मङ्गलबार, २५ मङि्सर २०८१

बडीमालिकाले कोदो दिवस मनाउँदै, प्रदेश मन्त्री थापाले उद्घाटन गर्ने

बाजुरा : बडीमालिकाले नगरपालिकाले मंसिर १ गतेलाई कोदो दिवस मनाउने भएको छ । यो वर्षबाट हरेक वर्षको मंसिर १ लाई कोदो दिवसको रुपमा मनाउने निर्णय सहीत आयोजना गर्न लागिएको नगरपालिकाले बताएको छ । पहिलो कोदो दिवसको पालिकाले भव्य तयारी गरेको छ । 

विहान ११ बजेबाट सुरु हुने दिवसको सम्पूर्ण तयारी पुरा भएको नगरपालिकाले बताएको छ । दिवसको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापाले गर्ने भएका छन् । थापा कार्यक्रमका लागि बाजुरा आइसकेको नगर प्रमुख अमर खड्काले जानकारी दिएका छन् । 

कोदो बालीको प्रवद्र्धन र विकास गर्न र रैथानी बाली प्रति स्थानीय किसानको आकर्षण बढाउन कोदो दिवस आयोजना गर्न लागिएको हो । यस अघि बडीमालिका नगरपालिकाले आलु महोत्सव समेत गरेको थियो । कोदो दिवसकै सन्दर्भ जुराएर बडीमालिका नगरपालिकाले निर्माण गरेको कोल्ड च्याम्बर तथा कृषि बजार गृहको उद्घाटन पनि गरिने भएको छ ।

कृषि विकास निर्देशनालय दिपायल डोटी र बडीमालिका नगरपालिकाको सयूक्त सहकार्यमा कृषि उपज संकलनका लागि कृषि च्याम्बर गृह निर्माण गरिएको हो । कृषि ज्ञान केन्द्र बाजुरासँगको सहकार्यमा बडीमालिकाले पहिलो पटक कृषि उपज बस्तुहरुको संकलन, व्यवस्थापन र भण्डारणका लागि च्याम्बर गृह निर्माण गरि सञ्चालनमा ल्याउन लागेको हो । 

कृषि बजार सञ्चालनका लागि गएको साउनमा नै आवश्यक संरचनाका भवनहरु निर्माण भइसकेका छन् । कृषि बजार गृहहरुको हस्तान्त्रण र उद्घाटन एकसाथ गरिने भएको छ । कृषि च्याम्पर भवनहरु सञ्चालनमा आए बजारमा डोको बोकेर तरकारी विक्री गर्नु पर्ने समस्या हट्ने विश्वास गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस