मङ्गलबार, २५ मङि्सर २०८१

चुनावी तालमेल गर्न काँग्रेस, माओवादी र समाजवादीले बनायो वार्ता टोली, गठबन्धनको तयारी

उम्मेदवार विनै चुनावी प्रचारमा समाजवादीका नेता

बाजुरा : स्वामिकार्तिक  खापर गाउँपालिकामा हुने उपनिर्वाचनमा तीन दलिय गठबन्धनको तयारी थालिएको छ । नेकपा एमाले विरुद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धनको तयारी थालिएको हो । 

मंसिर १६ गते हुने उपनिर्वाचन तीन दलबीचको सहकार्यको तयारीका लागि वार्ताटोली समेत गठन गरिएको छ । तीनवटै दलका तर्फबाट चुनावी तालमेलका लागि वार्ता टोली गठन गरिएको र त्यसैको आधारमा सहमतिको प्रयास अघि बढेको नेपाली काँग्रेसका सचिव भरत रोकायाले जानकारी दिएका छन् । 

कार्तिक  २५  गतेभित्र उम्मेदवारी टुंगो लगाउने बाचा गरेका तीन दलले आ आफ्नै अडान लिएको देखिन्छ । नेकपा एमालेले यस अघि नै सुलोचना कुमारी भण्डारी बुढालाई उम्मेदवार बनाइसकेको छ । नेपाली काँग्रेसले पनि आफ्नो तर्फबाट उम्मेदवार अघि सार्नु पर्ने अवस्थामा पूलतीसरा शाही अघि बढाउने आन्तरिक तयारी गरि सकेको देखिन्छ ।

५ जनाको नाम केन्द्रमा पठाएको नेकपा माओवादी केन्द्रले पनि राजुकुमारी बिकलाई आधिकारीक उम्मेदवार बनाउने निर्णय गरेको छ । यता नेकपा एकीकृत समाजवादीले कसैको नाम सार्वजनिक गरेको छैन् । 

तीन पार्टीले आफ्नो उम्मेदवारलाई सघाउन अडान लिएका छन् । पालिका स्तरबाटै सहमतिको खाका बनाउन वार्ता टोली गठन गरिएको र एक दुई दिनमा टुंगो लाग्ने नेपाली काँग्रेसका सचिव समेत रहेका पालिका अध्यक्ष भरत बहादुर रोकायाले बताएका छन् ।

वार्ताटोलीमा नेपाली काँग्रेसबाट पालिका सभापति महेश कटेल, कमल बुढा र जनम धामी छन् । नेकपा एकीकृत समाजवादीले चिरञ्जीवी शाही, सतल विक र रत्नचन्द्र जोशी छन् । भने नेकपा माओवादी केन्द्रबाट मनलाल खत्री र रमेश विक छन् । तीनवटै पार्टी बीच चुनावी तालमेलको सहमति भएपनि पात्रको विषयमा टुंगो लाग्न बाँकी रहेको एकीकृत समाजवादीका पार्टी प्रवक्ता अनिल शाहीले बताएका छन् ।

काँग्रेस, एमाले, माओवादी जस्ले आफ्नो उम्मेदवारलाई सहयोग गर्यो, उसैलाई साथ दिने प्रष्ट अडानमा समाजवादी रहेको र कसैले सहयोग नगरेको अवस्थामा आफ्नै उम्मेदवार अघि सार्ने दाबी अनिल शाहीले गरेका छन् । तर समाजवादीका पार्टी अध्यक्ष पुरबहादुर रावतले भने काँग्रेस र समाजवादी मध्ये जुनसुकै दलको उम्मेदवारको नाममा पनि सहमति हुने र समाजवादीले काँग्रेसलाई सहयोग गर्नु परेपनि तयार हुने धारणा राखेका थिए । 

माओवादीले पनि आफ्नो दललाई सहयोग गर्न अडान राखेका छन् । समाजवादीबाट प्रदेश सभा सदस्य छँदै, नेपाली काँग्रेसबाट पालिका अध्यक्ष सहीत बहुमत वडा अध्यक्ष छँदै र अब माओवादीलाई सहयोग गर्नु पर्ने धारणा माओवादीका नेताहरुको छ । 
वार्ताटोली बनाएर चुनावी तालमेलको तयारीमा जुटेको एकीकृत समाजवादीले भने कार्यकर्ता भेटघाटलाई अघि बढाएको छ ।

समाजवादीका पोलिटव्यूरो सदस्य एवं प्रदेश सभा सदस्य नरेश शाही, पोलिटव्यूरो सदस्य हिक्मत शाही सहीतको टोलीले मतदातालाई भेटघाट गर्ने गरि चुनावी प्रचार अघि बढाएका छन् । समाजवादी उम्मेदवारको टुंगो भने लगाएको छैन् । अन्तिममा आएर काँग्रेसलाई नै साथ दिने लाइनमा समाजवादी देखिएको छ । 

प्रतिक्रिया दिनुहोस