मङ्गलबार, २५ मङि्सर २०८१

बाजुरामा अब ‘एक पालिका एक हुलाक’, गौमुलमा खोलियो कार्यालय

बाजुरा : सरकारको हुलाक सेवालाई पुनः संरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा लिए अनुसार नै बाजुरामा पनि कार्यान्वयन गर्न थालिएको छ । गौमुल गाउँपालिकाबाट आफ्नो कार्यालय स्थापना गरिएको हुलाक कार्यालय बाजुराले जनाएको छ ।

गौमुल गाउँपालिकाको सिमधारामा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो । सरकारले हरेक पालिकामा हुलाक कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्ने नीति बमोजिम कार्यालय सञ्चालनमा ल्याईएको जिल्ला हुलाक कार्यालयका प्रमुख बुद्ध बहादुर सोमैले बताएका छन् । 

हुलाकलाई सूचना प्रविधिसँग जोड्दै संघीय शासन प्रणाली अनुसार सेवा सुरु गरिएको बताएका छन् । कार्यालय स्थापनाले हुलाकको सेवालाई सहज बनाउन मद्दत पुग्ने र सरकारी नीति कार्यान्वयन हुने हुलाक कार्यालय गौमुलका प्रमुख नेत्रराज सन्ज्यालले बताएका छन् ।

जिल्लाका बुढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका, खप्तड छेडेदह गाउँपालिका र गौमुल गाउँपालिकामा कार्यालय स्थापना गरी सञ्चालनमा आएका छन् । त्यस्तै बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली

गाउँपालिकामा समेत मंसिर पहिलो साताभित्रमा पालिका हुलाकका कार्यालय सञ्चालनमा ल्याईने जिल्ला हुलाक कार्यालय बाजुराले जनाएको छ ।

सरकारको नीति अनुसार ईलाका हुलाक कार्यालयलाई पालिकामा रुपान्तरण गरेर बाँकी खारेज हुने भएका छन् । सरकारले गत आवदेखिनै ‘एक पालिका एक हुलाक’ को अवधारणा कार्यान्वयनमा ल्याएको थियो । 

कार्यालय स्थापना कार्यक्रममा गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंहले गाउँ गाउँ जोड्न र खबर आदान प्रदान गर्न इतिहासदेखि नै हुलाकको महिमा ठूलो रहेको बताएका छन् । कार्यालयले सिंहले नै औपचारिक उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकायाले समृद्ध गौमुलका लागि सबै क्षेत्रको सन्तुलित विकास हुन जरुरी रहेकोले हुलाकलाई समेत संगै लैजाने वचन दिएका छन् । 

जिल्ला हुलाक कार्यालयका प्रमुख बुद्ध बहादुर सोमैको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष कलक बहादुर सिंह रहेका थिए । कार्यक्रममा गौमुल गाउँपालिका–६ का वडा अध्यक्ष प्रकाश रोकाया, निमित्त प्रमुख प्रशासकीय अधिकृत राम नाथ विशिष्ट अतिथि रहेका हुन् । 

प्रतिक्रिया दिनुहोस