मङ्गलबार, २५ मङि्सर २०८१

स्वामिकार्तिकमा समाजवादीले पनि घोषणा गर्यो उम्मेदवार, चार दलिय प्रतिस्पर्धा हुने

बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकामा चार दलिय प्रतिस्पर्धा हुने भएको छ । नेकपा एकीकृत समाजवादीले समेत आफ्नो उम्मेदवार सार्वजनिक गरेपछि पालिका उपाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनमा चार दलिय प्रतिस्पर्धा हुन लागेको हो ।

समाजवादीले जवा शाहीलाई आफ्नो उम्मेदवारको रुपमा अघि सारेको छ । नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमालेले सुलोचना कुमारी भण्डारी बुढा र माओवादी केन्द्रले राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ । समाजवादीले अन्तिममा आएर आफ्नै उम्मेदवारलाई चुनाव लडाउने गरि उम्मेदवार घोषणा गरेको छ । 

काँग्रेस, माओवादी र समाजवादी मिलेर नै चुनाव लड्ने योजनामा रहेको समाजवादीले काँग्रेस र माओवादीको साथ नपाएपछि आफ्नै उम्मेदवार अघि सारेको हो । माओवादीले एक्लै चुनाव लडेपछि काँग्रेससँगको एलाइन्समा समाजवादी आशावादी देखिएको थियो ।

तर नेपाली काँग्रेसले आफ्नो उम्मेदवारलाई सघाए मात्रै सहकार्य हुने जवाफ दिएसँगै एक्लै चुनाव लड्ने तयारीमा देखिएको छ । 
गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचन हुन लागेको छ । नेकपा एमालेले सर्वसम्मत सुरुमै सुलोचना कुमारी भण्डारी बुढालाई उम्मेदवार बनाएको थियो । भने माओवादीले ५ जना गाउँ कमिटीबाट सिफारिस नाम मध्येबाट राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ ।

यता नेपाली काँग्रेसले पनि नेकपा एकीकृत समाजवादीलाई मनाउन नसकेपछि अन्तिममा आएर आफ्नो उम्मेदवार पुलतीसरा शाहीलाई अघि सारेको थियो । 

चार वटै राजनीतिक दलहरु बीच प्रतिस्पर्धा हुने भएपनि उपाध्यक्ष पदका लागि नेपाली काँग्रेस र नेकपा एमालेबीच नै ठक्कर पर्ने देखिन्छ । स्थानीय तह २०७९ को निर्वाचनमा पनि काँग्रेसबाट उपाध्यक्षमा जितेकी जोशीले १ हजार ८ सय १० मत पाएर विजयी हुँदा एमालेका सुलोचना कुमारी भण्डारी बुढाले १ हजार ६ सय ३७ मत ल्याएकी थिइन् ।

त्यो चुनावमा समाजवादीले आफ्नो उम्मेदवार नै बनाएको थिएन् । माओवादी केन्द्रका उम्मेदवार सुरेश बहादुर रोकायालाई सघाएको थियो । समाजवादी र माओवादीको सयुक्त उम्मेदवार सुरेशबहादुर रोकायाले १ हजार २ सय १३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए । 

अहिले चार दल अलग अलग चुनाव लड्ने अवस्थामा पुगेपछि नेपाली काँग्रेस र एमाले बीचमै प्रतिपस्र्धा हुने देखिएको हो । ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् । 

जुकोटबाट समाजवादी र काँग्रेसले उम्मेदवार बनाएको छ । भने नेकपा एमाले र माओवादीले साप्पाटा क्षेत्रबाट उम्मेदवार बनाएको छ । यता राप्रपाले पनि उम्मेदवार बनाउने घोषणा गरेपनि अझै नाम सार्वजनिक गरेको छैन् । रास्वपाले भने आफ्नो उम्मेदवार नै पाएको छैन् । स्वामिकार्तिकमा मैनादेवी जैशीको निधन पछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो । 

673608152e9fa

प्रतिक्रिया दिनुहोस