सन्तोषी रावल
बाजुरा : स्वामिकार्तिक खापर गाउँपालिकाका लागि तीन वटा राजनीतिक दल नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले उपाध्यक्षका उम्मेदवार टुंगो लगाएको छ । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले पुलतीसरा शाही, नेकपा एमाले सुलोचना कुमारी भण्डारी बुढा, नेकपा माओवादी केन्द्रले राजुकुमारी विकलाई उम्मेदवार बनाएको छ ।
नेकपा एमालेले सर्वसम्मत सुरुमै सुलोचना कुमारी भण्डारी बुढालाई उम्मेदवार बनाएको थियो । भने माओवादीले ५ जना गाउँ कमिटीबाट सिफारिस नाम मध्येबाट राजु कुमारी विकलाई उम्मेदवार बनाएको छ । यता नेपाली काँग्रेसले पनि नेकपा एकीकृत समाजवादीलाई मनाउन नसकेपछि अन्तिममा आएर आफ्नो उम्मेदवार पुलतीसरा शाहीलाई अघि सारेको छ ।
चुनावी तालमेल गर्ने गरि छलफलमा जुटेका काँग्रेस र समाजवादीका नेताहरुबीच सहमति हुन नसकेपछि काँग्रेसले आफ्नो उम्मेदवार घोषणा गरेको हो । समाजवादीले भने अझै उम्मेदवार घोषणा गर्न सकेको छैन् । आफ्नो उम्मेदवारलाई सघाउन र काँग्रेसलाई उम्मेदवार नबनाउने गरि संवादअघि बढाएका समाजवादीका नेताको मागलाई काँग्रेसले अस्वीकार गरिदिएको छ ।
नेपाली काँग्रेसले पनि उम्मेदवार घोषणा गरेपछि समाजवादीलाई दबाब बढेको छ । काँग्रेस र समाजवादीबाट एक जनामात्रै उम्मेदवार हुने दाबी गरेको समाजवादीले आफ्नो उम्मेदवार उठाउने वा काँग्रेसलाई नै सघाउने भन्नेमा आधिकारीक निर्णय गरेको छैन् । समाजवादीका प्रवक्ता अनिल शाहीका अनुसार कात्र्तिक ३० गते पार्टीको बैठक बसेर टुंगोमा पुग्ने बताएका छन् ।
समाजवादीलाई आफ्नो उम्मेदवार बनाउने वा काँग्रेसलाई सहयोग गर्ने बाहेक अब अर्को विकल्प नभएको अवस्था देखिन्छ । समाजवादीले उम्मेदवार उठाए चार दलिय प्रतिस्पर्धा हुनेछ । भने आफ्नो उम्मेदवार नउठाएर काँग्रेसलाई नै सघाउने संभावना पनि बलियो नैरहेको श्रोतको दाबी छ ।
यता राप्रपाले पनि उम्मेदवार १ गतेसम्म टुंगो गर्ने बताएको छ । सामाजिक सञ्जालमा जबरजस्त अराजनीतिक मावल बनाएको रास्वपाले भने आफ्नो उम्मेदवार नै पाएको छैन् । स्वामिकार्तिकमा मैनादेवी जैशीको निधन पछि मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस