मङ्गलबार, २५ मङि्सर २०८१

बाजुरामा देउसी भैलो खेलेर संकलन गरिएको रकम बाल आश्रमलाई सहयोग

 बाजुरा : मार्तडीका महिलाहरुले देउसी भैलो खेलेर संकलन गरेको रकम बाल आश्रमलाई सहयोग गरेका छन् । तिहारको अवसरमा रमाइलोका लागि खेलिएको देउसीभैलो वापत संकलन भएको रकम कन्सन बाजुरा नामक बाल आश्रमलाई सहयोग गरेका हुन् । 

मार्तडीको गैरी बजार र दुनि हाटबजारका करिब ३५ बढी महिलाहरुले देउसी भैलो खेलेका थिए । देउसी भैलो खेलेर ६४ हजार रकम संकलन गरेका थिए । त्यो मध्येको १० हजार रकम बाल आश्रमलाई सहयोग गरेको मार्तडी बजार महिला समूहका कमला थापाले जानकारी दिएकी छन् । 

२० प्रतिशत रकम बाल आश्रमलाई सहयोग गरिएको र बाँकी ८० प्रतिशत रकमबाट संस्थागत विकास, साउण्ड सिस्टम खरिद गर्ने र रमाइलो वनभोज गरिएको थापाको भनाई छ । महिलाहरुले हाटबजार र गैरीबजारमा देउसी भैलो खेलेका थिए । कन्सन बाजुरामा हाल १८ जना बालबालिका छन् । 

घरपरिवारको साहरा गुमाएका, कसैको पनि संरक्षणमा नभएका बालबालिकालाई केन्द्रीत गरि बाल आश्रम सञ्चालन गरिएको छ । मार्तडी बजार महिला समूहले १० हजार रुपैया बाल आश्रमका लागि सहयोग गरेको संस्थाका संरक्षक बहादुर थापाले जानकारी दिएका छन् ।

कन्सन बाजुरा अनाथ, असाहय र विपन्न साहरा विहिन बालबालिकाको संरक्षण र सुरक्षाका लागि २०७२ सालमा स्थापना गरिएको हो । सुरुमा ८ जनाबालबालिकालाई आश्रममा राखिएको थियो । उनीहरुको उच्च शिक्षा अध्ययनका लागि समेत सहयोग गर्ने कन्सन बाजुराले लक्ष्य राखेको छ ।
 

प्रतिक्रिया दिनुहोस