बाजुरा : स्वामिकार्तिकखापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि भएको निर्वाचनमा ५२.३१ प्रतिशत मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदानमा कुल मतदाताको ३ हजार ९ सय ३ मत खसेको छ । जुन ७ हजार ४ सय ६० जना मतदाताको ५२.३१ प्रतिशत मत हो ।
जसमा १ मा ८ सय ९०, २ मा ७ सय २२, ३ मा १ हजार ६८, ४ मा ७ सय ७८ र ५ मा ४ सय ७० मत खसेको बताइएको छ । फोन सम्पर्क प्रभावकारी नभएकै कारण मतदान बारे थप जानकारी लिन समस्या देखिएको छ । सबै मतदान स्थलबाट मतपेटीका गणना स्थल सुईजिउला वाईमा लगिने तयारी गरिएको छ । रातीनै मतपेटीका पालिका पुर्याएर गणना सुरु गर्ने तयारी मुख्य निर्वाचन अधिकृतको कार्यालयको छ ।
पालिकाको ५ वटा वडाका ८ वटा मतदान केन्द्रमा शान्तिपूर्वक मतदान कार्य सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ । प्रत्येक नागरिकले लाइनमै लागेर आफ्नो मतको आफैले प्रयोग गर्ने वातावरणमा निर्वाचन सकिएको छ ।
पालिकामा उपाध्यक्षका लागि तीन जना बीच प्रतिस्पर्धा छ । नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, नेपाली काँग्रेसबाट पुल्तीसरा शाही र नेकपा एकीकृत समाजवादीबाट जवा शाहीको उम्मेदवारी छ । नेकपा माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारी फिर्ता लिएका थिए ।
प्रतिक्रिया दिनुहोस