवादी केन्द्रका वीरसिंह कार्कीले ९८ मत र स्वतन्त्र उम्मेदवार लालसिंह कुँवरले २५ मत प्राप्त गरेका छन् ।
डोटीको पूर्वीचौकी गाउँपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका मोहन थापा निर्वाचित भएका छन् । थापा ४६८ मतका साथ निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३०१ मत पाएका छन् । नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत पाउँदा रास्वपाकी जानकी खड्का कुँवरले ३१ मत पाएकी छन् ।
२०७९ सालको निर्वाचनमा पनि त्यहाँ कांग्रेस नै विजयी भएको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको २०७९ मंसिरमा मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।
उता कञ्चनपुरमा कांग्रेसले विरासत जोगाएको छ । भीमदत्त नगरपालिका– ६ को वडाध्यक्षमा कांग्रेसका प्रकाश चन्द विजयी भएका छन् । चन्द १,१०७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर चन्दले ४८७ मत पाएका छन् ।
२०७९ सालको निर्वाचनमा कांग्रेसबाट विजयी महेन्द्र खड्काको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो ।
अघिल्लो पटक कांग्रेसले जितेको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा यस पटक एमालेकी सुलोचना भण्डारी बुढा निर्वाचित भएकी छन् ।
आइतबार सम्पन्न उपचुनावमा भण्डारीले कांग्रेस उम्मेदवार पुल्तीसरा शाहीलाई पराजित गर्दै उपाध्यक्ष जितेकी हुन् । भण्डारीले १,७४० मत ल्याएर जित्दा उनका निकटतम प्रतिद्वन्द्वी शाहीले १,४७४ मत पाइन् । २६६ मतान्तरले भण्डारीले जित हात पारिन् । नेकपा एकीकृत समाजवादीका जवा शाहीले ५५३ मत पाइन् ।
बाजुरामा एमाले उम्मेदवारलाई साथ लिँदै माओवादी उम्मेदवार राजु विकले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । गाउँ कमिटीले एमालेलाई नै जिताउने निर्णय गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको थियो ।
राजकुमारीलाई उम्मेदवारी फिर्ता गराउने कार्यको नेतृत्व भने माओवादी बाजुरा जिल्ला सचिव रमेश विश्वकर्मा साहसीले गरेका थिए । यद्यपि माओवादी जिल्ला संयोजक देवीचन्द्र बुढाले आपत्ति जनाएका थिए । पार्टी केन्द्रको निर्देशनविपरीत सत्तारुढ पार्टीलाई समर्थन गरेको भन्दै कारबाहीको चेतावनीसहित संयोजक बुढाले वक्तव्य जारी गरेका थिए ।
जिल्ला संयोजक बुढाकै पक्षमा प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले वक्तव्य जारी गर्दै एकीकृत समाजवादीका उम्मेदवार जवा शाहीलाई मतदान गर्न निर्देशन दिएका थिए, तर त्यति हुँदा पनि माओवादीको गाउँ कमिटीले एमालेलाई साथ दिएको थियो ।
अघिल्लो निर्वाचनमा पनि एमालेबाट सुलोचना बुढा भण्डारी नै उम्मेदवार थिइन्, तर कांग्रेसकी मैनादेवी जोशीसँग १७३ मतान्तरले पराजित भएकी थिइन् । कांग्रेसकी जोशीले १,८१० मत ल्याएर जित्दा भण्डारीले १,६३७ मत पाएकी थिइन् । एकीकृत समाजवादीको साथ पाएर उम्मेदवार बनेका माओवादीका सुरेशबहादुर रोकायाले १,२१३ मत पाएका थिए ।
नेपाल प्रेस
प्रतिक्रिया दिनुहोस