बाजुरा : नेपालगञ्जमा रहेको कान्ति अरोग्य अस्पतालले बाजुराको कुण्डा क्षेत्रका विरामीलाई १० देखि ५० प्रतिशतसम्म उपचार सेवामा छुट दिने भएको छ । बुढीनन्दा नगरपालिका र अस्पताल बीच भएको सहमति अनुसार विभिन्न सेवामा छुटको समझदारी गरिएको छ ।
बुढीनन्दा नगरपालिकामा नगर प्रमुख जनक कुमार बोहराले सामाजिक सञ्जालमा सार्वजनिक गरिएको समझदारी अनुसार निशुल्क एम्बुलेन्स देखि प्रयोगशाला, एक्सरेसम्मका सेवा उल्लेख गरिएको छ । अस्पतालले नेपालगञ्ज बसपार्क र राझाँ एयरपोर्ट देखि अस्पतालसम्म एम्बुलेन्स निशुल्क गर्ने सहमति गरेको छ ।
विशेषज्ञ बहिरंग सेवामा ५० प्रतिशत, प्रयोगशाला, एक्स–रे, शैया (बेड)मा २० प्रतिशत, औसधी, अप्रेशन, इको, भिडियो एक्स–रे, एनआइसीयूमा १० प्रतिशत छुट सेवा उपलब्ध गराउने सहमति गरिएको नगर प्रमुख बोहराले जानकारी दिएका छन् ।
सहमति अस्पतालका सञ्चालक डाक्टर रोमा बोरा र नगर प्रमुख जनक कुमार बोहरा बीच गरिएको हो । यस अघि बुढीनन्दा नगरपालिकाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग पनि उपचार सेवाका लागि सम्झौता गरेको थियो ।
यसैगरी बुढीनन्दा नगरपालिका र हिमाली गाउँपालिका उत्पादन गरेको रैथाने बालीको काठमाडौंको दरबारमार्गमा हाटबजार समेत लाग्ने जानकारी सामाजिक सञ्जाल मार्फत गराएका छन् ।
प्रतिक्रिया दिनुहोस